तस्कर कै रेष्टुरेन्टमा तस्कर समाउँदा..
गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि.सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशनगरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबरअनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको २४ औं अंश –
तस्कर खोज्दै हेटौँडा
जुम्ले कान्छाले ‘सुइरे कान्छाको ज्वाइँलाई पनि मैले खाग लगेर दिएको छु’ भनेको थियो। म हाम्रो स्वयंसेवी सुराकीसँगै सुइरे कान्छाको घर खोज्न लोथर बजार पुगेँ र खसी व्यापारी बनेर घुम्न थालेँ। खसी कसको घरमापाइन्छ भनेर सोध्दै, घरघरमा खसी–बोका हेर्दै र छाम्दै सुइरे कान्छाको घर पुगेँ। त्यहाँ उसकी बूढी चामल केलाउँदै थिइन्। जाँडको गन्ध ह्वासह्वासी आइरहेको थियो। बाहिर पिँढीमा चार–पाँच बाख्रा बाँधिएका थिए। मैले उनलाई सोधेँ– ‘दिदी, खसी–बोका छैन बेच्ने?’
‘छैन बाबू, अहिले त।’
‘दाइ कता जानुभयो त?’
‘खै बाबू, बजार जान्छु भनेर जानुभएको बिहानै।’
‘दाइले मिलाएर दिनुहुन्थ्यो र हो’ भन्दै मैले फर्माइस गरेँ– ‘चिया बनाइदिनुस् न, भोक लाग्यो।’
उनले बुहारीलाई भनिन्– ‘लौ नानीलाई चिया बनाइदे त, कालो चिया।’
मैले कुरा निकालेँ– ‘माइली बहिनीको घरजम के–कस्तो चल्दै छ त?
कता बस्छन् छोरीज्वाइँ?’
‘बस्तीपुरमा।’
‘घरै उतै बनाए कि डेरा हो?’
‘डेरा हो बाबू, केको घर बनाउनु?’
जुम्ले कान्छाले सुइरेको ज्वाइँ जडीबुटीको व्यापार गर्छ भनेको थियो।
त्यही आधारमा मैले भनेँ– ‘ज्वाइँको कमाइ त राम्रै छ होला नि जडीबुटीबाट?’
उनले भनिन्– ‘खै बाबू, हामीलाई त थाहै हुँदैन।’
‘ज्वाइँ उतै छन् अहिले कि कता छन्? यतातिर आउँदैनन्?’
‘उतै छन् बाबू, धेरै भयो यता नआएको। अब जनै पूर्णिमा आउँदै छ;
त्यति बेला आउँछन् कि?’
मैले भनेँ– ‘तामाङहरुले पनि जनै लगाउन थाले कि क्या हो आजकल?’
जबाफ थियो– ‘हैन बाबू, पूर्णे मनाउँछौँ हामी पनि।’
मलाई त्यत्ति पत्ता लगाउनु थियो। चिया खाएर पैसा तिरीवरी हामी आफ्नो बाटो लाग्यौँ, ‘पछि आउँला है दिदी, बाख्राले पाठा पाएपछि खसी–बोका लिन’ भन्दै। त्यसपछि म बस्तीपुर गएँ र जडीबुटी व्यापारीबारे बुझे । सुइरे कान्छाको ज्वाइँको डेरा पनि पत्ता लगाएँ। ऊ सुतिरहेको थियो, रातो ओढ्ने ओढेर। अनुहार भने देख्न पाइएन। उसकी श्रीमती र पाँच–छ वर्षकी एउटी छोरी पनि सँगै थिए। तर त्यस दिन म एक्लै थिएँ; उसलाई समात्न सक्ने स्थिति थिएन। यसै क्रममा पत्ता लाग्यो— उनीहरुले हालसालै साझेदारीमा हेटौँडामा क्याबिन रेस्टुराँ खोलेका छन् जसको नाम ‘माई डियर रेस्टुराँ’ हो। अनि मैलेतयारीसाथ हेटौँडामै उसलाई पक्रने विचार गरेँ।
२०६२ भदौ ११ गतेका दिन हेटौँडा बजार पुगेर हामीले आफ्नो गाडी ट्राफिक पोस्टनजिक राख्न लगायौँ र चोकबाट दक्षिणतर्फ लाग्यौँ। बाटामा तुल टाँगेर रेस्टुराँको प्रचार गरिएको रहेछ। म र गेमस्काउट यमबहादुर खनाल पस्यौँ त्यो रेस्टुराँमा। अरु साथीहरु बाहिर छेउछाउमै छरिएर रहे। हामीले भित्र पसेर सुरूमा चिसो मगायौँ। चिसो लिएर एक जना १९–२० वर्षकी केटी आइन् ‘अ? के ल्याऊँ यहाँह?लाई?’ भन्न थालिन्। हामीले बुझिहाल्यौँ, त्यहाँ कुछ–कुछ छ। ग्राहकहरु भित्र–बाहिर गरिरहेका देखिन्थे र दिउँसै चर्को आवाजमा अङ्ग्रेजी म्युजिक लगाइएको थियो।
मैले तिनलाई सोधेँ– ‘भित्र पनि बस्ने ठाउँ छ?’
उनले भनिन्– ‘छ।’
अनि हामी भित्रतिर लाग्यौँ। त्यहाँ एउटा हल जस्तोमा क्याबिन स्टाइलले टेबुलहरु राखिएका थिए। कोठाको सजावट त्यति धेरै स्तरीय थिएन र ग्राहक पनि खासै थिएनन्। हामी बसेकै टेबुलमा आएर उनी पनि बसिन्।
मैले कुरा सुरू गरेँ– ‘यो रेस्टुराँ भर्खरै खुलेको हो कि क्या हो?’
‘हो।’
‘कति दिन भयो?’
‘एक हप्ता मात्र भयो।’
‘तर यहाँको सजावट हेर्दा त धेरै पुरानो जस्तो देखिन्छ नि। कत्तिको चलेको छ?’
‘ठीकै छ। तर दुःख दिने पनि आउँछन्।’
मैले सोधेँ– ‘लोकल मान्छे नै होइनन् र सञ्चालकरु’
उनले भनिन्– ‘एक जना त मेरो भिनाजु नै हो।’
‘ए, कति जना छन् र साहूहरु?’
‘दुई–तीन जनाको पार्टनरसिपमा छ।’
‘अरु कोको हुन् त?’
‘एक जना उता बस्तीपुरबाट आउनुहुन्छ, तर मलाई उहाँबारे त्यति थाहा
छैन।’
मैले सोचेँ— हामी ठीकै ठाउँमा आइपुगेछौँ। अनि फेरि सोधेँ– ‘अघि बाहिर
बस्ने नै हो मालिक? तिम्रो भिनाजु?’
‘हो।’
‘अनि सालीलाई हामीसँग देखेर भेनाले रिस त गर्दैनन्?’
‘गर्नुहुन्न।’
‘बस्तीपुरको साहू खोइ त?’
‘खोइ, कता जानुभयो।’
‘कति बेला आउनुहुन्छ?’
‘खै, थाहा छैन मलाई। किन चाहियो र तपाईंहरुलाई?’ शंका गरेझैँ उनले हामीलाई नै प्रतिप्रश्न गरिन्।
‘त्यस्तो केही होइन। तिम्रो भेना त रिसाउँदैनन् भन्यौ, तर अर्को साहू आएर तिमी बसेकोमा डाहा गर्छन् कि भनेर सोधेको।’
उनी मुसुक्क हाँसिन्– ‘मैले त तपाईंहरु कुनै जासुस हो कि भनेर।’
‘किन, हामी जासुस जस्तो देखिन्छौँ र?’
‘उः, उहाँ त आर्मी–पुलिस जस्तो देखिनुहुन्छ।’
‘ए हो र?’
‘कपाल कटिङ त्यस्तै छ।’
‘जासुस पनि हामी जस्ता हुन्छन् र?’
‘कति जना आएर यहाँ दुःख दिन्छन्।’
‘हामी त न जासुस हौँ न त दुःख दिनै यहाँ आएका हौँ, हामी त रमाइलो गर्न पो आएका त,’ मैले भनेँ। उनले लजाएर शिर निहुराइन्।
मैले भनेँ– ‘तिमीलाई शंका लाग्यो भने त हामी हिँड्छौँ।’
‘हैन हैन, मैले त त्यसै भनेकी; बस्नुस् न।’
उनीसँग कुरा गर्दागर्दै सुराकीले बताएको हुलिया भएको व्यक्ति अर्थात्सु इरे कान्छाको ज्वाइँ कान्छालाल वाइबा रेस्टुराँअगाडि आइपुग्यो। पातलो,
अग्लो, गहुँगोरो, कपाल दायाँतर्फ कोरेको। अनि हामी बिल तिरेर त्यहाँबाट बाहिरियौँ। मैले ती युवतीलाई एक सय पचास रूपैयाँ टिप्स दिएँ। उनी मक्ख परिन् र ‘आउँदै गर्नुस् न’ भनिन्।
बाहिर टोली व्यग्रतापूर्वक हाम्रो प्रतीक्षामा थियो। हामी भने दिउँसै केटीसँग गफिएर बसेका थियौँ। सुराकीले सुइरे कान्छाको ज्वाइँ त्यही हो भनेर कन्फर्म गराइदियो। ऊ र उसको साथी केही बेर पानपसलअगाडि गफ गर्दै उभिइरहे। हामी जम्मा चार जना थियौँ।
हेटौँडा बजारमा धेरै जनाको माझबाट पक्रँदा आवारा केटाहरले हूलदङ्गा गरेर उसलाई भगाउन सक्थे। त्यो ठाउँ हाम्रो क्षेत्र थिएन र रेस्टुराँछेउ दादा खालका केटाहरु राखिएका पनि हुन सक्थे। त्यसैले हामीले उसलाई एकान्तमा पारेर पक्रनुपर्ने थियो।
त्यस्तो मौका तुरून्त आइहाल्यो। सिमसिम पानी परिरहेको थियो। ऊ बाटो क्रस गरेर पूर्वपट्टिको लाइनमा आयो र किरानापसलमा सामान किन्न थाल्यो। मैले साथीहरुलाई पोजिसनमा राखेँ। जब ऊ सामान किनेर फर्कन लाग्यो,मैले ‘वाइबा, तिमी हामीसँग हिँड त एक छिन उता’ भनेर पाखुरामा समातेँ।
उसले ‘किन र?’ भन्यो। मैले ‘एक छिन काम छ’ भनेँ। ऊ ‘म यो सामान पुयाएर आउँछु’ भन्दै थियो; मैले ‘तिम्रो सामान मेरो केटाले पुर्याइ दिन्छ’ भनेर उसको झोला लिएँ र गेमस्काउट वसन्त लामिछानेलाई दिएँ।
बाटामा थुप्रै मान्छे हिँडिरहेकाले कसैले हामीप्रति ख्यालै गरेनन्। उसलाई हतारहतार गाडीमा चढाएर हामी टीसीएन रोड हुँदै पश्चिम लाग्यौँ। सुरूमा उसलाई भर्खरभर्खर रेस्टुराँ खोलेको सम्बन्धमा प्रहरीले केही सोध्न लगेको होला भन्ने लागेछ। हामीले उद्देश्य बताइदिएपछि बल्ल ऊ झसङ्ग भयो। यसरी बिनाहतियार, बिरानो ठाउँमा चार जनाको भरमा कसैले पत्तै नपाउने गरी अभियुक्त पक्रेर हामी कसरातर्फ लाग्यौँ।
प्रतिक्रिया दिनुहोस