देखिन थाले डल्फिन
- धिरेन्द्र बहादुर चन्द
 
                                                        
विश्वमै दुर्लभ मानिने डल्फिन बर्षायाम सुरु भएलगत्तै कैलालीको पूर्वी क्षेत्रमा देखिन थालेका छन् । कैलालीका भजनी, टिकापुर नगरपालिका छेउ भएर बग्ने स्थानिय मोहना, कान्द्रा, काँडा, पत्थरीया नदीहरूमा उल्लेखित संख्यामा डल्फिन देखिएका छन् । असोजको पहिलो साता तिर पानीको स्तर घटेपछि साना शिशु डल्फिन ठूला भएर फर्किने गर्ने गरेको स्थानिय बासिन्दाको अनुभव छ ।
यो क्षेत्रमा भएका डल्फिन संरक्षणका लागि गत वर्ष डा. मुकेशकुमार चालिसे, सुनिल खतिवडा, अनुप घिमिरेलगायतले एक सातासम्म सो क्षेत्रको स्थलगत अवलोकन गरेका थिए । यो क्षेत्रमा पहिलोपटक डल्फिनको खोजी गर्न स्थानिय जेष्ठ नागरिक भोजराज श्रेष्ठले गरेका थिए । श्रेष्ठको प्रयासलाई विभिन्न संघ संस्थाले सहयोगसमेत गर्न थालेका छन् ।
तस्वीरहरु - पदम विष्ट
२०५८ सालमा संस्थागत रूपमा डल्फिन संरक्षण केन्द्र दर्ता गरी हाल संस्थाको अध्यक्षको रूपमा श्रेष्ठ कार्यरत छन् । डल्फिनको अध्ययन अनुसन्धानमा विभिन्न बाह्य र आन्तरिक पर्यटकहरू आए पनि पहिलो पटक बैज्ञानिक ढङ्गबाट २०७३ सालमा नेपाल जैविक विविधता अनुसन्धान समाजका अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. मुकेश कुमार चालिसेको समूहले यसको अध्ययन थालेका थियो ।
डल्फिन संरक्षण केन्द्र कैलाली र स्थानियको सहयोगमा १५ ओटा विभिन्न ठाउँमा एकै पटक अध्ययन गरी ६२ ओटा गणना गरिएका छन् । विश्वमै दुर्लभ जल प्राणी डल्फिन कैलाली स्थानिय मोहना, पथरिया, कान्द्रा र राप्ती नदीहरूमा सजिलै नजिकैबाट देख्न सकिन्छ ।

मनसुनको सुरूवात हुँदा यी नदीहरूमा पानीमा स्तर बढ्ने भएकाले असारदेखि असोज पहिलो सातासम्म यी नदीहरूमा देख्न सकिन्छ ।
यो क्षेत्रमा हालसम्म विभिन्न ४० ओटा मुलुकका झण्डै एक सयभन्दा बढी पर्यटकहरूले स्थलगत भ्रमण गरी सकेका छन् ।
विश्व वन्यजन्तु कोष, आइयुसिएन, त्रिभुवन विश्वविद्यालय, उद्योग वाणिज्य संघ, वन मनत्रालय, वन्यजन्तु विभाग तथा काठमाडौं विश्व विद्यालयलगायले डल्फिन संरक्षणका लागि योगदान गर्दै आएका छन् ।
डल्फिनलाई नेपालीमा सोस भनिन्छ । राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण नियमावली २०२९ अनुसार नेपालका २७ ओटा स्तनधारी जनावरहरूमध्ये एकमात्र स्वस्थ र स्वच्छ पानीमा पाइने स्तनधारी जनावर डल्फिन हो ।
आईयुसिएनको रातो किताव र साइटिस महासन्धीको अनुसूची १ मा राखिएको यो जनावर संरक्षणका लागि उच्च प्राथमिकतामा राखिएको प्राणी हो ।
यसले आहाराको रूपमा विभिन्न प्रजातीका माछाहरू जस्तै सेर, महासेर प्रयोग गर्दछ । आठ देखि दश बर्षको उमेरमा गर्भधारण गरी बच्चा जन्माउने गर्दछ । कैलालीको यी स्थानिय नदीहरूमा डल्फिनको लागि राम्रो प्राकृतिक वातावरण भएकोले मनसुन सुरूवात संगै आफुना शिशु डल्फिन लिएर आउने गरेको डल्फिन संरक्षण केन्द्रका सचिव विजयराज श्रेष्ठले बताए ।

विश्वका पाँच ओटा देशहरूमा मात्र डल्फिन पाइन्छ । यो आफैमा महत्वपूर्ण जैविक विविधता भएको स्थानीय बासिन्दाको बुझाइ छ ।
तर अध्ययन अनुसन्धानको कमीले जलप्राणी डल्फिन संकटमा पर्दै गईरहेको छ । संरक्षणका लागि सरकारीस्तरको चासो भने पर्याप्त देखिदैन ।
अनुसन्धान नभएर लोप हुँदै गरेका धेरै प्राणी यी क्षेत्रमा पाइन्छन् । त्यसैले यस्ता पर्यटकीय क्षेत्रको प्रचार–प्रसार सम्बन्धित निकायको चासो र स्थानिय स्तरबाट संरक्षण सम्बन्धित कार्यक्रम गर्न सके यस्ता दुर्लभ वन्यजन्तुको संरक्षण र प्रशस्त मात्रामा भित्राउन सकिने देखिन्छ ।
कैलाली जिल्ला आफैमा पर्यटकीय क्षेत्रको हिसावले धनी छ । घोडाघोडी ताल, टिकापुर पार्क, जोक्कर ताल र बर्षा याममा डल्फिन क्षेत्र पर्यटकलाई भित्राउने मुख्य आधार हुन् ।
२०७३ सालको डल्फिन गणनामा सहभागी लेखक चन्द जनज्योती टेक्निकल कलेज बड्डीचौर सुर्खेतमा बायोलोजी प्राध्यापकको रूपमासमेत कार्यरत छन्)

                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                    
प्रतिक्रिया दिनुहोस