बाघको व्यापार : वन मन्त्रीको प्रतिगामी प्रस्ताव



काठमाडौं – बाघको गर्जन आवाज मात्र होइन । यो प्रकृतिको महिमा र सहनशीलताको प्रमाण हो । तर, गत साता वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोले अति लोपोन्मुख बाघका लागि धनी विदेशीलाई शिकार लाइसेन्स बेच्ने प्रस्ताव गरेपछि यो गर्जनलाई सदाका लागि मौन बनाउने खतरा भएको भन्दै विरोध भइरहेको छ ।

जंगलमा ३५०० भन्दा कम बाघहरू बाँकी हुँदा, प्रत्येक व्यक्तिले यसको संरक्षणको दौडामा लाग्नुको सट्टा यसलाई सिकार गरी सिध्याउने कुरा कुनै पनि रूपमा जायज मान्न सकिदैन । मन्त्रीले छोटो अवधिमा धेरै राजस्व उठाउने अभिव्यक्ति कुनै पनि दृष्टिकोणमा वैज्ञानिक र ज्ञानी मान्न सकिदैन । उनका तर्कहरू बाघको जनसंख्या नियन्त्रण गर्ने र आर्थिक लाभ प्राप्त गर्नेमा केन्द्रित थिए । यसले विश्वव्यापी बाघ संरक्षणको सूक्ष्म र बहुआयामिक पक्ष तथा यसमा नेपालले दशकौंदेखि गरेको मेहनत र सफलतालाई हावामा उडाइदिन्छ ।

एक दशकअघि नेपालमा बाघको संख्या चिन्ताजनक (१२१ मात्रै) थियो । तर सरकार, गैरसरकारी संस्था, नागरिक, स्थानीय बासिन्दा तथा सरोकारवालाहरूको एकजुट प्रयासले २०२३ सम्म आइपुग्दा ३५५ पुग्यो । यो सफलता प्राप्त गर्न सरकार तथा अन्य सरोकारवाला निकाय र खासगरी बाघ पाइने स्थान वरिपरी बस्ने समुदायको त्याग र समर्पणको ठूलो लगानी छ । त्यसैले बाघको शिकार गरी संख्या घटाउने ‘कु’ तर्कले ती स्थानीय बासिन्दाको भावनामा ठूलो चोट पुर्याउँछ । बाघको शिकार गर्ने प्रस्तावले विश्वव्यापी सहयोग र सहकार्यमाथी ठूलो प्रश्न उठेको छ । यसले यसअघि नेपालले गरेको प्रतिबद्धतामाथी पनि विभिन्न प्रश्न जन्माइसकेको छ ।

उदाहरणका लागि, हाम्रो छिमेकी भारतलाई नै हेरौं । तिनीहरूले बाघ संरक्षणको ढाँचा पर्यावरण, पर्यटन र समुदाय केन्द्रित बनाएका छन् । यो वन्यजन्तु र स्थानीय जनता दुवैको लागि दीर्घकालीन पारस्परिक लाभको विषय हो । यो लाभका अगाडी शिकार इजाजतपत्रबाट हुने अस्थायी राजस्व फिक्का हुन्छ । समुदायमा आधारित पर्यटनमा भुटानको सफलता र प्रयत्न पनि उदाहरणका लागि काफी छ ।

यो बाघ संख्या बारेको माात्रै बहस होइन । वन्यजन्तु संरक्षणले रोजगारी सृजना गर्छ । त्यस्तो रोजगारी र आम्दानी दीर्घकालिन हुन्छ । बाघको आफ्नो पारिस्थितिकीय महत्व बाहेक धेरै स्थानीय बासिन्दाको संस्कृतीमाथीको विश्वासमासमेतमा प्रश्न उब्जिन्छ । डिजिटल युगको भरपूर प्रयोग गरेर आम्दानी गर्न सकिन्छ । भर्चुअल वन्यजन्तु भ्रमण र संरक्षण क्राउडफन्डिङ गरी आम्दानी गर्न सकिन्छ । ब्राजिल र इन्डोनेसिया जस्ता देशहरूले यसबाट उल्लेख्य सफलता हात पारेका छन् ।

यसबाहेक बाघ शिकारको प्रस्ताव मन्त्रीले गरिरहदा ठूलो र बृहत अन्तर्राष्ट्रिय समुदायको चिन्ता र चासो छ । नेपालले हस्ताक्षर गरेको साइटिस महासन्धीलाई बेवास्ता गर्दा राष्ट्रको विश्वव्यापी हैसियत धमिलो हुन्छ । लोपोन्मुख प्रजातिको व्यापारलाई रोक्नको लागि यो महासन्धिले संरक्षणको लागि विश्वव्यापी प्रतिबद्धतालाई जोड दिन्छ । जसको नेपाल पक्ष राष्ट्समेत हो ।



संरक्षणको सार भनेको संरक्षण मात्र होइन, सम्मान र सहअस्तित्व पनि हो । विश्वव्यापी समुदायहरूले समग्र वातावरणीय कारणहरूको लागि जुलुस र आन्दोलन गरिरहेको युगमा, नेपालको बहुमूल्य बाघहरूको शिकार गर्ने प्रस्ताव प्रतिगामी छ । नेपालसँग बाघसँग जोडेर प्राप्त गर्न सक्ने धरै सुनौला अवसर छन् । यसले विश्वव्यापी सहकार्य, पर्यापर्यटन, र अनुसन्धानलाई स्वागत गर्दै संरक्षणका सफलतामार्फत पूँजीकरण गर्न सकिन्छ । बाघको एउटा गर्जन संसारका लागि सद्भाव, अस्तित्व र आशाको ठूलो आवाज बन्छ । बाघले पारिस्थितीकीय वातावरणलाई व्यवस्थित गर्छ । तिनीहरूको उपस्थितिले जैवविविधता र वनको स्वास्थ्यको सकारात्मक सन्देश दिन्छ ।

त्यसैले शिकार प्रस्तावले नेपालको छविमा पर्ने दीर्घकालीन क्षति अपूरणीय हुनेछ । त्यसैले आफ्नो प्राकृतिक सम्पदाहरूलाई वस्तुगत बनाउनुको सट्टा संरक्षण गर्नुपर्छ भन्ने भावनाको विकास गर्न जरुरी छ । मन्त्रीको प्रस्ताव अनैतिक छ भन्नका लागि धेरै उदाहरण छन् । वातावरणीय र पशु अधिकारमाथी विश्वव्यापी बहस चलिरहेकाबेला अन्तर्राष्टिय मञ्चमा पनि यसको समर्थन हुनेछैन ।

त्यसैले यस्ता बकम्फसे प्र्रस्ताव र छलफलका बीचमा हामीले नेपाली जनता र बाघबीचको गहिरो सांस्कृतिक र आध्यात्मिक सम्बन्धलाई बिर्सनु हुँदैन । उनीहरूलाई लोककथामा सम्मान गरिन्छ, चाडपर्वहरूमा मनाइन्छ, र आदिवासी समुदायहरूले गहिरो सम्मानमा राख्छन् । संक्षेपमा, बाघको अस्तित्व नेपालको पहिचानसँग पनि जोडिएको छ । नेपालको विश्वव्यापी छवि शिकारी होइन, संरक्षकको रूपमा राख्नुपर्छ ।

यसबाहेक, नेपालजस्ता देशले बाघको शिकार गर्ने जस्ता छलफलले अवैध गतिविधिहरूलाई प्रोत्साहन गर्छ । बाघको व्यापारीकरण गरी शिकारीहरूलाई बाघको शिकारमा नयाँ माग र उच्च मूल्य भएको संकेत गर्छ । इजाजतपत्र प्राप्त शिकारको आडमा तस्करी, चोरी सिकारी फस्टाउछ । त्यसैले मन्त्री महतोले जुनसुकै बिचार, योजना वा भावमा र भाष्यमा बाघ सिकारको प्रस्ताव गरेपनि यो प्रतिगामी, अनैतिक, अश्वभाविक, संरक्षण सिद्धान्त र जनताको भावना विपरितको अभिव्यक्ति हो । जसले नेपाललाई अन्तर्राष्टिय समुदायबाट अलग्याउँछ ।

पिताम्बर सिग्देल

प्रतिक्रिया दिनुहोस

web
analytics