गैँडाकाे सिकार राजपरिवारले मात्र गर्न पाउथे

गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि.सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशनगरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबरअनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको ५३ औं अंश -

गैँडाको दुर्दशा

चितवन राष्ट्रिय निकुञ्जमा सन् १९५० सम्म करिब आठ सय गैँडा थिए। त्यही वर्ष त्यहाँ मलेरिया उन्मूलन कार्यक्रम सञ्चालन भएपछि पहाडबाट बसाइँ सरेर आउनेहरुको ताँती सुरू भयो। उनीहरले वन विनाशको क्रम तीव्र बनाए। गैँडाको अवैध सिकार पनि बढ्न थाल्यो। अत्यधिक वन विनाश र चोरी सिकारका कारण सन् १९५९ गैँडाको संङख्या   करिब तीन सयरहेकोमा सन् १९६६ मा अठसठ्ठीमा झरेको अनुमान गरिएको थियो।

सन् १९७५ देखि १९८४ सम्म यो क्रम रोकियो। फलस्वरुप सन् १९७८ मा गैँडाको संङख्या बढेर तीन सय दश र सन् १९८८ मा तीन सय अन्ठाउन्न पुगेको थियो। तर त्यसपछि १९९१ सम्ममा बीस गैँडा चोरी सिकारबाट मारिए। सन् १९९२ मा मात्र अठार वटा गैँडा मारिए। यसका बाबजुद चितवनमा मात्र चार सय छयालिस गैँडाको गणना गरिएको थियो। सन् १९९५ मा चोरी सिकार पुनः नियन्त्रणमा आएको थियो। तर सन् १९९६ अगस्टदेखि १९९९ अक्टोबरसम्म बीस वटा गैँडा मारिए। सन् २००० को गैँडा गणना अनुसार चितवन राष्ट्रिय निकुञ्ज र यसको वरपर ५४४ वटा गैँडा रहेका थिए।

सन् १९७३ मा निकुञ्ज स्थापनायता १९९१ सम्म एक सय नौ गैँडा मरेको तंथ्याक  देखाएका छन्। तीमध्ये असी प्रतिशत प्राकृतिक कारणबाट र बीस प्रतिशत चोरी सिकारबाट मारिएका थिए। सन् १९९१ देखि १९९९ अक्टोबरसम्म सत्ताइस प्रतिशत गैँडा चोरी सिकारबाट मारिएको तंथ्याक   डा. तीर्थमान मास्केले तयार पारेको ‘चोरी सिकार नियन्त्रण रणनीति, सन् २०००’ मा उल्लेख छ। सन् १९९९ को डिसेम्बरमा एउटा गैँडा चोरी सिकारबाट मारियो। सन् २००० मा भने गैँडाको मृत्यु  संङख्या   ह्वात्तै बढ्यो। त्यो वर्ष तेत्तीस गैँडा मरे। तीमध्ये पच्चीस वटा कालगतिले मरेका थिए भने आठ वटा चोरी सिकारबाट।

छ वटालाई गोली हानिएको थियो, एउटालाई विष खुवाइएको थियो र अर्को एउटा गैँडा मृत अवस्थामा मध्यवर्ती क्षेत्रको धान खेतमा भेटिएको थियो। सन् २००१ मा पच्चीस गैँडा मरेका थिए। तीमध्ये नौ वटाको कालगतिले मृत्यु भएको थियो भने चौध वटालाई चोरी सिकारीहरुले गोली हानेका थिए। एउटा गैँडालाई विष प्रयोग गरी मारिएको थियो। मध्यवर्ती क्षेत्रमा मृत भेटिएको एउटा गैँडाको मृत्युको कारण भने यकिन हुन सकेन।

सन् २००२ मा कुल बाउन्न गैँडा मरेका थिए, जसमध्ये गोली हानी  मारिएका गैँडाको संङख्या पैँतीस थियो। यसबाहेक करेन्ट लगाएर दुइटा, विष प्रयोग गरी एउटा र गाडीको ठक्करबाट एउटा गैँडा मारेको पाइयो। बाँकी तेर्‍ह वटा कालगतिले मरेका थिए। म २०५९ माघ २६ गते अर्थात् सन् २००३ को प्रारम्भमा चितवन राष्ट्रिय निकुञ्जमा सरूवा भएको थिएँ। त्यस बेला त्यहाँ गैँडा संरक्षण कार्य साँच्चिकै चुनौतीपूर्ण थियो। गैँडा मारिने क्रम उत्कर्षमा थियो। फागुन १२, १३ र १५ गते त लगातार प्रत्येक दिनजसो एउटा–एउटा गैँडा मारिएका थिए। सन् २००३ मा भने जम्मा पैँतीस गैँडा मरेकामा एउटालाई करेन्ट लगाइएको थियो भने बीस वटा चोरी सिकारबाट मारिएका थिए। तीबाहेक एउटा गैँडा कसरी मारिएको हो यकिन हुन नसकेको तर निकुञ्जको रेकर्डमा खाग हराएको भनी उल्लेख भएको छ।

सन् २००४ मा छब्बीस गैँडा मरेका थिए। तीमध्ये दस वटा चोरी सिकारबाट, एउटा विष खुवाइएर र पन्ध्र वटा प्राकृतिक कारणबाट मरेका थिए। सन् २००५ मा तेइस गैँडा मरेको पाइयो। तेर्‍ह वटालाई चोरी सिकारीले गोली हानेका थिए। एउटाको मृत्यु करेन्टबाट भएको थियो। अर्काे एउटा गैँडाको मृत्युको कारण भने खुल्न सकेन। त्यो वर्ष प्राकृतिक  नेपालमा गैँडा  कारणबाट आठ गैँडा मात्र मरेको देखिन्छ। सन् २०००–०५ सम्ममा गैँडाको संङख्या  अत्यधिक गिरावट आयो र चितवनमा तीन सय बहत्तर र नेपालमा जम्मा चार सय नौ मात्र बाँकी रहेका थिए। सन् २००६ मा सोर्‍ह गैँडा चोरी सिकारबाट मारिए भने आठ वटा प्राकृतिक कारणबाट मरेका थिए। सन् २००७ मा भने चितवनमा त्यति धेरै गैँडाले अकाल मृत्युवरण गर्नुपरेन।

सन् २००८ मा भने गैँडाको संङख्या  केही बढेर चितवनमा चार सय आठ र नेपालमा चार सय पैतिस गैँडाको गणना गरियो। त्यसैगरी सन् २०११ मा चितवनमा पाँच सय तीन र नेपालमा पाँच सय चौतिस रहेकोमा सन् २०१५ सन् १९५० कै हाराहारीमा गैँडाको संङख्या पुग्नु संरक्षणको हिसाबले निकै उल्लासमय अवस्था थियो। यस वर्ष चितवन राष्ट्रिय निकुञ्ज र यसको वरपर छ सय पाँच र नेपालमा चितवन, बर्दिया, शुक्लाफाँटा र पर्सा वन्यजन्तु आरक्ष समेतमा गरी छ सय पैतालिस गैँडाको गणना गरिएको थियो।

सन् २००१ देखि चोरी सिकार नियन्त्रणका लागि उल्लेखनीय प्रयास सुरू भएको हो। यद्यपि माओवादी द्वन्द्वका कारण लागेको संकटकालमा सेनाले सुरक्षा पोस्टहरु घटाउँदा सन् २०००–०२ मा चोरी सिकार निकै बढ्यो, तथापि धेरै अपराधी पनि पक्राउ परे। तिनलाई कारबाही गरियो; फलस्वरुप त्यसपछिका दिनमा गैँडाको चोरी सिकार बढ्न पाएन। विशेष प्रयास नगरिएको हुँदो हो त चितवन राष्ट्रिय निकुञ्जका सबै गैँडा चोरी सिकारीका कारण समाप्तै हुने थिए।

सन् १८४६ मा जङ्गबहादुर राणाले गैँडालाई ‘शाही सिकार’ को संज्ञा दिएका थिए। गैँडालाई राणा र शाह परिवारका सदस्यले मात्र सिकार गर्न पाउने वन्यजन्तुका रुपमा घोषणा गरिएको थियो। अन्यले गैँडाको सिकार गरेमा त्यसलाई चोरी सिकार मानी कडा कारबाही गर्ने व्यवस्था उनले गरेका थिए। सन् १९५८ मा वन्यजन्तु संरक्षण ऐन ल्याइयो। ‘राइनो स्याङच्युरी’ को घोषणा यसैका आधारमा गरिएको थियो। सन् १९७३ ताका चितवन उपत्यकामा देखिएको गैँडा चोरी सिकारको समस्या नियन्त्रण गर्न फ्लोरा  एन्ड फाउना प्रिजरभेसन सोसाइटीले आर्थिक सहयोग उपलब्ध गराएको थियो। त्यसबाट गैँडा सिकारीबारे सूचना दिने व्यक्तिलाई दुई हजार रूपैयाँ पुरस्कार दिने घोषणा चितवन राष्ट्रिय निकुञ्जका तत्कालीन वार्डेन डा. तीर्थमान मास्केले गरेका थिए। त्यसले चोरी सिकार नियन्त्रणमा ठूलो भूमिका खेलेको वार्डेन रामप्रीत यादवको अनुभव छ। त्यो घोषणापछि चोरी सिकारमा लागेकाहरुले नै पुरस्कार पाइने लोभमा चोरी सिकारीबारे सूचना दिन थालेका थिए। फलस्वरुप तीन महिनाभित्र सत्र जना गैँडा तस्कर पक्राउ परेका थिए।

सन् १९८४ पछि फेरि गैँडाको चोरी सिकारमा वृङि भएकाले निकुञ्जले सुराकी सञ्जाल थप मजबुत बनाउन खोज्यो। तर १९८८ सम्म आइपुग्दा सरकारले सुराकी सञ्चालनका लागि दिइने रकम उपलब्ध गराउन छाड्यो। केन्याली वन्यजन्तु अनुसन्धानकर्ता ईबी मार्टिनले उल्लेख गरे अनुसार ‍सरकारबाट रकम उपलब्ध नहुँदा सुराकी सञ्चालन योजना निष्क्रिय हुन पुग्यो। स्मरणीय छ, मार्टिनले नेपालमा गैँडा संरक्षणबारे लामो समयदेखि चासो राख्दै आएका छन्।

सन् १९९१ को जनवरीदेखि बेलायतमा रहेको इन्टरनेसनल ट्रस्ट फर नेचर कन्जरभेसन (आईटीएनसी) ले सुराकीलाई प्रतिमहिना दुई हजार रूपैयाँ दिने व्यवस्था गर्‍यो। त्यो रकम पछि बढाएर वार्षिक तीस हजार प्रतिसुराकी  बनाइयो। यसले गर्दा चोरी सिकार नियन्त्रण कार्य थप प्रभावकारी हुन पुग्यो। २०४९ मा चौथो संशोधन गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को गैँडा मार्नेलाई पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा पचास हजारदेखि एक लाख रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरियो। त्यसपछि कडा सजाय भोग्नुपर्ने डरले गैँडाको चोरी सिकारमा कमी आउन थाल्यो।

सन् २००० को दशकको पूर्वार्ङमा चोरी सिकार नियन्त्रणका लागि आर्थिक सहयोग प्रदान गर्ने संस्थाह?मा डब्लुडब्लुएफ नेपाल कार्यक्रम र बाघ–गैँडा संरक्षण आयोजना मुख्य थिए। सन् २००३ मा डब्लुडब्लुएफ नेपाल कार्यक्रमले वार्षिक दुई लाख नौ हजार रूपैयाँ उपलब्ध गराएको थियो। बाघ–गैँडा संरक्षण आयोजनाबाट मासिक साठी हजारका दरले वार्षिक सात लाख बीस हजार रूपैयाँ प्रदान गर्‍यो।

सन् २००५ मा उक्त आयोजना समाप्त भएपछि बैंकमा राखिएको कोशबाट प्राप्त हुने ब्याज जिल्ला वन कार्यालय चितवन, नेपाली सेना कसरा र चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा कार्यक्रम बनाई खर्च गरिँदै आएको छ। कोशबाट वार्षिक एक लाख पचास हजार रूपैयाँ ब्याज प्राप्त हुन्छ। सन् २००४ देखि नेपाल सरकार, वन तथा भू–संरक्षण मन्त्रालयको तराई भू–परिधि कार्यक्रमद्वारा चोरी सिकार नियन्त्रणका निम्ति वार्षिक छ लाखदेखि आठ लाख रूपैयाँसम्म उपलब्ध गराइँदै आएको छ। समग्रमा चोरी सिकार नियन्त्रणका लागि विभिन्न निकायबाट प्रतिवर्ष सरदर आठदेखि दस लाखरूपैयाँसम्म प्राप्त हुने गरेको छ। त्यसै गरी मध्यवर्ती क्षेत्र व्यवस्थापनका लागि निकुञ्जले आम्दानी गरेको राजस्व मध्येबाट प्राप्त हुने ३०–५० प्रतिशत रकमबाट पनि आवश्यक परेका बेला केही रकम उपलब्ध हुने गरेको छ।

यसरी प्राप्त रकमबाट सुराकी सञ्चालनका लागि मासिक तलब, उनीहरुलाई दिनुपर्ने आवश्यक खर्च, सूचना खरिद गरेबापत दिनुपर्ने रकम, सूचना संकलन गर्न जाँदा लाग्ने खाने–बस्ने र भाडा खर्च ब्यहोर्ने व्यवस्था गरिएको छ। गाडी, मोटरसाइकल र साइकल मर्मत तथा इन्धन खर्च, स्विपिङ अपरेसन र क्याम्पिङ  अपरेसनमा जाँदा लाग्ने खर्चसमेत यसैबाट गरिन्छ। कर्मचारीहरु बिरामी पर्दा उपचार खर्च, तिनलाई अति आवश्यक  काम पर्दा आर्थिक सहयोग र कोही अत्यधिक खटेको छ भने पुरस्कारस्वरप केही रकम पनि यसैबाट दिइन्छ। यस्तो व्यवस्था गरिएयता बर्सेनि पचासदेखिसाठी जनासम्म गैँडा सिकारी, खाग व्यापार गर्ने दलाल तथा तस्कर पक्राउ पर्ने गरेका छन्।

वन्यजन्तु संरक्षणमा सेनासमेत सामेल भएपछि संरक्षण अरु प्रभावकारी भएको छ। सेनालाई संरक्षण कार्यमा सन् १९७५ देखि खटाउन थालिएको हो। पहिलो पटक दुई सय सैनिक जवानलाई चितवन राष्ट्रिय निकुञ्जमा राखिएको थियो। त्यसपछि अन्य राष्ट्रिय निकुञ्जमा पनि यस्तो व्यवस्था गरियो। हाल संरक्षण क्षेत्रबाहेक सबै निकुञ्ज तथा आरक्षमा सुरक्षाका लागि सेनाको टुकडी राखिएको छ। सन् १९७५ मा चितवन राष्ट्रिय निकुञ्जमा सेना तैनाथ गरिएपछि १९८४ सम्म चोरी सिकारीबाट एउटा पनि गैँडा मरेन।

कमलजङ्ग कुँवर

प्रतिक्रिया दिनुहोस

web
analytics