वर्षाले चुनाव प्रभावित नहुने व्यवस्था मिलाउन निर्देशन



स्थानीय तह निर्वाचनको दोस्रो चरणको बुधबार हुने मतदानमा वर्षाका कारण प्रभावित नहुने गरी ‘स्थानीय स्तरमै आवश्यक व्यवस्थापन मिलाउन’ निर्वाचन आयोगले मातहतलाई निर्देशन दिएको छ । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौँ । मंगलबारको कान्तिपुरमा राजेश मिश्र लेख्छन्, आयोगले मतपत्र र मतपेटिका छोप्न प्रत्येक मतदान केन्द्रमा प्लास्टिक समेत पठाएको छ ।

खुला स्थानमा मतदान केन्द्र रहेको स्थानमा स्थानीयस्तरमै भाडामा लिएर वा किनेर त्रिपालको व्यवस्था गर्न निर्देशन दिइएको आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले शर्माले बताए । ‘मौसममा फेरबदल भनेर आउने होइन, कुनै पनि बेला आउन सक्छ,’ उनले भने, ‘त्यसअनुसारको व्यवस्थापन मिलाउन स्थानीय स्तरमा निर्देशन दिइएको छ ।’

प्रवक्ता शर्माले मौसमलाई लिएर सबै कुरा केन्द्रबाट कुनै निर्णय वा निर्देशन दिएर मात्र सम्भव नहुने बताए । ‘सर्वदलीय बैठक बसेर तत्काल आइपर्ने मौसमको चुनौती सामना गर्न विभिन्न विकल्पमध्ये राम्रो उपाय निकाली चुनाव सम्पन्न गराउने अधिकार मतदान अधिकृतलाई तोकिएको छ,’ उनले भने, ‘आवश्यकता अनुसारको व्यवस्थापन उहाँहरूले स्थानीयस्तरमै गर्नुहुनेछ । खर्चको भर्पाई आयोगबाट हुनेछ ।’ आयोग, सुरक्षा निकाय, निर्वाचनमा खटिएका कर्मचारी, उम्मेदवार, कार्यकर्ता र मतदाता सबै बर्षा हुनसक्नेप्रति संवेदनशील देखिएका छन् ।

मौसम पूर्वानुमान महाशाखाले मनसुन भित्रिसकेकाले चुनावको दिन पानी पर्न सक्ने अनुमान गरेको छ । आयोगलाई पनि त्यसैअनुसारको जानकारी गराइसकेको छ । ‘मनसुनको पिरियड हो, पानी पर्दैन भन्न सकिन्नँ,’ महाशाखाका मौसमविद् वरुण पौडेलले भने, ‘पानी पर्छ भन्ने हिसाबले नै निर्वाचनको व्यवस्थापन गरिनु उपयुक्त हुन्छ ।’

मतदानका दिन वर्षा भयो भने पहिलो चुनौती मतदाताको सहभागिता र मतदान केन्द्रको व्यवस्थापनमाथि पर्ने भएकाले आयोगले आवश्यक तयारी र व्यवस्थापन मिलाउन मातहतलाई निर्देशन दिएको हो । मतदान केन्द्रहरू प्राय सामुदायिक विद्यालय, सरकारी भवन वा सार्वजनिक चौरमा छन् । कतिपय स्थानमा खुला ठाउँमै छन् । वर्षाले मतदातालाई आवतजावतदेखि लामबद्ध हुनसमेत समस्या हुन सक्छ । पानी परिराख्दा मतदानकै दिन मतपेटिका, मतपत्रको सुरक्षा र मतदानपछि मतपेटिकाको ढुवानीमा पनि चुनौती देखिनेछ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics