गैंडाको कमिसन मात्रै पाँच लाखसम्म

A+ A-



गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि.सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशनगरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबरअनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको ५४ औं अंश -

जैविक विविधता र महत्त्व

चितवन राष्ट्रिय निकुञ्जमा चौसठ्ठी किसिमका स्तनधारी जनावर, छ सय भन्दा बढी प्रजातिका चरा, उनन्पचास किसिमका उभयचर तथा सरीसृप र एक सय बीस प्रजातिका माछा पाइएका छन्। पचास किसिमका घाँस, सोर्‍ह किसिमका सुनगाभा, त्रिहत्तर किसिमका उन्यू लगायत छ सयभन्दा बढी प्रकारका वनस्पति छन्।

निकुञ्ज क्षेत्रमा पहिलो होटल टाइगर टप्स सन् १९६५ मा स्थापना भएको थियो। त्यसपछि यहाँ पर्यटकको सङ्ख्या बढ्न थाल्यो। यो होटल केन्याको विश्वप्रसिङ ट्री टप होटलको नक्कल गरी बनाइएको हो। त्यस बेला एक सय साठी एकड जमिन ओगटेर बसेको यस होटलमा सुरूवातमा चवालीस वटा बेड थिए। पछि सन् १९७३ मा पन्ध्र बेडको टेन्टेड क्याम्प सुरू गरियो। १९७३ सेप्टेम्बरदेखि १९७४ जुनसम्म चार हजार पर्यटक यस होटलमा बसेका थिए।

अहिले चितवनमा वार्षिक एक लाखभन्दा बढी विदेशी पर्यटक आउँछन्। प्रत्येक पर्यटकले सरदर एक सय अमेरिकी डलर मात्र खर्च गर्दा हुन आउने आर्थिक उपार्जनलाई हिसाब गर्ने हो भने पनि चितवन राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा ठूलो उद्योगमध्ये एक देखिन आउँछ। विभिन्न जिल्लाबाट यहाँ आउने पर्यटकको सङ्ख्या पनि लाखौँ छ। स्थानीय जनताको आर्थिक प्रगतिमा पर्यटन व्यवसायले ठूलो भूमिका खेलेको छ।

नेपालका चार वटा क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गरिएको छ। तीमध्ये सगरमाथा र चितवन गरी दुइटा त राष्ट्रिय निकुञ्ज नै छन्। निकुञ्जहरुले आफ्नो क्षेत्रभित्रका मन्दिर, गुम्बा लगायत विश्व सिमसार क्षेत्रको सूचीमा परेका महत्वपूर्ण तालहरुको समेत संरक्षण र व्यवस्थापन गर्दै आएका छन्। यस हिसाबले पनि निकुञ्ज र संरक्षण क्षेत्रहरुले अन्तर्राष्ट्रिय समुदायमाझ हाम्रो देशको विशिष्ट पहिचान कायम गराउन ठूलो भूमिका खेलेका छन्।

खाग तस्करीको सञ्जाल 
खाग तस्करी किन?

गैँडाको खाग तस्करी केका लागि? कहाँ जान्छ यो? र के–केमा प्रयोग हुन्छ? दिवाकर चापागाईं र जनार्दन ढकालले सम्पादन गरेको र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागद्वारा प्रकाशित ‘नेपालमा साइटिस कार्यान्वयन, परिचय र पहिचान’ पुस्तिकामा उल्लेख गरिए बमोजिम नेपालमा पाइने एकसिङ्गे गैँडा संसारमा पाइने पाँच प्रकारका गैँडामध्ये एक हो। यिनीहरु खागका निम्ति मारिन्छन्। खाग गैँडाको नाकमाथि उम्रने रौँको झुप्पो हो, जुन सिङ जस्तो कडा बनेको हुन्छ। गैँडाको चोरी सिकार गरी यसको खाग निकालिन्छ  र तस्करीको माध्यमबाट अन्तर्राष्ट्रिय अवैध बजारमा पुर्‍याइन्छ जहाँ यो अत्यन्त उच्च मूल्यमा बिक्री हुन्छ।

पुस्तिका अनुसार खागको अवैध व्यापारले गर्दा संसारमा पाइने सबै पाँच प्रजातिका गैँडा (एसियाली तीन र अफ्रिकी दुई) लोप हुने   खतरामा छन्। एसियाली गैँडाको खागको औसत तौल आठ सय ग्रामदेखि एक किलोग्रामसम्म हुन्छ र यसको मूल्य अफ्रिकी गैँडाको खागको भन्दा पाँचदेखि दस गुणासम्म बढी पर्छ।

गैँडाको खागको प्रयोग कतिपय पूर्वीय परम्परागत उपचार प्रणालीमा दम, ज्वरो, फोक्सो र पाचन प्रणालीसँग सम्बन्धित विभिन्न रोगको औषधि बनाउन हुने गरेको पाइन्छ। खास गरी परम्परागत चिनियाँ पद्धति अन्तर्गत यौन उत्तेजना बढाउने औषधि बनाउन खागको अत्यधिक प्रयोग हुने गरेको छ।यसबाहेक खाडी राष्ट्रहरुमा हाते छुरी, खन्जर र चुप्पीको बिँड बनाउन पनि खाग प्रयोग गरिएको पाइन्छ। त्यस्तै खागलाई शुभ वस्तुका रुपमा औँठीमा राखी प्रयोग गर्ने पनि प्रचलन छ।

वन्यजन्तु सिकार र खागको व्यापारलाई विश्वका सबै राष्ट्रले अवैध मानेका छन्। नेपालले दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (साइटिस) मा हस्ताक्षर गरेर सन् १९७५ देखि नै कुनै पनि वन्यजन्तुको गैरकानुनी सिकार, बिक्री–वितरण, ओसारपसार तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ। गैँडा, बाघ लगायत संरक्षित जनावरलाई मार्न, लखेट्न, तिनका अङ्ग–प्रत्यङ्गको ओसारपसार, बिक्री–वितरण तथा प्रयोग गर्न र राख्न नपाइने कानुनी व्यवस्था गरेको छ। अधिकांश मुलुकमा यस्तै व्यवस्था छ। तैपनि विश्वमा वन्यजन्तु र तिनका अङ्ग–प्रत्यङ्गको व्यापार प्रत्येक वर्ष बीस अर्ब अमेरिकी डलरभन्दा बढी हुने गरेको छ जसमध्ये कम्तीमा तीस
प्रतिशत अर्थात् छ अर्ब डलर (करिब पचास हजार करोड रूपैयाँ) बराबरको व्यापार अवैध रुपमा हुने गर्छ।

एक किलो गैँडाको खाग अन्तर्राष्ट्रिय बजारमा छब्बीस हजार अमेरिकी डलर (बीस लाख रूपैयाँ) भन्दा बढी मूल्यमा बिक्री हुने गरेको उक्त पुस्तिकामा उल्लेख छ।
काठमाडौँमा खागको मूल्य कति हो त? पक्राउ परेका मान्छेले बयानका क्रममा दिएको सूचनाबाट यसबारे अनुमान लगाउन सकिन्छ। चोरी सिकारीहरुले गैँडा मारेपछि खागलाई त्योसँग जोडिएको मासुसहित बन्चरोले काटेर लैजान्छन् र सुरक्षित ठाउँमा पुर्‍याएर पानीमा बेस्सरी उसिन्छन्। त्यसपछि खाग मासुबाट छुट्टिन्छ र त्यसलाई चिल्लो लगाएर टल्काएपछि  तस्करीको क्रम सुरू हुन्छ।

धेरैले पूर्वनिर्धारित रकम अनुसार वा मोलतोल गरेर खाग स्थानीय दलालका हातमा सुम्पिदिन्छन् भने कुनैकुनै सिकारीले काठमाडौँ लगेर त्यहाँका दलालमार्फत वा सोझै ठूला तस्करलाई पनि बेच्ने
गर्छन्। चितवन, नवलपरासी वा मकवानपुरमै बेच्नेहरुले सय ग्रामको पचास हजारदेखि साठी हजार रूपैयाँका दरले, एउटा खाग एक किलोको छ भने पाँच लाखदेखि छ लाख रूपैयाँसम्म लिने गरेका छन्। काठमाडौँ लग्नेहरुले भने केही बढी मोल पाउँछन्। त्यहाँ दुई–तीन दलालकहाँ पुग्दा त्यसको मूल्य एक–दुई लाख बढिसकेको हुन्छ। काठमाडौँबाट तिब्बत निकासी गर्नेहरुले चाहिँ प्रतिकिलो सामान्यतः तीनदेखि पाँच लाख रूपैयाँसम्म नाफा खाएर बेच्ने गरेको थाहा पाइएको छ। यसरी हेर्दा काठमाडौँबाट एक सय थान खाग बेचेको दलालले तीनदेखि पाँच करोड रूपैयाँसम्म कमाएको देखिन्छ।

पछिल्ला दिनमा पक्राउ पर्ने एक सिकारी समूहले चार सय ग्रामको खाग नौ लाख साठी हजार रूपैयाँमा बेचेको बयान दिएकाले खागको मूल्य यति नै हो वा हुन्छ भनेर ठोकुवा गर्नचाहिँ सकिँदैन।
यसरी चितवनमा सिकारी वा दलालले पाँच लाखमा बेचेको खाग काठमाडौँका दलालहरु हुँदै तिब्बत निकासी गर्ने दलालकहाँ पुग्दा सात–आठ लाखको हुन्छ भने उसले बाहिर पठाउँदा त्यसको मूल्य दसदेखि बार्‍ह लाख र कहिलेकाहीँ त पन्ध्र लाख रूपैयाँसम्म पुगेको हुन्छ। तिब्बतको खासा पुगेपछि प्रयोगकर्तासम्म पुग्दा एक किलो खागको मूल्य तीस लाख रूपैयाँसम्म
पुगिसकेको हुन्छ।

तिब्बती र तिब्बती मूलका व्यक्तिहरु  नै खागको अवैध व्यापारमा अत्यधिक संलग्न छन्। किन त? यसको एक प्रमुख कारण खाग लगायत तमाम वन्यजन्तुको आखेटोपहारको मुख्य बजार तिब्बत र चीन हुनु नै हो। उनीहरु त्यहाँको भाषा बोल्न सक्ने भएकाले कुराकानी गर्न सजिलो हुने त छँदै छ; धर्म, परम्परा, जात र रहनसहनसमेत प्रायः मिल्ने र त्यसबाट विश्वासको वातावरण बन्ने भएकाले यस धन्दामा उनीह?को लगभग एकाधिकारै छ। अरुले तल्लो तहमा काम गरे पनि माथ्लो तहमा पुग्न त्यति सजिलो देखिँदैन। उनीहरुलाई सघाउन, सुरक्षा दिन र त्यसबाट मोटो रकम (दलाली  कुम्ल्याउन भने नेपालका कैयौँ उच्च घरानिया, दरबारिया, उच्च नेता, ठूला व्यापारी, उच्च तहका प्रशासक, प्रहरी तथा सैनिक अधिकारी र आफूलाई नागरिक समाजको अगुवा भन्नेह?समेत पूर्ण शक्ति प्रयोग गरेर लागिपरेका देखिन्छन्। केही प्रमुख घटना मात्रले पनि यसलाई स्पष्ट पार्छन्।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics