सगरमाथा आधारशिविर र अन्नपूर्ण पदमार्गमा फ्रि वाइफाई



सरकारले पदयात्रामा जाने पर्यटकलाई सुविधा पुग्ने गरि लुक्लादेखि सगरमाथा आधार शिविर र अन्नपूर्ण पदयात्रा क्षेत्रमा ‘फ्रि वाइफाई जोन’को योजना अघि बढाउने भएको छ ।

पर्यटन प्रवर्द्धनका साथै आपतकालीन अवस्थाको सूचना सम्प्रेषणलाई सजिलो बनाउन यस्तो तयारी थालिएको सरकारी अधिकारीले जानकारी दिएका छन् । राजधानीमा बुधबार भएको ‘नेपाल ब्रोडब्यान्ड फोरम–२०१७’ को उद्घाटनपछि आयोजित पत्रकार सम्मेलनमा दूरसञ्चार प्राधिकरणका अध्यक्ष दीगम्बर झाले यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार ‘ओकुमुरा मोडल’मा यी क्षेत्रमा इन्टरनेट सेवा विस्तार गरिनेछ । सस्तो अप्टिकल केबलमार्फत उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्न सकिने गरि अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियू) अप्टिकल ट्रान्सपोर्ट तर्फका पूर्व उपाध्यक्ष हारुको ओकामुराले विकास गरेको प्रणालीलाई ‘ओकुमुरा मोडल’ भनिन्छ ।

ओकुमुराले विकास गरेको प्रविधिमा आधारित चिसो एवं हिउ पर्ने स्थानमा समेत नबिग्रने अप्टिकल फाइबर सञ्जाल बनाई यी क्षेत्रमा वाईफाई सेवा विस्तार गरिने झाले जानकारी दिए ।

पदयात्रा हुने पर्यटकीय क्षेत्रमा कुनै आपतकालिन स्थिती आए सहजरुपमा सूचना आदानप्रदान गर्न यसले सहयोग गर्नेछ । यसैगरी पदयात्रा गर्दै पर्यटकहरुले तस्बिर, भिडियो, सूचना, सन्देश सम्प्रेषण गर्दा नेपालकै पर्यटन प्रवर्द्धन हुने झाले बताए ।

ओकुमुराले विकास गरेको अप्टिकल फाइबरलाई बिछ्याई रहनु नपर्ने भएकाले सजिलो हुन्छ।

‘नेपाल ब्रोडब्यान्ड फोरम–२०१७’को उद्घाटन गर्दै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले नेपालको विकास प्रक्रियालाई सूचना प्रविधि आइटी सँग जोड्नुपर्ने बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics