बालअधिकारका लागि सगरमाथा आरोहण गर्दै



बालबालिका तथा किशोरकिशोरीको शारीरिक, मानसिक र बौद्धिक विकासमा महत्वपूर्ण भूमिका खेलेका प्रकाशराज पाण्डेले सगरमाथा आरोहण गर्ने भएका छन् ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले बालअधिकारका लागि चेतना फैलाउन आफूले बुधबारदेखि सगरमाथा आरोहण गर्न लागेको जानकारी दिएका हुन् ।

‘बालबालिकाको हकअधिकारलाई सगरमाथाको चुचुरोबाट उठाउने, नेपालको पर्यटन विकासमा योगदान पुर्‍याउने, विभिन्न देशका स्काउटलाई सगरमाथा चढ्न आह्वान गर्ने उद्देश्यले सगरमाथा आरोहण गर्न लागेको हुँ । उनले भने ।

रामेछाप निवासी पाण्डेले विश्व स्काउट र राष्ट्रिय युवा परिषद्का झण्डा, चार शहीद र रामेछाप जिल्लाका तस्वीर तथा ललितपुर स्काउटको स्वर्णजयन्तीको प्रतीकचिह्न सगरमाथामा पुर्‍याउन लागिएको पनि जानकारी दिए ।

पाण्डेलाई विभिन्न संघसंस्थाको झण्डा तथा प्रतीकचिह्न हस्तान्तरण गर्दै प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले स्काउटमा लागेर विश्वको सर्वोच्च शिखर सगरमाथा पुग्नु देशकै गौरव कार्य भएको बताए । ‘आरोहणले रामेछाप र नेपालको परिचय झल्कनेछ’, उनले भने ।

युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले देशका एक करोड सात लाख युवाको प्रतिनिधित्व गर्दै सगरमाथा आरोहण गर्न लागेकामा उनलाई शुभकामना व्यक्त गरे ।
नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक चन्दन कौशिकले स्काउटका लागि साहस चाहिने भएकाले उक्त साहसलाई सगरमाथा आरोहणमा प्रयोग गर्न लागेकामा खुशी व्यक्त गरे । पाण्डेसँग अन्य आठ जनाले सगरमाथा आरोह गर्दै छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics