मन्त्रीकी श्रीमतीले पनि फिर्ता गरिन् गाडी

काठमाडौं : राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)का अध्यक्ष रहेका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीकी श्रीमतीका लागि उपलब्ध गराइएको गाडी फिर्ता गरिएको छ । समाचार प्रकाशित भएपछि श्रीमती शाहीले प्रयोग गरिरहेको बी एबी २३०६ नम्बरको इको स्पोर्ट गाडी बिहीबार फिर्ता भएको थियो ।

मन्त्रीका छोरा राजेन्द्र शाहीले चलाएको बा ए एबी २९२१ नम्बरको रेनल्ट डष्टर गाडी पनि दुई दिन अघि फिर्ता गरी कोष परिषदमा राखिएको छ ।
दुबै गाडी कोषका हुन् । उनका लागि दुई चालकको व्यवस्था पनि एनटीएनसीले गरिदिएको छ । चालक उत्तम मैनाली र रत्न लामाले एनटीएनसीबाटै सेवा सुविधा लिएर मन्त्रीकी श्रीमतीको सेवा गरिरहेका छन् । दुवै चालक २४ सै घण्टा तैनाथी अवस्थामा रहन्छन् । स्रोत भन्छ, जतिबेला जहाँ पर्छ त्यहीँ जान भन्ने आदेश चालकलाई दिइएको छ । छोरा राजेन्द्रले भने आफै सो गाडी चलाउने गरेका थिए ।

उनीहरुले एनटीएनसीका गाडी मात्रै होइन असिमित इन्धन पनि उपभोग गरिरहेका छन् चालकको लागि तलव भत्ता, इन्धन तथा गाडीको मर्मत सम्भारसमेत कोषले व्यहोर्दै आएको छ ।
मन्त्रीले त सरकारले उपलब्ध गराएको मन्त्रालयको गाडी प्रयोग गरेकै छन् । अतिरिक्त कोषबाट पनि थप सवारीसाधन प्रयोग गरिरहेका छन् ।
कोषको नीति र सुशासन नीति विपरितका यी काम नगर्न कोषका कर्मचारीले आग्रह गरेपनि सदस्य सचिव डा. नरेश सुवेदीले वेवास्ता गरी कोषको सम्पती र कोष दुरुपयोग गरेको गुनासो कर्मचारीहरुले लगाएका छन् ।

यसबारे जिज्ञाशा राख्दा सुवेदीले भने ती गाडी सबै कोषको भएको पुष्टी गरेपनि मन्त्रीकी श्रीमती र छोरालाई नदिएको दावी गरे । उनले भने, 'कहिलेकाँही काम परेको बेला चढेको होला तर उहाँहरुलाई दिएको छैन । अहिले पनि ती गाडी हामीसँगै छन् । सुवेदीले नेचर खबरले उल्लेख गरेका चालक पनि कोषको भएको पुष्टी गरे । उनले भने, 'ती चालक अहिले पनि कोषमै छन्, कहीं कतै गएका छैनन् ।'

वन तथा वातावरण मन्त्रालयमा पनि यसबारे बेला बेला चर्चा हुने गरेको छ । यसरी कोषका अध्यक्षकी श्रीमती र छोरालाई गाडी उपलब्ध गराउने प्रचलन शाही कालिन अवस्थामा मात्रै भएको चर्चा चल्ने गरेको छ । मन्त्रालयको प्रशासन महाशाखा स्रोतका अनुसार, कोष र मन्त्रालयबाट एउटा व्यक्तिका लागि फरक फरक इन्धन कुपन माग भएको तथ्य पनि छ । स्रोत भन्छ, 'उता कोषले पनि इन्धन र तलव उपलब्ध गराइरहेको हुन्छ, यता हामीले पनि दिइरहेका हुन्छौं ।'
कोषका अध्यक्षको परिवारकै लागि छुट्टाछुट्टै सवारी सुविधा र असिमित इन्धन उपलब्ध गराउनु गैरकानुनी हो । आफै आर्थिक स्रोतको जोहो गरी संस्था सञ्चालन गर्ने कोषले मन्त्री खुसी पार्न गैरकानुनी रुपमा स्रोतको दुरुपयोग गरेको प्रति मन्त्रालयमा समेत छलफल र चर्चा हुने गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics