‘भर्जिन पर्यटकीय क्षेत्र’ ताप्लेजुङको तोक्पेगोला

महोत्सव विषेश

ताप्लेजुङ – पर्यटकीय क्षेत्रहरूको राजधानी नै मानिने ताप्लेजुङमा दर्जनौं पर्यटकीय क्षेत्र अझै अभेलमै छन् । जहाँको नाम धेरैले थाहा पाए पनि महत्त्व कमैलाई थाहा छ । यस्तै एक क्षेत्रमा पर्छ तोक्पेगोला । यसको प्रचार र विकासका लागि साउन २५ देखि २८ सम्म पर्यटन तथा चौंरी महोत्सवको आयोजना हुँदैछ । जसका लागि सो स्थानमा पर्यटक पुग्न थालेका छन् ।

जाति र ठाउँको नाम हो, तोक्पेगोला । मिक्वाखोला–५ पापुङमा पर्छ यो ठाउँ । समुद्र सतहदेखि चार हजार १०० मिटर उचाइमा पर्छ तोक्पेगोला । उक्त बस्तीमा ढोक्प्या जातिका करिब १७ घर छन् ।

स्थानीय ढोक्प्या जाति भनिए पनि सिमान्तकृत समूहमा तोक्पेगोला भनि सूचीकृत गरिएको छ । झुरुप्प घर । काठले छाएको छानो । भोटे झ्याल । टाढाबाट देख्नेबित्तिकै लाग्छ कि यो ठाउँ उत्सव स्थल पो हो कि ! किनकी घरैपिच्छे खम्बामा गाडिएका मन्त्रयुक्त ध्वजापताका फरफराउँदा थकित शरीरले शीतलता महसुस गर्छ । गुम्बा र मन्दिरले पौराणिक तथा ऐतिहासिक महत्व झल्काउँछ । हिमाली ठाउँ भएकाले आफैँमा सुन्दर त हुने नै भयो ।

अग्लो चट्टान छिचोलेर बग्ने झरनाको काखको बस्तीबाट वरपरका भिर र चट्टानमा मानव तथा जनावरका आकृतिका देखिन्छन् । पूर्वपट्टिको अग्लो भिरबाट झर्ने झरनाको दृश्य साँच्चिकै लोभलाग्दो छ । झरनाबाट दूध रङको छङ्छङ झर्ने पानीको दृश्य र आवाजले जोकोहीलाई आनन्दित तुल्याउँछ ।

वरिपरिका चउरमा फुलेका रङ्गीचङ्गी फूलले सुनमा सुगन्ध थपिए झैँ बस्तीको सुन्दरता अझ बढाइदिएको छ । महिनैपिच्छे रङ फेर्नु र छिनछिनमा मौसम बदलिरहनु तोकक्पेगोलाको बस्तीको विशेषता हो । कहिले पहेंलो फूलले पहेंलपुर बन्छ ।

कहिले निलो, रातो र हरियो फूलको सौन्दर्यले अचम्मित बनाउँछ । कहिले सबै फूल सुकेर मरुभूमि जस्तो देखिन्छ । बस्ती क्षेत्र सिजनमा हरियो घाँसे मैदानमा परिणत हुन्छ । एकै छिनमा डाँडाकाँडा र बस्ती बाक्लो कुहिरोले छोपी दिन्छ । कुनै दुलहीले लजाउँदै घुम्टो खोलेको जस्तौ मौसम उघ्रिदिन्छ ।

गाउँमा दुःख बिराम नहोस्, अशान्ति नसहोस्, सधैँ सुख शान्ति होस् भनेर प्रत्येक वर्ष लामा बोलाएर पूजापाठ गर्ने गरेको मिक्वाखोला –५ का ग्याञ्जे शेर्पाले बताए ।

भोटे भाषामा ‘लू’ भनिने रहेछ । प्रत्येक घरले पालोपालो गरेर प्रत्येक वर्ष ‘लू’ खेदाउने गरेको उनले बताए । शेर्पाका अनुसार तीन दिनसम्म लामाले मन्त्र जप गरेर अन्तिम दिनरात परेपछि गाउँका सबै भएर थाल बजाउँदै लू अर्थात् भूत खेदाउने गर्दछन् ।

बस्तीमा आउँने बाटो सबैमा मन्त्र जपेको विभिन्न मूर्तिहरुले बाटो बन्द गर्दछन् । लू देखाउने समयमा बस्तीमा अन्य मान्छे आवतजावत गर्नु हुँदैन भन्ने जनविश्वास रहिआएको स्थानीयको भनाइ छ । लू खेदाउने समयमा बस्तीमा मान्छे आवतजावत गरियो भने बिरामी हुने । मृत्युसमेत हुनसक्ने स्थानीयको जनविश्वास रहेको तोक्पेगोलाका स्थानीय पासाङ भुटी शेर्पाले बताए ।

यहाँ पुग्न बर्खामा घामपानीको लुकामारी छिचोल्नै पर्छ । हिउँदमा कठ्याग्रिँदो जाडो । जुन समयमा पुगे पनि गलेर शिथिल बनेको शरीरमा फुर्ती बढ्छ । तोक्पेगोला क्षेत्रमा दर्जनौँ तालतलैया रहेका छन् । सोदो पोखरी, भूत पोखरी, तीन पोखरी, थाङ्ला पोखरी, साजु पोखरी र पाथीभरा पोखरी इत्यादि ।

डाँडाकाँडा, पाखा, पखेरा, छाँगा, वन जङ्गल, जडीबुटीले यो क्षेत्र सजिएको छ । बस्तीदेखि तीन सय मिटर दूरीमा छ, सोदोपोखरी । नागपञ्चमीका दिन पूजा हुन्छ । यहाँ आउन चाहनेको एउटै लक्ष्य हुन्छ, तोक्पेगोला र सोदोपोखरी अवलोकन गर्ने ।

स्थानीय मिलन दोर्जे शेर्पाका अनुसार यहाँका बासिन्दाको मुख्य पेसा पशुपालन हो । गाई, याक तथा चौँरी पालेर जीवनयापन चल्छ । बिहान छाड्दा र गोधुली साँझमा फर्कंदा याक तथा चौँरीको घाँटीमा झुन्ड्याइएको घन्टीको कुन्डुङकुन्डुङ आवाजले मन प्रफुल्ल बन्छ ।

चीनको तिब्बतसँग सीमा जोडिएको छ यो ठाउँ । तिब्बतको रिउ बजार पुग्न दुई दिन पैदल हिँड्नुपर्छ । चामलबाहेक दैनिक उपभोग्य सामग्री तिब्बतबाट ल्याउने गरेको थियो तर चार वर्षदेखि नाकाबन्द भएको छ । लामो समयसम्म नाका नखुल्दा व्यापार व्यवसाय ठप्प भएको तोक्पेगोलाका स्थानीय तेञ्जिङ शेर्पाले बताए ।

यस क्षेत्रमा आवश्यक सामग्री याकमार्फत् ढुवानी गर्छन् । याकलाई ‘हिमाली ट्रक’ पनि भनिन्छ । तोक्पेगोलामा आठ महिनामात्र मान्छे बस्छन् । जाडो र हिउँ छल्न घरपालुवा जनावरसँगै पापुङमा झर्छन् ।

प्रायः सबैको पापुङमा घर छ । कात्तिकदेखि माघसम्म हिउँ पर्ने र जाडो अधिक हुने भएकाले बस्ती अर्थात् बेंसी झर्छन् । तोक्पेगोला क्षेत्रमा जडीबुटी पनि आम्दानीको स्रोत हो । तोक्पेगोला पुगेर फर्कने भन्छन्, ‘भर्जिन पर्यटकीय क्षेत्र ।’

कसरी पुगिन्छ ?

सदरमुकामदेखि गाडीमा दोभान–नाल्बु–पापुङसम्म गाडी चल्छ । अर्को दिन हिँडेर तोक्पेगोला पुगिन्छ । कच्ची सडक भएकाले गाडीमा घल्च्याकघुल्चुक सहनुपर्छ । सदरमुकामदेखि हिँडेर हान्दु्रङ–खोक्लिङ–लिवाङ–साँवा हुँदै गाडी पुग्ने ठाउँ पापुङ पुगिन्छ ।

सदरमुकामदेखि गाडी वा हिँडेर जसरी गए पनि तोक्पेगोला पुग्न दुई दिन लाग्छ । दर्जन बढी झोलुङ्गे र काठे पुल तर्नुपर्छ । पापुङ बस्ती छाडेपछि तोक्पेगोला नपुगेसम्म बस्ती छैन । ठाउँठाउँमा भेटिएका गाईगोठ नै होटल हो । पर्यटको चहलपहल हुन थालेसँगै तोक्पेगोलामा भने होटल तथा घरबास (होमस्टे) खुल्नेक्रम सुरु भएको छ ।

के – के हुन्छ महोत्सवमा ?

यसपटक हुने महोत्सवमा महोत्सवमा भलिवल प्रतियोगिता, हाल्फ म्याराथन प्रतियोगिता, पारास्यो खेल लगायतका प्रतियोगिताहरू सञ्चालन गरिने बताइएको छ ।

खेलकुदको माद्यमबाट पर्यटीय क्षेत्रको प्रचार गर्न आयोजना गरिएको महोत्सव सम्पन्न गर्न कुल ३० लाख रुपैयाँ लागत लाग्ने आयोजकको अनुमान रहेको छ ।

यस्तै महोत्सवमा खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियागिता समेत सञ्चालन हुदैछ । प्रतियोगिताको विजेतालाई नगद १ लाख ११ हजार १ सय ११ र उपविजेतालाई नगद ७१ हजार १ सय ११ रुपैँया सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने आर्थिक संयोजक प्रताप साँवा लिम्बूले बताए ।

खेलका अन्य विविध विधाका उत्कृष्ट खेलाडीलाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको उहाँको भनाई छ । सहभागी खेलाडीहरुको लागि खाने तथा बस्नका लागि आयोजकले नै प्रबन्ध गरेको बताइएको छ ।

खुल्ला हाल्फ म्याराथन प्रतियोगिताको प्रथमले ३० हजार, दोश्रोले २० हजार र तेश्रोले १० हजार रुपैँया प्राप्त गर्ने बताइएको छ । तोक्पेगोला बस्तिदेखि सुरु गरिने म्याराथन सोदुपोखरीसम्म पुगेर पुन बस्तीमै फर्किने गरिको रुट तय गरिएको छ ।

महोत्सवकै अवसरमा सञ्चालन हुने पारास्यो खेलतर्फको प्रथमलाई १५ हजार र द्धितियलाई १० हजार रुपैयाँको व्यवस्था गरिएको छ । गाडीको माद्यमबाट आधा बाटोसम्म पुग्न सकिने उक्त क्षेत्रका विभिन्न ठाउँहरुमा होटल तथा लजको व्यवस्थापन गरिने आयोजकको तयारी छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics