नाइजेरिया र ट्रान्जिट मुलुकसँग सोधिने

वन मन्त्रालयले चिम्पान्जी र बाँदरसहित चरा तस्करीबारे नाइजेरिया र हवाईजहाज ट्रान्जिट भएका मुलुकसँग परराष्ट्र मन्त्रालयमार्फत प्रश्न सोध्ने भएको छ । निकुञ्ज विभागका महानिर्देशक संयोजक रहने ‘राष्ट्रिय वन्यजन्तु अपराध समन्वय समिति’ को हालै सम्पन्न बैठकले अफ्रिकी मुलुक नाइजेरिया र हवाईजहाज ट्रान्जिट भएका मुलुकलाई ‘जिउँदै वन्यजन्तु तस्करी हुँदा पनि नियन्त्रण नगरेको’ भन्दै कूटनीतिक प्रश्न गर्ने निष्कर्ष निकालेको हो । चिम्पान्जी, बाँदर र चरा नाइजेरियाबाट तस्करी भएर नेपाल आइपुगेका हुन् ।

‘वन मन्त्रालयका तर्फबाट पराराष्ट्र मन्त्रालयमार्फत तस्करीबारे प्रश्न गर्नु उपयुक्त हुने हाम्रो निष्कर्ष हो,’ बैठकमा सहभागी एक अधिकारीले भने, ‘वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि कार्यान्वयनमा चासो नदेखाउँदा बेलाबखत यस्ता घटना हुने गरेका छन् । सम्बन्धित मुलुकले चासो नदिँदा अवैध गतिविधि बढेको देखिन्छ ।’ दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण महासन्धि (साइटिस) ले वन्यजन्तु र चरा ओसारपसारमा बन्देज लगाएको छ । नाइजेरिया पनि त्यसको सदस्य हो । विगतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विभिन्न प्रजातिका चराचुरुंगी तस्करी हुने गरे पनि स्तनधारी वन्यजन्तुको निकासी तथा आयात भएको यो पहिलो पटक हो । असोज ३० मा दुर्लभ अफ्रिकी चरासँगै चिम्पान्जी र बाँदर तस्करी गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई नेपालीसहित तीन भारतीय र एक पाकिस्तानीलाई पक्राउ गरेर वन कार्यालय, काठमाडौंको जिम्मा लगाएको छ । चिम्पान्जी, बाँदर र चरा चिडियाखानामा राखिएको छ । विधिविज्ञान प्रयोगशालाले तिनको नश्ल परीक्षण गरिरहेको छ ।

वन कार्यालय, काठमाडौंले तस्करीमा संलग्न अभियोग लागेका ६ जनामाथि अनुसन्धान गरिरहेको छ । अनुसन्धान अधिकृत तोकिएका सहायक वन अधिकृत उत्सव थापाका अनुसार पक्राउ परेकाहरूबारे थप अनुसन्धान गर्न आइतबार १० दिनको म्याद थपिएको छ । उनीहरू सबैको बयान लिने काम सकिए पनि थप अनुसन्धान गर्नुपर्ने भएकाले म्याद थपिएको हो । ‘तस्करीबारे अझै विभिन्न विषय बाँकी भएकाले म्याद थप्नुपरेको हो,’ थापाले भने, ‘नेटवर्कका अरू व्यक्ति पनि पक्राउ गर्न सकिन्छ कि भन्ने हाम्रो आशा हो ।’

   कान्तिपुरबाट 

अब्दुल्लाह मियाँ

प्रतिक्रिया दिनुहोस

web
analytics