वनलाई जनताको समृद्धिसँग जोड्नेगरी काम गर्नेछौं : नवनियुक्त वन मन्त्री शाही

काठमाडौं - नवनियुक्त वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन क्षेत्रलाई जनताको जीविकोपार्जन र मुलुकको समृद्धिसँग जोड्नेगरी काम गर्ने बताएका छन् । आज सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गर्नुहुँदै उनले वन तथा वनस्पतिको संरक्षणसँगै यसलाई जनताको जीविकोपार्जनसँग पनि जोड्न आवश्यक रहेकामा जोड दिए । मन्त्री शाहीले मन्त्रालयसँग सम्बन्धित कामलाई परिणाममुखी बनाउनेगरी काम गर्न कर्मचारीलाई निर्देशन दिए ।

उनले जलवायु परिवर्तनले नेपालमा पारेको असरलाई अन्तर्राष्ट्रीयकरण गर्न सक्दो प्रयास गर्ने बताए । जैविक विविधतालाई संरक्षण गर्दै पर्या–पर्यटनको विकासमा योगदान पुग्नेगरी काम गर्ने उनको प्रतिबद्धता थियो । मन्त्री शाहीले नियमकानुनले मिल्नेबाहेकका काममा आफूले कुनै दबाब नदिने तर कानुनअनुसार कर्मचारीले कुनै आनाकानी नगरी परिणाममुखी काम गर्नुपर्ने उल्लेख गरे । उनले वनलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधार बनाउनेगरी योजना बनाइने बताए ।

कार्यक्रममा मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले मन्त्री शाहीलाई स्वागत गर्दै आफ्ना धारणा राख्नुभएको थियो भने मन्त्रालयका प्रवक्ता एवं सहसचिव बद्रीराज ढुङ्गानाले मन्त्रालय र मन्त्रालय मातहतका निकायबारे जानकारी गराएका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics