यो वर्षको पहिलो सिजनमा आठ नेपाली सगरमाथाको चुचुरोमा


यस वर्षको हिमाल आरोहण सुरु भएसँगै आठ जना नेपाली आरोही आज मंगलबार सगरमाथाको शिखरमा पुग्न सफल भएका छन्।

आठ जना नेपाली गाइड मंगलबार दिउँसो १ः४५ मा चुचुरोमा पुगेको सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।

सगरमाथा आरोहीहरुका लागि डोरीको सहायताले बाटो बनाउँदै उनीहरु चुचुरोमा पुगेका हुन्। उनीहरु चुचुरोमा पुगेसँगै अन्य आरोहीहरुका लागि आरोहणको बाटो खुलेको छ।

चुचुरोमा पुग्न लामाबगर दोलखाका सिद्ध बहादुर तामाङले नेतृत्व गरेका थिए।

उनको नेतृत्वमा मकालु संखुवासभाका पासदावा शेर्पा, दावा नोर्बु शेर्पा, मिङदोर्ची शेर्पा, साङबु भोटे, आङ फुर्वा शेर्पा रहेका छन्। त्यस्तै सोलुखुम्बुको खुम्जुङका दोर्जी ग्यालजेन शेर्पा र पासाङ दावा शेर्पा सगरमाथाको चुचुरोमा बाटो बनाउँदै पुगेका हुन्।

यी सबै काठमाडौंमा रहेको हिमालयन गाइड्स नामक एक्सपिडीसन कम्पनीमा आवद्ध हाई अल्टिच्यूट गाइड हुन् । उनिहरु १३ दिनअघि ८ हजार मिटर उचाइमा पर्ने साउथकोलसम्म बाटो बनाउँदै पुगेको थियो ।

यसपटक सगरमाथा आरोहणका लागि ३ सय ७७ जनाले अनुमति लिएका छन् ।

नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार, यीसहित आधार शिविरमा आरोही, गाइड र भरिया गरी करिब १५ सय हाराहारी मानिस रहेका छन्।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics