नेपालको बाघको दुईहजार पाँच सय मिटरको यात्रा

नेपालमा पहिलो पटक २ हजार ५ सय मिटरको उचाईमा बाघले यात्रा ग।रेको पाहिएकोे छ । डडेलधुराको महाभारत क्षेत्रमा राखिएको क्यामेरामा वयस्क पाटे बाघ २ हजार ५ सय मिटरको उचाईमा कैद भएको हो।

डडेलधुरा सदरमुकाम भन्दा पश्चिम र महाकाली नदी भन्दा पूर्व तर्फको महाभारत रेन्जको भागेश्वर करिडोरमा बाघको तस्वीर कैद भएको डिभिजन वन कार्यालय डडेलधुराले जनाएको छ ।

तराई र उष्णप्रदेशीय हावापानीमा मात्र पाइने पाटे बाघ यो उचाईमा पाइएको नेपालको इतिहासमा पहिलो भएको डिभिजन वन कार्यालय डडेलधुराका वन अधिकृत विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

सो बाघ भाले वा पोथी भनेर पहिचान भइनसकेको र क्यामेरा ट्यापिङमा परेका अन्य ३० भन्दा बढी जिवजन्तुबारे विस्तृत विश्लेषण गर्न बाँकी रहेको आचार्यले बताए ।

विश्व वन्यजन्तु कोष नेपालको आर्थिक एवं प्राबिधिक सहयोग र डिभिजन वन कार्यालय डडेल्धुराको पहलमा गत ६ मार्चदेखि ६ अप्रिलसम्म डडेलधुराको महाभारत वन क्षेत्रमा ३२ जोडी क्यामेरा जडान गरिएको थियो । डडेलधुरामा फेला परेको बाघ शिकार र जोडी खोज्ने क्रममा कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज वा भारतको उत्तराखण्डको नन्दुर वन्यजन्तु आरक्षबाट आएको हुन सक्ने विज्ञहरुको अनुमान छ ।

महाभारत वन क्षेत्रलाई कसरी संरक्षण गर्दै अगाडी बढाउन सकिन्छ भन्ने महत्वपूर्ण बिषयमा गम्भीरतापुर्वक सोच्न र लाग्न सुदुर पश्चिम प्रदेश सरकार, वन तथा वातावरण मन्त्रालय, जिल्ला समन्वय समिति, स्थानिय सरकार, डडेल्धुराका राजनीतिक दल, नागरिक समाज, संचारकर्मी, सामुदायिक वन उपभोक्ता महासंघ, सामुदायिक बन उपभोक्ता समूहहरु र वाताबरण प्रेमीहरुलाई डिभिजन बन कार्यालय डडेल्धुरा अनुरोध गरेको छ ।

पछिल्लो गणना अनुसार नेपालका प्राकृतिक बासस्थानमा २ सय ३५ वयस्क बाघ फेला परेका थिए । सो गणनामा चितवनमा सबैभन्दा धेरै ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा वयस्क बाघ रहेको छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics