‘बाढी-पहिरोको जोखिम छ, उच्च सतर्कता अपनाउनू’
- नेचर खबर

काठमाडौं । असोज २० गतेसम्म देशका विभिन्न भागमा भारी वर्षा भई बाढी–पहिरोको जोखिम बढ्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई आधार मानी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुन सक्रिय हुने भएकाले कतिपय स्थानमा भारीदेखि अति भारी वर्षा हुने अनुमान गरिएको उल्लेख छ । यसले गर्दा नदीनाला र खोलानालाको सतह आकस्मिक रूपमा बढ्ने र बाढी–पहिरो, डुबान, कटान तथा भूक्षयको सम्भावना रहेको चेतावनी दिइएको छ ।
विशेषगरी मधेश प्रदेशको तराई, नारायणी, बागमती, कोशी र कर्णाली नदी क्षेत्र, साथै काठमाडौं उपत्यका र पूर्वी तराईका जिल्लामा उच्च जोखिम रहेको उल्लेख छ। बागमती प्रदेशका काठमाडौं उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, रसुवा, चितवन तथा कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा र मोरङमा जोखिम रहेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी मधेश प्रदेशका बारा, पर्सा, रौतहट, सर्लाही र आसपासका जिल्लामा जोखिम रहेको पनि उल्लेख छ ।
कार्यालयले गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा, अपांगता भएका व्यक्तिलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरेको छ । साथै, स्थानीय तह, विपद् व्यवस्थापन समिति, सुरक्षाकर्मी, स्वयंसेवक तथा सरोकारवाला निकायलाई पूर्वतयारी र राहत–उद्धारका लागि तयार रहन निर्देशन दिइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘वर्षा र बाढी–पहिरोका घटनाबाट जनधनको क्षति न्यूनीकरण गर्न सकिने गरी सचेतना र तयारीलाई उच्चतम तहमा पुर्याउन सबैले भूमिका निर्वाह गर्न आवश्यक छ ।’
प्रतिक्रिया दिनुहोस