१० वर्ष देखि कोशिटप्पु सञ्चार सुबिधा बिहिन



मुलुककै एक मात्र वन्यजन्तु आरक्षमा विगत एक दशक देखि बिधुतिय सञ्चार सम्पर्क छैन ।

चराको स्वर्गको रूपमा परिचित कोशीटप्पु वन्यजन्तु आरक्ष एक दशकदेखि सञ्चार सम्पर्कबिहिन अवस्थामा पुगेको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाएको आरक्ष क्षेत्रमा सरकारी तथा निजी कुनैपनि प्रकारको सञ्चार सुविधा उपलब्ध छैन । अर्ना संरक्षणका लागि २०३२ सालमा स्थापना भएको आरक्ष २०६४ साल देखि सञ्चार सम्पर्क टुट्न पुगेको हो । कार्यालयमा बिधुतिय सञ्चार सुबिधा नहुँदा कोशी टप्पु वन्यजन्तु आरक्ष आसपासका बासिन्दाहरु वन्यजन्तु समस्या बाट थप मारमा पर्ने गरेका छन् । खासगरी दिनहुँ जसो जंगली जनावरले दुःख दिने यसक्षेत्रका बासिन्दाले फोन सम्पर्क नहुँदा ठूलो क्षति व्यहोर्न बाध्य छन् ।

संचार सुविधा नहुँदा वन्यजन्तुले पनि बढी क्षती गर्ने गरेको कुर्वान मन्सुरीको गुनासो छ । 'हात्ती, अर्ना बस्ति पसेको बेला आरक्ष कार्यालयलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुँदैन’मन्सुरी भन्छन्, ‘हामीसँग वन्यजन्तु धपाउने उपकरण पनि छैन, सहयोगका लागि आरक्ष प्रशासनलाई सम्पर्क गर्न खोज्दा फोन लाग्दैन ।’

२०६४ सालमा कोशी फुट्दा यस क्षेत्रमा भएको एकमात्र टेलिकमको टावरसमेत बगाएपछि यो क्षेत्र सञ्चार सम्पर्कबिहीन भएको हो । सञ्चारसम्पर्क नहुँदा सूचना आदान–प्रदान गर्न समस्या हुने गरेको छ । त्यसपछि यसक्षेत्रमा मोबाइल सेवा प्रदायक कम्पनीहरूको टावर निर्माण हुन नसक्दा मोबाइल फोन चल्दैन । जसका कारण मोबाइलबाट फोन गर्नुपर्दा टावर टिप्ने ठाउँ खोज्दै हिँड्नु पर्ने बाध्यता छ । कुनै–कुनै ठाउँमा आक्कल–झुक्कल मात्र टावर टिप्ने गरेको छ ।

जंगलको छेउमा आरक्षको कार्यालय रहेका कारण दैनिकजसो हात्ती आतङ्क जस्ता समस्या हुने भएकाले नियन्त्रणका लागि सुरक्षाकर्मीलाई सम्पर्क गर्न खोज्दा फोन नलाग्ने गरेकाले समस्या हुने गरेको आरक्ष प्रशासनको भनाइ छ । प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहका अनुसार आरक्ष प्रशासनको दैनिक काम गर्न समेत समस्या छ। इन्टरनेट प्रयोग गर्ने १५ किलोमिटर दुरी पार गरी सदरमुकाम इनरुवा सम्म पुग्नु पर्ने बाध्यता रहेको शाहको भनाइ छ । टेलिफोन, मोबाइल, इमेल, इन्टरनेट प्रयोगका लागि आरक्षदेखि बाहिर जानुपर्ने र सम्बन्धित निकायमा तत्काल सञ्चार सम्पर्क गर्न कठिनाइ हुने गरेको उनले गुनासो गरे । यसैगरी सञ्चार सम्पर्क नहुँदा यस क्षेत्रमा आउने पर्यटक तथा स्थानीय होटेल व्यवसायीहरूलाई समेत समस्या भएको छ ।

स्थानीय व्यवसायी सुभास भुजेल सञ्चार सम्पर्क नहँुदा आफ्नो व्यवसायमा सोचे अनुरूपको प्रगति हुन नसकेको गुनासो गर्छन् । मोबाइलबाट फोन नलाग्ने भएकाले पर्यटकहरूसँग सम्पर्क गर्न समस्या हुने उनको भनाइ छ । नेपाल टेलिकमको क्षेत्रीय कार्यालय विराटनगरले एकपटक टावर निर्माणका लागि काम थालेको भएपनि अपूरो छाडेर भागेको आरक्षका नायब सुब्बा सुरेन्द्र खड्काले बताए । तर सरोकारवाला निकायमा निवेदन दिँदा समेत हालसम्म पनि नेपाल टेलिकमको टावर बन्न सकेको छैन । कोशी टप्पु विश्व रामसार सूचीमा सूचीकृत नेपालको पहिलो सिमसार क्षेत्र हो । जुन सुनसरी, सप्तरी र उदयपुर जिल्लामा १ सय ७५ वर्ग किलोमिटरमा फैलिएर रहेको छ ।

कृष्णप्रसाद भट्टराई

प्रतिक्रिया दिनुहोस

web
analytics