कोसी टप्पुमा पानी चराको गणना शुरु
- नेचर खबर
चरा र अर्नाका लागि प्रसिद्ध मानिने कोसी टप्पु वन्यजन्तु आरक्षको सीमसार क्षेत्रमा पाइने जलपक्षीको गणना शुरु भएको छ ।
सीमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाउन कोसी टप्पु र यस आसपासका इलाकामा जलपक्षीको गणना शुरु भएको कोसी पक्षी समाज प्रकाशपुर सुनसरीका संयोजक अनिश तिम्सिनालले जानकारी दिए ।
कोसी पक्षी समाज, हिमाली प्रकृति, नेपाल पक्षीविद् सङ्घ र कोशी टप्पु वन्यजन्तु आरक्षको अगुवाइमा पानी चराको गणना शुरु भएको हो । प्रत्येक वर्षको अङ्ग्रेजी महीना जनवरीमा गर्ने पानी चरा गणनामा शनिबार पहिलो दिन चतराको सप्तकोसी नदीदेखि कोसी टप्पु वन्यजन्तु आरक्षको उत्तरी सिमाना प्रकाशपुरसम्म गणना गर्ने उनले बताए ।
चराको वास्तविक अवस्था पत्ता लगाई यसको संरक्षणका लागि आगामी रणनीति तयार गर्न सरकारलाई सहयोग गराउने उद्देश्यले चराको गणना शुरु गरेको कोसी पक्षी समाजका सहसचिव सञ्जीव आचार्यले जानकारी दिए ।
सुनसरीको चतराबाट शुरु गरिएको चरा गणना कोसी टप्पु आसपासका क्षेत्रमा पाँच दिनसम्म चल्ने बताइएको छ ।
कोसी टप्पुमा पछिल्लो तथ्याङ्कअनुसार ५२६ प्रजातिको चरा रहेकामा सन् २०१८ मा गरिएको गणनाअनुसार ५६ प्रजातिका पानी चरा पाइएको गणना टोलीका संंयोजक तिम्सिनाले बताए ।
प्रतिक्रिया दिनुहोस