एक हप्ताभित्रै बर्दियामा २ जंगली हात्ती मृत फेला
- नेचर खबर

काठमाडौँ । बर्दियामा एक हप्ताभित्र दुई जंगली हात्ती मृत फेला परेका छन् । बुधबार ठाकुरबाबा नगरपालिका वडा नं ३ को झरसलुवा सामुदायिक वनमा करिब ५० वर्षीय भाले हात्ती मृत फेला परेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।
हात्तीको शव कुहिन लागेको अवस्थामा फेला परेको छ । एक दाह्रा काटिएको अवस्थामा एक्लै सामुदायिक वनमा हिँड्न हात्तीको मृत्यु भएको स्थानीयले बताएका छन् । सामुदायिक वनका उपभोक्ताहरूले कुहिन लागेको हात्तीको शव देखेपछि डिभिजन वन कार्यालयमा खबर गरेका थिए ।
हात्ती के कति कारणले मरेको हो भन्ने बारेमा अध्ययन भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हात्ती ५ दिन अगाडि मरेको हुनसक्ने अनुमान गरिएको छ । हात्ती बिरामी भएरै थला परेर मरेको आंकलन गरिएको छ ।
हात्तीको पोस्टमार्टम गरी सोही स्थानमा गाडिएको छ । हात्तीको के कारणले मृत्यु भएको भन्ने पोस्टमार्टमको रिपोर्टबाट थाहा हुने छ।
यसअघि फागुन ३ गते ठाकुरबाबा नगरपालिका वडा नं ४ खैलारको गहुँबारीमा जंगली भाले हात्ती मृत फेला परेको थियो । करिब ३० वर्ष उमेरको सो हात्ती बिरामी भएर मृत्यु भएको अनुमान बर्दिया राष्ट्रिय निकुञ्जले गरेको थियो ।
प्रतिक्रिया दिनुहोस