चुरेका नदीले बाढी समस्या निम्त्याउँदै

सिरहा जिल्लाको तरेगनास्थित बलान खोला। तस्वीर : नागेन्द्रप्रसाद यादव


सरकारले चुरेबाट निस्किएका ससाना नदीको बहाव नाप्ने र त्यसको सूचना सम्प्रेषण गर्ने प्रणाली अहिलेसम्म जडान गरेको छैन । वर्षायाममा यिनै नदीले २ नम्बर प्रदेशका जिल्लामा दुःख दिने गरेका छन्। यिनले मौसम तथा बाढी पूर्वानुमान विज्ञलाई पनि झुक्याइरहेका छन्। नागरिक दैनिकमा सुबोध गौतम लेख्छन्, चुरेबाट निस्किएर सप्तरी हुदै बग्ने खाँडो नदीमा आएको बाढीले शनिबार सप्तरीका पन्ध्र सय घर डुबानमा परे, सयौं सर्वसाधारणको बिचल्ली भयो। यस्तो घटना हरेक वर्षायाममा दोहोरिने गरेको छ।

सरकारले चुरे मुहान भएका झन्डै आधा दर्जन नदीमा बहाव नाप्ने र सूचना दिने प्रणाली जडान गरेको छैन।ती ससाना नदी हुन् र पानीको मात्रा स्थिर हुँदैन। त्यसैले हामीले तिनमा कुनै पनि प्रणाली जडान गरेका छैनौ, बाढी पूर्वानुमान शाखाका जलविद् विनोद पराजुलीले भने।

उनका अनुसार चुरे हुँदै दक्षिणतर्फ बग्ने सप्तरीको खाँडो, सिराहा–धनुषाको सीमामा पर्ने रातु, उदयपुरको त्रियुगा, झापाको कमला, महोत्तरीको गागन खोलामा बहाव अवस्था र पूर्व चेतावनी सूचना सम्प्रेषण गर्ने प्रणाली जडान छैन। यी नदी कम प्राथमिकतामा परेका हुन्, पराजुलीले भने। त्यसो त जल तथा मौसम विज्ञान विभागले आगामी १० दिनभित्र माथि उल्लेख गरिएका नदीमध्ये कमलामा यो प्रणाली जडान गर्ने तयारी गरेको छ। देशका ठूला सबै नदीमा यो प्रणाली जडान भइसकेको छ तर चुरेबाट निस्किने केही नदीमा छैन। अब तिनमा समेत जडान गर्नुपर्ने भएको छ, पराजुलीले भने।

पराजुलीका अनुसार यी नदीले बढीमा सय वर्गकिलोमिटरभन्दा बढी क्षेत्रफल ओगट्दैनन्। त्यसैले पनि प्राथमिकतामा परेका छैनन्। तर यही क्षेत्रमा धेरै वर्षा भइरहेको छ। यस्तो वर्षाको अनुमान गर्न पनि कठिन भइरहेको छ, उनले भने।

बाढी पूर्वानुमान शाखाले मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान हेरेर नदी र त्यसको बहावको अवस्थाकाे जानकारी दिन्छ। यस शाखाअन्तर्गत देशका ठूला नदी मेची, कोसी, सप्तगण्डकीका सबै शाखा, पश्चिम राप्ती, नारायणी, बबई, कर्णाली, भेरी, सेती, महाकालीलगायतका नदीमा बाढीको पूर्वानुमान गर्दै आएको छ। बाढी आउनु आधा घन्टा अगाडि त्यसकाे जानकारी दिएर हामीले धेरै सर्वसाधारणलाई जोगाएका छौं, पराजुलीले भने, यो प्रणाली ससाना नदीमा पनि जडान गरियो भने सूचना सम्प्रेषण गर्न सकिन्छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले सानो क्षेत्रफलमा हुने अतिवृष्टिको पूर्वानुमान ट्र्याकु गर्न गाह्रो भइरहेको बताए। हामी प्राविधिक रुपमा अझै पूर्ण भइसकेका छैनौं। सायद एक डेढ वर्षभित्रमा हामी यस्ता वर्षाको पनि अनुमान गर्न सक्छौं उनले भने। शाखाले अहिले भूउपग्रहबाट प्राप्त तस्बिर र विभिन्न मोडेल प्रयोग गरेर मौसमको पूर्वानुमान गर्दै आएको छ।

अर्यालका अनुसार अहिलेको मौसम पूर्वानुमानलाई प्रभावकारी बनाउन मौसम राडार स्थापना गर्नुपर्छ। चट्याङको अवस्था हेर्ने प्रविधि जडान गर्नुपर्छ। पछिल्ला दिनमा विभागले नौ स्थानमा यो प्रविधि जडान गरिसकेको छ र यसको परीक्षण गरिरहेको छ। मध्यपश्चिमको सुर्खेतमा मौसम राडार केन्द्र स्थापना गर्ने तयारी पनि भइरहेको छ।

त्यसैले अबको डेढदुई वर्षमा हामी जस्तोसुकै वर्षाको पूर्वानुमान गर्नसक्ने अवस्थामा पुग्छौं अर्यालले भने। मौसम पूर्वानुमान महाशाखाले आफ्नो शनिबारको दैनिक बुलेटिनमा मध्य क्षेत्रका एकदुई स्थानमा भारी वर्षा हुने अनुमान गरेको थियो। महाशाखाका अधिकांश पूर्वानुमानमा एकदुई स्थान भनिए पनि ती कुन क्षेत्र हुन् भन्ने स्पष्ट पारिएको हुँदैन।

जलविज्ञ पराजुलीको बुझाइमा शनिबार सप्तरीमा पन्ध्र सय घर डुबानमा पर्नुमा खाँडो नदी किनारमा लगाइएको तटबन्ध पनि कारण हो। कतिपय स्थानमा तटबन्ध फुटेर पानी बस्तीमा पसेको भन्ने जानकारी आएको छ। त्यसैले यस्ता नदीको तटबन्ध निर्माण गर्दा दिगोपनमा समेत ध्यान दिनुपर्ने भएको छ, पराजुलीले भने।

शाखाअन्तर्गत ठूला नदी प्रणालीमा वर्षा र बहाव नाप्नेगरी करिब २ सय केन्द्र स्थापना गरिएका छन्। अधिकांश नदीमा दुईदेखि ६ स्थानमा प्रणाली जडान छन्। कर्णाली, पश्चिम राप्ती र नारायणीबाट सुरु भएको प्रणाली जडान कार्यक्रमले सन् २०१४ पछि व्यापकता पाएको हो।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics