आज बडादसैँ : टीका–जमरा ग्रहण गरी मनाइँदै

काठमाडाैं । नेपालीहरुको महान् चाड बडादसैँ आज देशभर टीका–जमरा ग्रहण गरी श्रद्धा र उत्साहका साथ मनाइँदैछ। दसैँघर वा पूजाकोठामा घटस्थापनाका दिन राखिएको कलश तथा जमराबाट देवी दुर्गाको प्रसादका रूपमा मान्यजनका हातबाट टीका–जमरा थाप्ने परम्परा वैदिक विधिअनुसार निरन्तर रहँदै आएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार दसैँ आफैंमा शुभ दिन भएकाले टीका थाप्न साइत कुरी राख्नु पर्दैन तर राज्य सञ्चालनसँग सम्बन्धित व्यक्तिहरूका लागि भने बिहान ११ बजेर ५३ मिनेटमा उत्तम साइत तोकिएको छ ।

समितिका सदस्य प्रा.डा. देवमणी भट्टराईका अनुसार “सर्वसाधारणले बिहानदेखि अपराह्नसम्म कुनै पनि समयमा टीका थाप्न सक्ने धार्मिक परम्परा छ, तर राजकाज चलाउनेहरूले भने शास्त्रीय मान्यताअनुसार उत्तम साइतमा ग्रहण गर्न उपयुक्त हुन्छ।”

दशैंको दिन बिहान घामको पहिलो झुल्कोसँगै दुर्गा विसर्जन गरी कलशको जलले अभिषेक गरेर टीका लगाउने प्रचलन छ। यसवर्ष विसर्जनको उत्तम समय बिहान ९ बजेर २३ मिनेट तोकिएको भए पनि विशेष कारणले घर छाड्नुपर्ने भए झुल्के घाममै दुर्गा विसर्जन गरेर पनि टीका लगाउन सकिने व्यवस्था छ।

धार्मिक मान्यताअनुसार दुर्गा विसर्जनपश्चात् कलशको जललाई पवित्र मानिन्छ। सो जल घरका विभिन्न कुनामा छर्दै शान्ति, प्रगति र उन्नतिको कामना गर्ने परम्परा रहेको छ। त्यसपछि इष्टदेवता, कुलदेवता र पितृलाई टीका–जमरा चढाएर मात्र परिवारका मान्यजनबाट टीका थाप्ने गरिन्छ।

परम्पराअनुसार घरमा गुरुपुरोहित भए उनीबाट, नभए घरका ज्येष्ठ मान्यजनबाट टीका–जमरा थाप्ने प्रचलन छ। त्यसपछि मात्र अन्य आफन्तकहाँ गई टीका ग्रहण गर्ने गरिन्छ।

पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउँदा विशेष दिशाको व्यवस्था समेत तोकेको छ। समितिका अनुसार टीका लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने र ग्रहण गर्ने व्यक्ति पूर्व फर्किनुपर्ने धार्मिक मान्यता छ।

यसरी धार्मिक विधि, आस्था र पारिवारिक आत्मीयतासहित आज देशभरका नेपालीहरूले बडादशैंको टीका–जमरा ग्रहण गर्दै महान् चाडलाई उल्लासमय रूपमा मनाइरहेका छन्।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics