इटहरीमा अर्ना ब्राण्डिङ
- नेचर खबर
इटहरीमा होटेल व्यवसायी सङ्घले अर्नाको ब्राण्डिङ गरेका छन् ।
अर्नाको थप प्रचारप्रसार गर्ने उद्देश्यले पर्यटन क्षेत्रसँग आबद्ध संस्था होटेल व्यवसायी सङ्घले इटहरीले एक कार्यक्रमको आयोजना गर्ने भएको हो ।
मंगलबजार इटहरीको बरण्डा होटेलमा पत्रकार सम्मेलनमार्फत माघ २४ गतेदेखि सुरु हुने इटहरी फुड फेस्टिबलमा मुख्य आकर्षण मध्येको एक आकर्षण अर्नाको प्रतिमा राख्न लागिएको जानकारी दिइएको छ ।
संस्थाका अध्यक्ष जीवन पराजुलीले लोप हुने अवस्थामा रहेको अर्नाको उचित प्रचारप्रसार नभएको हुँदा पर्यटन आबद्ध संस्थाले अर्नाकै उचाइअनुसारको दुरुस्त मूर्ति बनाउन कलाकारलाई जिम्मा दिइएको जानकारी दिए ।यसले अर्नाबारे थप जानकारी दिने र नदेखेकालाई जानकारी मिल्ने पराजुलीले उल्लेख गरे ।
चितवनमा गैँडाको व्यापक प्रचारले गैँडा हेर्न मात्र दिनहुँ हजारौँ व्यक्ति आउने हुँदा सुनसरीमा मात्र पाइने अर्नालाई थप प्रचार गर्न आवश्यक रहेको उनले तर्क गरे ।
आयोजकका अनुसार कार्यक्रम स्थलमा २ वटा अर्नाको प्रतिमा राखिने छ । जहाँ आगन्तुकले सहज तरिकाले अर्नासँग सेल्फी लिन सक्नेछन् भने अर्नाबारे राखिएका महत्त्वपूर्ण जानकारीमूलक सामग्रीको अध्ययन गर्नेछन् ।
दुर्लभ वन्यजन्तुमा पर्ने अर्ना नेपालमा कोसी टप्पु वन्यजन्तु आरक्षमा मात्र पाइन्छ । लोप हुने खतरामा रहेको यही अर्ना हेर्न विश्वका पर्यटक कोसी टप्पु पुग्ने गर्छन् ।
प्रतिक्रिया दिनुहोस