जनजातिका नाममा आएको जलवायु बजेटको ‘दुरुपयोग’
- नेचर खबर
काठमाडौं । विभिन्न दातृ निकायमार्फत जलवायु परिवर्तन र जनजातिको नाम बेचेर ल्याएको ठूलो आर्थिक सहयोगको दुरुपयोग भएको आरोप आदिवासी जनजाती समुदायले लगाएको छ ।
आदिवासी जनजाती महासंघ (नेफिन)का अध्यक्ष गेल्जे लामा सेर्पासहित आदिवासी जनजाती नेताहरूले जनजाती र अति प्रभावित समुदायको नाममा ल्याएको सहयोग अपचलन भइरहेकोले तत्काल छानवीन गरी अनुकूलनका नाममा ल्याइएको बजेट र खर्चको अवस्था सार्वजनिक गर्न माग गरेका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) र आदिवासी जनजाति महिला मञ्च (निफ)ले आयोजना गरेको छलफलमा सहभागीहरूले आदिवासी जनजातिको नाममा धेरै बजेट ल्याएर अरूले नै खर्च गरिरहेको तथ्य आफूहरूसँग भएको बताउँदै अरु नै व्यक्ति र सरकारी अधिकारीले रजगज गरिरहेको भन्दै आक्रोश पोखे ।
उनले भने, ‘आदिवासी जनजातिका नाममा विभिन्न गैरसरकारी संस्थाहरूले बजेट ल्याएर खाइरहेका छन् । तर, नेफिनलाई थाहै छैन । २/४ जना आदिवासीहरू उभ्याएको छ । बजेट जति जम्मै कता गएको छ कता ?’
विभिन्न सभा सम्मेलनहरूमा भाग लिने बारेमा समेत वन तथा वातावरण मन्त्रालय र सरोकारवाला निकायले विभेद गरिरहेको बताए । उनले भने, ‘केही गैरसरकारी संस्थाहरूले विदेशमा गएर नेपालमा आदिवासी जनजातिहरूको क्षेत्रमा काम गर्ने त हामी हो नि भनेर बजेट ल्याएर खाइरहेका छन् । तर, त्यो आदिवासी जनजातिका लागि खर्च भएको छैन । आफू नजिककालाई विदेश लैजान मन्त्रालयका अधिकारीको रुची हुन्छ ।’ सरकारले एकलौटी गर्ने गरेको र आदिवासीलाई वेवास्ता गरेर क्षमता अभिबृद्धिमा समेत सहयोग नगरेकोमा सबैको एक मत थियो ।
त्यसो त हालै सम्पन्न कोपमा सहभागी जम्बो टोलीमाथि बारम्बार प्रश्न उठिरहेको छ । भूमिकै नभएका सरकारी कर्मचारी तथा दातृ निकायलाई सिफरिस गरेर मन्त्रालयले ५० जनालाई अजरबैजानको बाकु सयर गराएको थियो ।
आदिवासीको नाममा आएको बजेटहरू सहि ठाउँमा लगानी नभएको भन्दै उनले त्यसलाई सही ठाउँमा लगानी गर्नका निम्ति काम गर्नुपर्ने समय आएको बताए । जलवायु परिवर्तनले सबैभन्दा बढी क्षती आदिवासी जनजातिलाई भएकोले उनीहरूका नाममा आएको बजेट उनीहरूकै लागि खर्च हुनुपर्ने उनको भनाई थियो ।
हरेक वर्ष जलवायु परिवर्तन अनुकूलनका निम्ति कति बजेट आउँछ र त्यो कहाँ कसरी खर्च हुन्छ ? भन्ने कुरा जलवायु परिवर्तनबाट प्रभावित आदिवासीले थाहा पाउनुपर्ने सहभागीले बताए ।
‘हिम तालहरूको संख्या वृद्धि भइरहेका छन् । जसले गर्दा हाम्रा आदिवासी वस्तीहरू जोखिममा छन्’, अध्यक्ष शेर्पाले भने, उनले भने, ‘जलवायु परिवर्तनको कारणले हाम्रा हिमाल त पग्लिएका छन् नै । सँगै हामी आदिवासीको सांस्कृतिक क्षती भएको छ । भौतिक, आर्थिक क्षती भएको छ । अहिले जलवायु परिवर्तन गराउन भूमिका खेल्ने राष्ट्रहरूले पठाउने क्षतीपुर्ती बापतको रकम हामी आदिवासी जनजातिहरूको नाममा आउँछ । तर त्यो कहाँ कसरी खर्च भएको छ ?’
कार्यक्रममा कमल साम्पाङ र टुङ्गभद्र राईले जैविक विविधता र कोप सम्बन्धी जानकारी दिएका थिए भने देवकुमार सुनुवारले युएन भोल्युन्टरी फन्डबारे चासो राख्नुपर्ने बताएका थिए ।
त्यस अवसरमा बोल्दै निफका अध्यक्ष सुनी लामाले जलवायु परिवर्तनका कारण सबैभन्दा बढी आदिवासी महिलाहरू प्रभावित हुने गरेको बताए । प्रकृति र प्राकृतिक स्रोतसँग सबैभन्दा निकट आदिवासी महिलाहरू रहने र त्यसको प्रयोग पनि आदिवासी महिलाहरूले गर्ने भएकाले जलवायु परिवर्तनको असर आदिवासी महिलाहरूले भोग्दै आएको उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै नेफिनका महासचिव दिवस राईले हिउँ पग्लिने र हिउँ नदीहरू बढ्दै गएर त्यसका वरिपरि रहेका आदिवासी वस्तीहरू बढी भन्दा बढी जोखिममा रहने अवस्था रहेको बताए ।
प्रतिक्रिया दिनुहोस