नेपालमा बाघको संख्या २ सय ३५ पुग्यो



नेपालमा बाघको संख्या वृद्धि भएर २ सय ३५ पुगेको छ ।

वन तथा वातावरण मन्त्रालयले संरक्षण दिवसको अवसरमा आइतबार तथ्यांक जारी गर्दै संरक्षित क्षेत्रमा बाघको संख्या दुई सय ३५ पुगेको जनाएको हो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक एवं प्राविधिक समितिका संयोजक गोपाल प्रकाश भट्टराईका अनुसार  दुई सय ९ पाटे बाघ र २८  डमरू रहेका छन्।

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा १८, चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९३, बाँके  राष्ट्रिय निकुञ्ज क्षेत्रमा २१ , बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा ८७ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा १६ वटा बाघ रहेको पाइएको छ ।

चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका मध्यवर्ती सामुदायिक वन क्षेत्रका २२ हजार वर्ग्किलोमिटर क्षेत्रफलमा बाघको गणना गरिएकोमा भालेभन्दा पोथी बाघको संख्या बढी रहेको पाइएको छ।

बाँके,बर्दिया र पर्सामा बाघको संख्यामा वृद्धि भएको छ भने चितवन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या घटेको छ ।सन् २०१३  मा गरिएको बाघ गणनामा  चितवन राष्ट्रिय निकुञ्जमा १ सय २०, बर्दिया निकुञ्जमा ५०, शुक्लाफाँटामा १७, पर्सा निकुञ्जमा ७ र बाँके निकुञ्जमा ४ वटा गरि नेपालमा बाघको संख्या १ सय ९८ रहेकोे तथ्याङ्क  थियो।

मंसिर ४ गते पर्सा राष्ट्रिय निकुञ्जबाट बाघ गणना सुरु भएको थियो ।बाघको बसोबास रहेका क्षेत्रलाई तीनवटा (चितवन–पर्सा कम्प्लेस, बाँके क्म्प्लेस र शुक्ला–लालझाडी–जोगबुढा कम्प्लेस) मा विभाजन गरी जम्मा एकहजार ८८७ वटा ग्रिड बनाएर एकहजार २०० वटा क्यामरा ‘ट्रयापिङ’  गरेर बाघ गणना गरिएको थियो ।

त्यस्तै बाघ गणनाका लागि चितवन राष्ट्रिय निुकुञ्जका १५ वटा , पर्सा राष्ट्रिय निुकुञ्जका ७ वटा , बाँके र बर्दिया राष्ट्रिय निुकुञ्जका ४ वटा तथा शुक्लाफाँटा राष्ट्रिय निुकुञ्जका ७ वटा हात्ती प्रयोग गरिएको थियो ।

सन् २०१० मा रसियाको सेन्ट पिटस्वर्गमा भएको बाघ पाइने मुलुकका राष्ट्र प्रमुखहरुको सम्मेलनले बाघ संरक्षणमा जोड दिँदै आगामी सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने लक्ष्य राखेका थिए।

बाघको अवैध व्यापारमा नियन्त्रण र नियमन, संरक्षित क्षेत्रमा नियमित गस्ती, सुरक्षा तथा चेकजाँचको काम हुने गरेको छ भने जासुसी कुकुरको पनि प्रयोग गरिँदै आएको छ ।

बासस्थानामा ह्रास हुने, खण्डिकरण र क्षयीकरण हुने, क्षेत्रफल घट्ने, गैरकानुनी कार्य हुने, मानव—बाघ द्वन्द्व सिर्जना हुने, विभिन्न रोगको प्रकोप हुने, जनचेतनामा कमी र जलवायु परिवर्तनलगायतका कारणले बाघको संरक्षणमा ठूलो चुनौती थपिएको छ ।

नेपालसहित विश्वका १३ मुलुकमा बाघ पाइन्छ । बाघको बाँदर, मृग र बँदेललगायतको वन्यजन्तु आहार हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics