चीनले बाढी पीडित ३१ हजारलाई पुनस्र्थापित गर्ने



चीन सरकारले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) सँग सहकार्य गरी बाढीबाट पीडित बनेका ३१ हजार आठ सय घरपरिबारलाई पुनस्र्थापित गर्ने भएको छ । चीनले बाढीबाट प्रभावित भएका तराईका सात जिल्लाका बासिन्दाका लागि पुनस्र्थापित गर्ने कार्यक्रम ल्याउन लागेको हो ।

चीनका महामहिम राजदूत यु होंगकाअनुसार गत् असारदेखि भदौंसम्म आएको बाढीका कारण तराईका सुनसरी, सप्तरी, सर्लाही, धनुषा, महोत्तरी, रौतहट र पर्सा जिल्लामा ३१ हजार आठ सय घरपरिबार प्रभावित भएका थिए । चीनले पुनस्र्थापित कार्यक्रमका लागि झण्डै ४० करोड रुपैयाँ बिनियोजन गरेको छ । गत् साउन महिनामा ६० बर्ष यताकै ठूलो बर्षा भएको थियो ।

पुनस्र्थापित कार्यक्रमअन्तर्गत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा प्रभावित घरधुरीसम्बन्धी अध्ययन गरिएको थियो । अध्ययनको आधारमा सल, कम्बल, खाना पकाउने भाडावर्तन, किटाणु प्रतिरोधी झुल, धुँवारहित चुलोसहितका सामग्री बितरण गर्न लागिएको छ । बर्षाका कारण आएको बाढीका कारण ३५ जिल्ला डुवानमा परेका थिए । बाढीमा परेर एक सय ४३ जनाको ज्यान जानुका साथै ४३ हजार घर पूर्ण रुपमा ध्वस्त बनेको थियो । एक लाख ९२ हजार घर आँशिक रुपमा क्षतिग्रस्त बनेको थियो । सरकारले बाढीका कारण १७ लाख सर्वसाधारण प्रभावित भएको प्रतिवेदन तयार गरेको थियो ।

बाढी पनुर्निर्माण तथा पुर्नस्थापना परियोजनाका प्रमुख सुमनकुमार कर्णकाअनुसार यस परियोजनाले नेपाल सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत बाढी पुनर्निर्माण तथा पुर्नस्थापना परियोजनासंगको सहकार्यमा पुर्नस्थापनाको प्याकेज तथा घरधुरी पहिचान गरेको हो । स्थानीय तहमा भने परियोजनाले निर्वा्चित नयां स्थानीय सरकारसंग सहकार्य गरी गैर खाद्य सामग्रीसहितको प्याकेज : सल, कम्बल, खाना पकाउने भाँडाकुँडा, किटाणु प्रतिरोधी झुल, धुवाँरहित चुलो र स्वच्छता सामग्री वितरण गर्नेछ ।

चीनियाँ सरकारले यसअघि पनि बाढीको समयमा नेपाल सरकारलाई १० लाख अमेरिकी डलरबराबरको सहयोग उपलब्ध गराएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics