पोथीको पाशो थापेर भाले हात्तीलाई स्याटेलाइट कलर



कोशीटप्पु वन्यजन्तु आरक्ष स्थित श्रीलङ्का टापुमा दारे भाले हात्तीलाई डार्ट गरी स्याटेलाइट कलर जडान गरिएको छ । चार दिनको अथक प्रयासपश्चात शुक्रबार बिहान सात बजेर २० मिनेटमा उक्त भाले हात्तीमा डार्ट गरी कलर जडान गरिएको हो ।

कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत श्याम शाहका अनुसार पाँचवटा पोथी हात्तीको सहयोगमा तयार पारिएको पासोमा उक्त भाले हात्तीलाई फँसाएर कलर जडान गरिएको हो । कलर जडान पश्चात उक्त हात्तीको दार काटेर छाडिएको छ ।



शाहका अनुसार वालीनाली सुख्खा भएको समयमा भाले हात्तीले घरपालुवा हात्तीसँग जवरदस्ती सहवास गर्न खोज्ने र सहवासको क्रममा हुने गतिविधिका कारण भौतिक क्षति निक्कै बढ्न थालेपछि स्याटेलाइट कलर जडान गरिएको हो ।



स्याटेलाइट कलर जडान गर्न शाहको नेतृत्वमा हात्तीको विषयमा विद्यावारिधी गरिरहेका पर्सा राष्ट्रिय निकुञ्जका सहायक वार्डेन अशोक राम, चितवन राष्ट्रिय निकुञ्जका पशु स्वास्थ्य प्राविधिक पुरुषोतम पाण्डे, राष्ट्रिय प्रकृति संरक्षण कोषका कोशी कार्यक्रम अधिकृत बिरेन्द्र गौतम, पशु प्राविधिक किरण रिजाल, वन्यजस्तु प्राविधिक तिर्थ लामा तथा नेपाली सेनासहितको ३५ जनाको टोलीले उक्त हात्तीलाई नियन्त्रणमा लिएर कलर जडान गरेको हो ।



यसअघि गत मंसिर १५ गते श्रीलंका टापुमा नै करिब ४० जंगली बर्षको हात्तीलाई पाँच पोथीको पासो थापेर स्याटेलाइट कलर जडान गरिएको थियो ।


तस्बिरहरु: पुरुषोतम पाण्डे

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics