वन मन्त्रीकी श्रीमती र छोरालाई एनटीएनसीका गाडी !
- नेचर खबर

राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)का अध्यक्ष रहेका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीकी कान्छी श्रीमती र छोराले कोषका छुट्टाछुट्टै गाडी नीजि कामका लागि दुरुपयोग गरिरहेका छन् ।
मन्त्रीका छोरा राजेन्द्र शाहीले बी एबी २९२१ नम्बरको रेनल्ट डष्टर गाडी चढिरहेका छन् भने श्रीमती बसना शाहीले बी एबी २३०६ नम्बरको इको स्पोर्ट गाडी प्रयोग गरिरहेकी छन् । यी दुबै गाडी कोषका हुन् । उनका लागि दुई चालकको व्यवस्था पनि एनटीएनसीले गरिदिएको छ । चालक उत्तम मैनाली र रत्न लामाले एनटीएनसीबाटै सेवा सुविधा लिएर मन्त्रीकी श्रीमतीको सेवा गरिरहेका छन् । दुवै चालक २४ सै घण्टा तैनाथी अवस्थामा रहन्छन् । स्रोत भन्छ, 'जतिबेला जहाँ पर्छ त्यहीँ जान भन्ने आदेश चालकलाई दिइएको छ ।' छोरा राजेन्द्रले भने आफै सो गाडी चलाउने गरेका छन् ।
उनीहरुले एनटीएनसीका गाडी मात्रै होइन असिमित इन्धन पनि उपभोग गरिरहेका छन् चालकको लागि तलव भत्ता, इन्धन तथा गाडीको मर्मत सम्भारसमेत कोषले व्यहोर्दै आएको छ ।
मन्त्रीले त सरकारले उपलब्ध गराएको मन्त्रालयको गाडी प्रयोग गरेकै छन् । अतिरिक्त कोषबाट पनि थप सवारीसाधन प्रयोग गरिरहेका छन् ।
नेचर खबरले प्राप्त गरेको विवरण अनुसार, कोषका सदस्य सचिव डा. नरेश सुवेदीले यी सबै व्यवस्थापनको नेतृत्व आफै लिएका हुन् । कोषको नीति र सुशासन नीति विपरितका यी काम नगर्न कोषका कर्मचारीले आग्रह गरेपनि सुवेदीले वेवास्ता गरी कोषको सम्पती र कोष दुरुपयोग गरेको गुनासो कर्मचारीहरुले लगाएका छन् ।
यसबारे जिज्ञाशा राख्दा सुवेदीले भने ती गाडी सबै कोषको भएको पुष्टी गरेपनि मन्त्रीकी श्रीमती र छोरालाई नदिएको दावी गरे । उनले भने, 'कहिलेकाँही काम परेको बेला चढेको होला तर उहाँहरुलाई दिएको छैन । अहिले पनि ती गाडी हामीसँगै छन् ।' सुवेदीले नेचर खबरले उल्लेख गरेका चालक पनि कोषको भएको पुष्टी गरे । उनले भने, 'ती चालक अहिले पनि कोषमै छन्, कहीं कतै गएका छैनन्।' ती नम्बरका गाडी विभिन्न समयमा विभिन्न ठाउँमा प्रयोग गरिएको तथ्य पनि नेचर खबरलाई प्राप्त छन् । वन तथा वातावरण मन्त्रालयमा पनि यसबारे बेला बेला चर्चा हुने गरेको छ । यसरी कोषका अध्यक्षकी श्रीमती र छोरालाई गाडी उपलब्ध गराउने प्रचलन शाही कालिन अवस्थामा मात्रै भएको चर्चा चल्ने गरेको छ । मन्त्रालयको प्रशासन महाशाखा स्रोतका अनुसार, कोष र मन्त्रालयबाट एउटा व्यक्तिका लागि फरक फरक इन्धन कुपन माग भएको तथ्य पनि छ । स्रोत भन्छ, 'उता कोषले पनि इन्धन र तलव उपलब्ध गराइरहेको हुन्छ, यता हामीले पनि दिइरहेका हुन्छौं ।'
कोषका अध्यक्षको परिवारकै लागि छुट्टाछुट्टै सवारी सुविधा र असिमित इन्धन उपलब्ध गराउनु गैरकानुनी हो । आफै आर्थिक स्रोतको जोहो गरी संस्था सञ्चालन गर्ने कोषले मन्त्री खुसी पार्न गैरकानुनी रुपमा स्रोतको दुरुपयोग गरेको प्रति मन्त्रालयमा समेत छलफल र चर्चा हुने गरेको छ ।
यसैबीच गत साता मात्रै कोषकै कोर फण्डबाट वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, उनकी कान्छी श्रीमती र नीजि सचिवले नर्वे सयर गरेर फर्किएका छन् ।
एनटीएनसीबाट एकजना अधिकृत तथा प्रतिनिधी मात्रै गए हुने सामान्य छलफल कार्यक्रममा मन्त्री शाही ठकुरी, उनकी श्रीमती बसना शाही, नीजि सचिव भीम विष्टलाई लिएर कोषका सदस्य सचिव डा. नरेश सुवेदी नर्वे सयरमा निस्किएका हुन् । उनीहरुसँगै कोषका अधिकृत डा. मधु क्षेत्रीसमेत थिए । यो टोली अघिल्लो शुक्रबार गएर गत बिहीबार एक साता भ्रमण गरेर फर्किएको हो ।
नर्वे स्थित युनिभर्सिटी अफ इन्ल्यान्डले सहयोग गरिरहेको नोरपार्ट परियोजनाको समाप्तिपछि बाँकी रहेको रकमबाट उनीहरुको खर्च व्यवस्थापन गरिएको हो ।
विश्वविद्यालयले सहयोग गरेको नोरपार्ट परियोजनाले काठमाडौँ विश्वविद्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषसँगको सहकार्यमा नेपाली र नर्वेजियन विद्यार्थीलाई अध्ययन–अनुसन्धानमा जोड्दै आएको छ । हाल तीन जना नेपाली विद्यार्थी उक्त परियोजनाअन्तर्गत विद्यावारिधी अध्ययनरत छन् ।
कोर फण्डमा जम्मा हुने परियोजनाको बाँकी रहेको रकम दुरुपयोग गरी नर्वे भ्रमणमा निस्किएपछि आयोजकलेसमेत चासो राखेका थिए । यो परियोजना सदस्य–सचिव सुवेदीले आफैले नेतृत्व गर्दै आएका छन् । उनले नै यो सबै भ्रमणको योजना र तयारी गरेका थिए ।
नेचर खबरलाई प्राप्त विवरण अनुसार, एनटीएनसीले तोकेको भत्ता तथा अन्य सुविधामा मन्त्रीकी श्रीमती र नीजि सचिवले समेत भ्रमण गरेका हुन् । मन्त्री शाही ठकुरी कोषको अध्यक्षका हैसियतमा नर्वेको भ्रमण गरेपनि श्रीमती र नीजि सचिवको खर्चका बारेमा कोष तथा परियोजनामा सहयोग गरिरहेको विश्वविद्यालयलेसमेत चासो राखेको थियो ।
स्रोतका अनुुसार आयोजकले परियोजना समापन कार्यक्रममा एनटीएनसीका एक जना प्रतिनिधिलाई पठाएको निम्तोमा मन्त्री ठकुरी पुगेका हुन् ।
भ्रमणमा भएको हवाइ आवतजावत, होटेल, खाना तथा अतिरिक्त भत्तासहित सबै सेवा सुविधा कोषको कोर फण्डबाट गरिएको हो । स्रोतका अनुसार, होटेल, खाना, यातायात, हवाइजहाजबाहेक अतिरिक्त भत्तासमेत सबैलाई छुट्याइएको थियो ।
विश्वविद्यालयको एकेडेमिक कार्यक्रममा दम्पतीसहित मन्त्री पुगेपछि कोषभित्रै असन्तुष्टी बढेको छ । ‘यो भ्रमणलाई मन्त्री शाही र सचिव सुवेदीले नीजि र पारिवारिक भ्रमणका रुपमा दुरुपयोग गरे,’ स्रोतले भन्यो ।
एनटीएनसीका सदस्य–सचिव डा. नरेश सुवेदी भने भ्रमण फलदायी भएको बताउँछन् । उनलाई भ्रमणका बारेमा भएको खर्च र दुरुपयोगबारे प्रश्न गर्दा सबै खर्च आयोजकले र मन्त्रीकी श्रीमतीको खर्च आफैले व्यहोरेको दावी गरे ।
तर नेचर खबर स्रोतका अनुसार, डा. सुवेदीको यो दाबी झुटो हो । स्रोत भन्छ, ‘कुनै पनि रकम आयोजक वा व्यक्तिले व्यहोरेका छैनन् । सबैको खर्च एनटीएनसीबाट गरिएको छ । विश्वविद्यालयले कोषका एक जनाको खर्च मात्रै व्यहोरेको छ ।’
विश्वविद्यालयले कार्यक्रम पनि एक दिनको लागि मात्रै तय गरेको थियो । नर्वेका वातावरण मन्त्रीसँग भेट्ने कार्यक्रम तय गरिएको बताइएपनि नेर्वेका वातावरण मन्त्री भने कार्यक्रममै आएनन् । त्यसैले केही घण्टामात्र छलफल गरी सो बैठक सकिएको थियो ।
युनिभर्सिटी अफ इन्ल्यान्ड नर्वेका प्राध्यापक मोर्टेन ओडेनले एनटीएनसीका प्रतिनिधिलाई ओप्पडालस्थित वाइल्ड रेनडियर सेन्टर र आर्कटिक फक्स प्रजनन केन्द्रको अवलोकनसहितका लागि छलफलमा निम्ता गरेका थिए ।
प्रतिक्रिया दिनुहोस