गौरीशंकर संरक्षण क्षेत्रमा भेटियो सातवटा संरक्षित वन्यजन्तुहरु

A+ A-


गौरीशंकर संरक्षण क्षेत्रमा चालु आर्थिक वर्ष २०७६/०७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत हिमाली क्षेत्रको जैविक विविधता अध्ययनको लागि संचालन गरेको क्यामेरा ट्रापिङबाट प्रत्यक्ष सातवटा संरक्षित वन्यजन्तुहरु भेटिएको छ ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को अनुसूची १ मा रहेका २७ प्रजातिमध्ये ७ प्रजातिहरु यस अनुसन्धानको क्रममा फेला परेका छन् ।सातवटा संरक्षित वन्यजन्तुहरु रोल्वालिङ उपत्यकाका बिभिन्न १२ स्थानमा बुसनेल ट्रोफि क्याम नामक इन्फ्रारेड क्यामरा राखी गरिएको यो अनुसन्धानका क्रममा भेटिएको हो ।



क्यामेरा ट्र्यापिङको क्रममा हिउँ चितुवा, कस्तुरीमृग, चरिबाघ, डाँफे, मुनाल जस्ता संरक्षित वन्यजन्तु फेला परेकोमा रोल्वालिङ उपत्यकामा पहिलोपटक ब्वाँसो तथा रेडपाण्डाको तस्वीर क्यामेराट्र्याप बिधिबाट खिचिएको छ ।



स्थानीय बासिन्दाहरुका अनुसार बिगतमा ब्वाँसो प्रसस्त पाईने भएता पनि पछिल्लो समय ब्वाँसो देखिएको थिएन । उल्लिखित वन्यजन्तुहरु नेपालका उच्च हिमाली संरक्षित क्षेत्रहरुको अलावा आसपासका क्षेत्रहरुमा समेत पाईने तथ्य विगतमा गरिएका अनुसन्धानबाट देखिन्छ । यस संरक्षण क्षेत्रमा व्वाँसो तथा रेडपाण्डाको तस्वीर पहिलो पटक (यस बिधिबाट) खिचिएको थियो ।



आगामी दिनहरुमा समेत वन्यजन्तुहरुको विचरण, आनिबानी तथा मानव वन्यजन्तु द्वन्दको अवश्थाबारे विस्तृतरुपमा अध्ययन अनुसन्धान गर्ने योजना आयोजनाको रहेको छ ।यसको अतिरिक्त यस क्षेत्रमा रातो फ्याउरो, झारल, घोरल, थार, मलसाप्रो, पितोदर मलसाप्रो, समेत १५ विभिन्न प्रजातिका स्तनधारी जनावरहरु भेटिएको थियो भने डाँफे, मुनाल (अवलोकन), चिलिमे, हिउँ कुखुरा, हाडफोर समेत १२ प्रजातिका चराहरु समेत क्यामेरामा कैद भएका थिए । स्वचालित क्यामेराहरु ३७४२ मी. देखि ५०९१ मी. सम्मको उचाईमा २०७६ साल जेठ देखी २०७६ कार्तिक महिनासम्म परिचालन गरिएको थियो । रोल्वालिङ उपत्यकामा संचालित क्यामेरा ट्र्यापिङबाट सो उपत्यकाकोे प्रसिद्ध च्छो–रोल्पा हिमताल क्षेत्रमा हिउँचितुवा रहेको प्रमाण फेला परेको छ । स्वचालितरुपमा चल्ने क्यामेराले रोल्वालिङ क्षेत्रमा २०७६ असार १५ गते, भाद्र २२ गते र भाद्र २६ गते गरि ३ पटक वयस्क हिउँ चितुवाको तस्वीर खिचेको छ । अनुगमनको क्रममा च्छो–रोल्पा, दुधकुण्ड र येलुङ क्षेत्रमा ब्वाँसो समेत फेला पारेको छ । यसैगरि नागाउँ क्षेत्रमा कस्तुरीमृग र बेदिङ–गो टाकुरा क्षेत्रमा रेडपाण्डा पनि फेला पारेको छ । संरक्षित पंक्षीमध्ये राष्ट्रिय पंक्षी डाँफे गौरीशंकर बेकक्याम्प र बेदिङ–गो क्षेत्रमा फेला परेको छ । यस क्रममा समुद्री सतहबाट ४५३६ मिटर माथि हिउँ चितुवाको ३ पटक खिचिएको हो । यसै गरि ३ स्थानमा हिमाली ब्वाँसो परेको छ । शिकारी प्रजातिमा रातो फ्याउरो सर्वाधिक २३ पटक खिचिएको छ भने मलसाप्रो, लेकाली मलसाप्रो, पितोदर मलसाँप्रो र सानो विरालोजस्तो देखिने जनावर समेतका मांसाहारी जनावरहरु ६७ पटक फेला परेका थिए । यसैगरि रेडपाण्डा १ पटक, कस्तुरीमृग १ पटक, डाँफे १४ पटक, थार ३ पटक, झारल १ पटक, घोरल ४ पटक, लिँडेमुसा ७५ पटक, चिलिमे २८ पटक, चौरी ६६ पटक, हिउँ कुखुरा २६ पटक समेत कूल २३२ पटक आहारा प्रजातिका जीवजन्तुहरु फेला परेका छन् । फोटोको गुणस्तर तथा शरिरका केही अंगमात्र देखिएका आधारमा प्रजाति छुट्याउन नसकिएका चराहरुको ३३ पटक तथा स्तनधारी जनावरहरुको १२ पटक फोटो खिचिएको छ भने २ पटक मानिसको आवतजावत रेकर्ड भएको छ । हिउँचितुवा च्छोरोल्पा हिमतालको नजिक पहाडको फेदीमा राखिएको र चौरीहरुले नियमितरुपमा प्रयोग गर्ने बाटोमा फेला परेको थियो । यो क्षेत्र दक्षिण पश्चिम मोहडामा ढुङ्ग्यान र डाले चुक, सुनपाती, धुपीको बुट््यान क्षेत्र रहेको थियो । हिउँ चितुवा फेला परेको स्थानमा चौंरीहरु प्रसस्त आवत जावत गरेका तथा ब्वाँसो, फ्याउरो, लिँडेमुसा जस्ता जनावरहरु समेतको आवत जावत रहेको देखिने गौरीशंकर संरक्षण क्षेत्रले जनाएको छ। त्यसैगरि ब्वाँसो च्छोरोल्पा (४५३६ मी.), यालुङ (४९५६ मी.), तथा दुधकुण्डमाथिको क्षेत्र (५०९१ मी.) मा फेला परेको छ । यी क्षेत्रहरुमा चौंरी, हिउँकुखुरा, लिँडेमुसा, फ्याउरो लगायतका जनावरहरुको आवत जावत रहेको देखिन्छ । रेडपाण्डा यस क्षेत्रको लागि सबैभन्दा उच्च भूभाग (४०७२ मी.) मा फेला परेको छ । यस क्षेत्रमा धुपी, सुनपातीको झाडी रहेको र निगालो प्रजाति नभएको झाडीदार क्षेत्रहुँदै हिमालतर्फ उकालो चढिरहेको अवश्थामा फेला परेको छ । कस्तुरीमृग भने मानिसहरुको बस्ती नजिकै चिमाल, धुपी मिश्रित बुट््यान क्षेत्रमा फेला परेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषबाट स्वीकृत “जैविक विविधता अध्ययन अनुसन्धान” शिर्षक अन्तर्गतको यो कार्यक्रम आयोजना प्रमुख सत्यनारायण शाहको निर्देशनमा आयोजनाकै संरक्षण अधिकृत बिष्णु प्रसाद पाण्डेको नेतृत्व तथा प्राकृतिक श्रोत संरक्षण सहायक शंकरमान थामीको व्यवस्थापनमा सम्पन्न गरिएको छ । दोलखाको प्रमुख पर्यटकीयस्थल रोल्वालिङ उपत्यका वन्यजन्तु, प्राकृतिक झरना, हिमनदी, हिमताल तथा पर्वतारोहणको अभ्यासको लागि प्रसिद्द रहेको छ । बौद्य धर्मावलम्बीहरुको बसोबास रहेको यो उपत्यकामा मांशजन्य पदार्थको उत्पादन (शिकार तथा बली), बिक्रिबितरण तथा उपभोग गर्न पूर्णतः बन्देज रहेको हुनाले यो क्षेत्र वन्यजन्तु संरक्षणको लागि अनुकुल देखिन्छ । छेतछेत झरना देखि च्छोरोल्पासम्मको पदमार्गमा विभिन्न स्थानहरुमा हिमाली कालोभालु, आसामी बाँदर, डाँफे, झारल, घोरल, लंगुर तथा कहिलेकाहीँ रेडपाण्डा समेत अवलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

web
analytics