कोप २९: वन मन्त्रालयका ‘भ्रमपूर्ण’ ८ उपलब्धि
- नेचर खबर
काठमाडौं । वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनका क्षेत्रमा हरेक वर्ष भइरहने नियमित गतिविधिहरूलाई कोप २९ को उपलब्धि भन्दै ‘भ्रमपूर्ण’ प्रचार गरेको छ ।
मन्त्रालयले बिहीबार कोप २९ समीक्षा भन्दै राजधानीको एउटा पाँचतारे होटेलमा प्रधानमन्त्री सहित आधा दर्जन भन्दा बढी मन्त्रीहरूलाई डाकेर समिक्षा बैठक गरेको थियो । त्यही बैठकमा आयोजकका तर्फबाट मन्त्रालयका सचिव डा. दीपककुमार खरालले ठोस उपलब्धि भन्दा पनि एउटा अन्तर्राष्ट्रिय मञ्चमा हुने छलफल, भेटघाट, उच्चस्तरीय भेटघाटलाई उपलब्धिका रूपमा व्याख्या गरेका थिए । उनले कतिपय यस्ता विषयवस्तु राखेका थिए जुन हरेक वर्ष नियमित रूपमा हुने गरेको छ ।
अजरबैंजानको बाकुमा कात्तिक २६ गतेदेखि मङ्सिर ७ गतेसम्म चलेको कोप २९ मा नेपालका तर्फबाट सरकारका सबै निकायको प्रतिनिधित्व गरेर गरी करिब ५० जना सहभागी भएका थिए । यीमध्ये ३१ जना वन तथा वातावरण मन्त्रालयबाट मात्र सहभागी भएका थिए । तीमध्ये पनि ७ जना सहसचिव थिए । वन मन्त्रालय टोलीको नेतृत्व वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले गरेका थिए । मन्त्रालयले सहभागीहरूको यकिन सङ्ख्या, खर्च भएको रकम र त्यसको स्रोत विवरण अहिलेसम्म पनि सार्वजनिक गरेको छैन ।
सचिव डा. खरालले बिहीबारको कार्यक्रममा कोप २९ मा ८ वटा उपलब्धि भएको दाबी गरे । तीनमा अधिकांश भइसकेका, धेरै पहिलेदेखि पहल भएका र हरेक वर्ष भइरहनेगतिविधिहरूलाईपनि समेटिएको छ । उनले कोपमा भएका छलफलहरूले नेपालको प्रतिनिधित्व गएर गएको टोलीको क्षमता अभिवृद्धि भएको दाबी गरे ।
डा. खरालले नेपाली प्रतिनिधि मण्डलले जलवायु परिवर्तनका मुद्दाबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको, पर्वतीय क्षेत्रमा देखिएका मुद्दा र समस्याबारे आवाज उठाउन महत्त्वपूर्ण भूमिका खेलेको दाबी गरे । उनले अनुकूलन कोषको बोर्ड सदस्यमा नेपाल नियमित रूपमा निर्वाचित हुँदै आएको भएता पनि नयाँ उपलब्धिका रूपमा व्याख्या गरे ।
डा. खरालले नेपालमा तीन महिना अघि नै कार्यान्वयनमा गइसकेका ग्लोबल इन्भ्यारोमेन्ट फेसिलिटीका दुई परियोजना पनि कोप २९ बाटै सुरु भएको र यो पनि महत्त्वपूर्ण उपलब्धि भएको भन्दै प्रधानमन्त्री ओलीलगायतका लागि जानकारी गरेका थिए ।
कोप २९ का उपलब्धिहरूबारे कार्यपत्र प्रस्तुत गर्दै सचिव डा. खरालले नेपाल १७ वटा दुई पक्षीय बैठकमा सहभागी भएको, ३ सय ९२ छलफलमध्ये ३ सय २४ वटामा सहभागिता जनाउन सफल भन्दै यसलाई पनि उपलब्धिका रूपमा व्याख्या गरेका थिए ।
नेपालले हिमाल र पर्वतीय मुद्दाहरू सशक्त रूपमा उठाएको उनले दाबी गरे । हरेक कोपमा नेपालले हिमाल, पर्वतीय क्षेत्रका मुद्दा उठाउँदै आएको विषयलाई पनि कार्यक्रममा उपलब्धिका रूपमा व्याख्या गरिएको थियो । यो मुद्दा उठाएर नेपालको पक्ष वा कम विकसित मुलुकको पक्षमा के के निर्णय भए भन्नेबारे भने सचिव डा. खरालले केही उल्लेख गरेनन् ।
कोप २९ पछि नेपालले बहुपक्षीय कार्बन कोषमा पहुँच बढाउनु पर्ने निष्कर्ष निकालेका सचिव डा. खरालले अहिलेसम्म यो कोषमा पहुँच बढाउन नेपाल किन असमर्थ भयो भन्नेबारे पनि केही चर्चा गरेनन् । त्यसको जवाफ प्रयास समेत गरेनन् ।
जलवायु परिवर्तनका नाममा आएको ऋण तथा अनुदान समेत खर्च गर्न नसकेर फिर्ता पठाउँदै आएको वन तथा वातावरण मन्त्रालयले अहिलेसम्म जलवायु वित्त परियोजनाको प्रभावकारी कार्यान्वयन किन गर्न सकिरहेको छैन भन्नेबारे उनले केही खुलाएनन् । तर उनले त्यस्ता परियोजना सञ्चालनका लागि कुशल र प्रभावकारी संयन्त्र आवश्यक भएको भने औँल्याए ।
कोप २९ मा नेपालले जलवायु अनुकूलन, जलवायु वित्त र न्याय, हानि नोक्साीलगाएतका मुद्दा उठाएको र अन्तर्राष्ट्रिय समुदायलाई यी मुद्दा सम्बोधन गर्न दबाब दिएको डा. खरालले बताएका थिए । त्यसो त नेपालले हरेक कोपमा गएर उठाउने मुद्दा यी नै हुन । यी मुद्दालाई अन्तर्राष्ट्रिय समुदायले कसरी सम्बोधन गर्योा र के–के निर्णय भयो भन्नेबारे भने कार्यक्रममा कुनै जानकारी दिएनन् ।
यसैगरी वन मन्त्री ऐनबहादुर शाही ठकुरीले राष्ट्रिय प्रकृति संरक्षण कोष अनुकूलन कोष कार्यान्वयन गर्ने ‘इन्टीटी’ मा सूचिकृत भएको विषयलाई ठुलो उपलब्धिका रूपमा प्रस्तुत गरेका थिए । तर कोषलाई कोष परिचालन ‘इन्टीटी’ बनाउने काम अहिले भएको होइन । यसका लागि करिब ६ वर्षदेखि पहल भइरहेको थियो ।
प्रतिक्रिया दिनुहोस