वन्यजन्तुले ज्यान लिएकालाई १० लाख



सरकारले वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउने व्यक्तिको परिवारलाई क्षतिपूर्तिबापत १० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
वन्यजन्तुबाट हुने क्षतिको रकम दोब्बर गर्न वन मन्त्रालयले जेठ १४ पेस गरेका थियो ।क्षतिको राहत सहयोग निर्दे्शिकाको दोस्रो संशोधन २०७४ लाइ मन्त्रिपरिषद्ले शुक्रवार निर्णय गरेको हो ।

पछिल्ला वर्षमा एकसिंगे गैंडा, बाघ, हात्ती, चितुवालगायतका वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनेका संख्या बढदो छ । चितवन र बर्दिया निकुञ्ज क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट सबैभन्दा बढी सर्वसाधारणले ज्यान गुमाएका छन् । यसअघि वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउने व्यक्तिलाई पाँच लाख रुपैयाँ राहत दिइन्थ्यो ।

निर्दे्शिकाको दोस्रो संशोधन पास भएपछि सख्त घाइते हुने व्यक्तिले पनि दुई लाख रुपैयाँ पाउनेछन् । सामान्य घाइते हुनेले २० हजार रुपैयाँ राहत पाउनेछन् । वन मन्त्रालयले क्षेत्रीय निर्देशनालयमार्फत क्षतिपूर्ति रकम उपलब्ध गराउनेछ । तराई, मध्य पहाड र केही हिमाली निकुञ्ज र आरक्ष क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट सर्वसाधारणको ज्यान जाने क्रम बढ्न थालेपछि वन मन्त्रालयले २०६७ देखि राहतको व्यवस्था गर्न थालेको हो ।

ज्यान गुमाउने व्यक्तिको परिवारलाई दिइने राहत रकम सुरुमा डेढ लाख मात्र थियो भने दोस्रो पटक बढाएर तीन र तेस्रो पटक पाँच लाख पुर्याइएको थियो । वन्यजन्तुले घर, गोठ भत्काए पनि राहत रकम उपलब्ध गराइने निर्दे्शिकामा उल्लेख छ । बाली नष्ट गरेको अवस्थामा पनि राहत उपलब्ध गराइनेछ ।

पछिल्ला वर्षहरुमा चितवनमा एकसिंगे गैंडा, बाघ, बर्दिया निकुञ्जमा हात्ती र बाघ, शुक्लाफाटा निकुञ्जमा हात्ती र कोशीटप्पु वन्यजन्तु आरक्षक्षेत्रमा हात्तीको आक्रमणबाट धेरै सर्वसाधारणको ज्यान गएको छ । मध्य पहाडी क्षेत्रमा चितुवाको आक्रमणबाट धेरै सर्वसाधारणले ज्यान गुमाएको विभागको तथ्यांकले देखाउछ । हिमाली क्षेत्रमा हिउ चितुवाबाट किसानको पशुको क्षती हुने गरेको छ ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics