पहिराे हटाउन नारायणगढ–मुग्लिन सडक १० घण्टा बन्द



पहिरोले असुरक्षित भएपछि नारायणगढ–मुग्लिन सडकखण्ड यही असार २५ गतेदेखि राति १० घण्टा बन्द गरिने भएको छ । पहिरोले बाटोको जोखिम बढ्दै गएपछि बाटो निर्माण गर्नका लागि रातिको समयमा बन्द गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालयको बैठकले यातायात सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। निर्णय अनुसार मुग्लिनतर्फबाट साँझ ७ बजे र नारायणगढतर्फबाट ६ बजेदेखि यातायात रोकीने भएको छ । यसैगरी, बिहान मुग्लिनबाट ५ बजे र नारायणगढतर्फबाट ४ बजे यातायात खुला गरिनेछ ।

यसअघि व्यवस्थापिका–संसद्, विकास समितिले यही असार ११ गते उक्त सडक खण्डको अनुगमन गरेको थियो । समितिले गृह, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलगायत सरोकार भएका मन्त्रालयलाई उक्त सडकखण्डका बारेमा एघार बुँदे विशेष ध्यानाकर्षण र निर्देशन गरेको थियो । उक्त निर्देशनपछि गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालयले उक्त निर्णय कार्यान्वयन गराउन शुरु गरेको हो ।

विस्तार भइरहेको उक्त सडकखण्डमा राति सम्भव भएका निर्माणका कार्य गर्ने बैठकले निर्णय गरेको छ । त्यसैगरी, सडक विस्तारका क्रममा परेका बिजुलीका खम्बा र खानेपानीको पाइप सार्ने र रुख काट्ने कामलाई यथाशक्य छिटो सम्पन्न गरी कामलाई सहजीकरण गरिने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जानकारी दिएका छन् ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics