प्राकृतिक विपद् र जोखिम समूह

A+ A-


मनमोहक हिमशृङ्खला र सुन्दर अग्ला पहाडले देशभित्र र देशबाहिरका जो कसैलाई आकर्षित गरेको छ । प्रकृतिको यो अनुपम उपहारले सङ्कटको पनि भुमिका खेलेको बारे हामी मध्ये धेरैजना अनभिज्ञ छौँ । देशको भौगोलिक बिकटता, नाजुक भु-संरचना र जलवायुको बिबिधता जुन हिमाल, मध्यपहाड देखि दक्षिणी समथर तराईको भुभागसम्म सानो छेत्रफल भित्र सिमित छ, त्यस्ले बिबिध प्राकितिक विपद्को कारणको रुपमा भुमिका खेलेको छ। नेपालको दक्षिणी भुभाग, तराईका क्षेत्रहरु मुख्यतस् मौसमी बाढीको उच्च जोखिममा रहेको छ, जसको प्रमुख कारण मनसुनी बर्षा, नदीको जटिल संरचना र सन्जाल हो । यसको बिपरित हिमाली र पहाडी क्षेत्र भने हिमपहिरो, भुक्षय र पहिरोको उच्च जोखिममा रहेको छ । हिन्द प्लेट र तिब्बटियन प्लेटको सङ्गम स्थलमा अवस्थित भएकै कारण जोखिम र ठुलो क्षतिको सम्भावना बिच नेपाल उभिएको छ।


नेपाल बिश्व जलवायु जोखिमको सुचाङ्क सुचीमा चौथौ स्थानमा पर्छ । यो सुचाङ्कले विभिन्न मौसम र जलवायु सम्बन्धित घटना र त्यसले मानविय सुबिधा तथा आर्थिक क्षतिको सम्बन्धबारे सुचना सम्प्रेषण गर्छ । साथै विश्व भुकम्पीय जोखिमको आधारमा नेपाल एघारौँ स्थानमा पर्छ। यी दुई कारणले गर्दा नै नेपाल २० बहुजोखिमयुक्त देशहरुको सुचीमा समाबिष्ट छ बिभिन्न समयमा भईरहेको प्राकितिक विपद्ले मानविय तथा पशुपन्छीमा मात्र क्षति नगरी प्राकृतिक तथा सास्कृतिक सम्पदा र निजी तथा सामुदायिक धनजनको समेत क्षति गराएको छ । गृह मन्त्रालयको (२०१५) को प्रतिबेदन अनुसार ८०% भन्दा बढी जनसङ्ख्या प्राकृतिक जोखिमको खतरामा छन् जुन जोखिम अन्तर्गत भुकम्प, खडेरी, मौसमी बाढी, पहिरो, चरम तापक्रम (अधिक तथा न्युन) र हिमपहिरो पर्दछन् । सन् १९९० देखि २०१९ सम्म भुकम्पीय क्षति ५ अर्ब अमेरिकी डलर भन्दा बढी र ६० लाख भन्दा बढी मानिसहरु प्रभावित भएको तथ्याङ्क उपलब्ध छ । भूकम्प मात्र क्षतिको स्रोत भने होइन यसमा अझ मनसुनी बाढी पहिरोले निम्त्याउने क्षति छदैँ छ । तथ्याङ्कलाई पछ्याउने हो भने बाढी पहिरो आर्थिक क्षतिको मुख्य कारणको रुपमा पाईन्छ । सन् १९९० देखि २०१४ सम्म कुल क्षतिको ३२.५ % बाढीले गरेको छ ।


प्राकृतिक विपतले सबैलाई असर गर्छ तर प्रभावको मात्रा र असर विभिन्न समुदाय र समुह बिच भिन्न भिन्न हुन्छ । विपद्ले गरिब तथा सिमान्कृत समुदाय, महिला, बालबालिका तथा वृदवृदालाई बढी असर गर्छ । सामाजिक, आर्थिक अबस्था, लिङ्ग, उमेर, समुह अनुसार जोखिमको अवस्था फरक हुने हुँदा जोखिमको अनुभव र प्रतिरोध क्षमतामा फरक पर्न जान्छ । अविकसित तथा विकासोन्मुख देशमा विद्यमान लैङ्गिक असमानताका कारण महिला तथा किशोरीहरु पुरुषको तुलनामा बढी जोखिममा हुन्छन्।


सन् १९८१ देखि २००२ सम्म जोखिम ग्रस्त र प्रभावित १४१ देशहरुमा गरिएको अनुसन्धानले जोखिम तथा विपद्ले महिलाहरुको औेसत आयु पुरुषको तुलनामा बढी घटाउने पाईएको छ। जोखिमको पूर्व सुचनाको कुरा गर्दा पनि यस्ता थुप्रै प्रबिधिहरु महिलाहरुको पँहुचमा पुग्न नसकेको देखिएको छ। नेपाल पितृसतात्मक देश भएकाले त्यस्तो अवस्थाबाट नेपाल अपवाद हुन सकेको छैन । महिलाहरु घरायसी, भान्छा तथा बालबालिकाको स्याहार सुसारमा लाग्नुका साथै कृषिजन्य र अन्य गतिबिधिमा समेत प्रमुख भूमिकामा समावेश हुनुपर्ने बाध्यताले बढी जोखिम बेहोर्न बाध्य छन् । सन् २०१६ को लैङ्गिक समानता सूचाङ्कमा नेपाल ११० औेँ स्थानमा थियो जसमा १४४ देश समाबिष्ट थिए । यो एक सामाजिक आर्थिक सूचाङ्क हो जस्ले महिलाको पुरुषको तुलनामा शिक्षा पहुँचको अध्ययन गर्छ । बालबालिका जो महिलाहरुसँग अन्तरसम्बन्धित छन् उनीहरु पनि उच्च जोखिममा छन्।


नजिकैको सहर तथा बैदेशिक रोजगारका लागि जाने सङ्ख्या पुरुषको उच्च रहेको छ । जसले गर्दा युवा तथा सामथ्र्यवान् जनसङख्याको सङख्या न्युन छ । प्राकृतिक विपद्को क्षणमा उक्त समुहको अभावमा उद्दारमा समस्या तथा ढिलाईका कारण पुनः महिला, बालबालिका र वृदवृदाहरु प्रभावित हुन्छन् । यसका साथै सामाजिक अबस्था, बर्चस्व , हैसियत र सिमित जिबिकोपार्जनको बिकल्प पनि ग्रामीण भेगमा बसोबास गर्ने महिला, बालबालिका तथा वृदवृदाको जोखिमको अवस्था वृदि गरेको हो । विपद् तथा लैङ्गिक तथ्याङ्क अनुसार विपद्को समयमा बच्ने, पुनः स्वास्थ्य लाभ गर्ने र विपद् पश्चात पुर्नस्थापनाको सम्भावना महिला र बालबालिकामा न्यून पाईएको छ । पछिल्लो सन् २०१५ को भुकम्पले ३,२७,००० महिला नेतृत्व घर (कुल घरसङ्ख्या २६.५५), ४०,००० महिला तथा शारिरीक अपाङ्गता भएका किशोरीहरुका साथै ६५ वर्ष भन्दा माथिका १,६३,००० वृद महिलाहरुलाई प्रभावित तुल्याएको थियो । भुकम्पमा परि मृत्यु हुनेको सङख्या महिला तथा किशोरीहरुको उच्च रहेको थियो जसको मुख्य कारण घरायसी कामकाजमा महिलालाई प्रमुख जिम्मेवारी दिईनु तथा बैदेशिक रोजगारमा पुरुषको प्रधानता हुनु मुख्य थियो। यी उदाहरणहरुले विपद्को समयमा र त्यसपछिको समयमा पनि महिला र बालबालिकाहरु बढी जोखिममा रहेको प्रष्ट पार्दछ ।


महिलाहरुलाई परिवार तथा समाजबाट सहयोग तथा आर्थिक सहायतामा कमी देखिएको छ । पुँजी तथा कारोबारमा पनि महिलाको पहुँच कम अथवा शून्य अवश्थामा छ चाहे वित्तिय कारोबार होस् या स्रोत साधन, मानवीय सीप बिकास अथवा शारिरीक तथा अन्य सामाजिक कार्यको तालिम । पौडिन नजान्नु तथा परम्परागत भेषभुषा विपद् नियन्त्रण मैत्री नहुनुले पनि समस्याको गरेको छ। विपद् जोखिम नियन्त्रणले प्रायः आवश्यकता क्षमता र प्राथमिकताबारे महिला र सिमान्कृत लिङ्ग समुहको सिमिततालाई सम्बोधन गर्न नसकेको पाईएको छ । महिला, वृदवृदा, अपाङ्ग, तेस्रोलिङ्गी, विधवा, एकल महिला र सिमान्कृत वर्गहरुलाई महत्वपुर्ण तालिम र चेतनामूलक कार्यक्रममा सहभागी नगराउँदा विपद्को समयमा हुने जोखिम पश्चातको पुर्नस्थापना लगायतका कार्यमा उनीहरुले गर्नुपर्ने र गर्नसक्ने अभ्यासबारे उनिहरुमा कम भएको देखाएको छ ।


विपद् ब्यबस्थापन, स्रोत परिचालन सम्बन्धी निकायबीचहरुको सहकार्यको अभाव, स्पस्ट कार्य निर्धारणको कमी, प्राकृतिक मानव संसोधनको कमी, विपद् पश्चातको अवस्था नियन्त्रणका लागि आवश्यक आधुनिक उपकरण तथा प्रबिधिको अभाव आदिका कारणले विपत्तिपछिको समस्यासँग जुध्न बाधा र्पुयाएको छ । जसमा भौगिलिक कठिनाई त पहिलेदेखि नै रहि आएको हो । नेपालको सन्दर्भमा लैङ्गिक समानताका आधारमा सामूहिक प्रयासबाट जोखिम न्युनिकरण, विपद् व्यबस्थापनको शीघ्र उद्दार र प्रभावकारी पुर्नस्थापना योजनाहरु कार्यन्वयन गर्नुपर्ने देखिन्छ । जोखिम व्यबस्थापन, जोखिम न्युनिकरण र समग्र बिकासकै क्षमता बृदि गर्न महिला, बालबालिका, वृदवृदा, गरिब तथा सिमान्कृत समुदायहरुलाई प्राथमिकताका साथ राख्नुपर्ने आजको आवश्यकता देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

web
analytics