एआई सम्मेलन गर्दै युवा संघ, ११०० प्रतिनिधि सहभागी हुने
- नेचर खबर
काठमाडौं - सत्तारुढ दल नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल राजनीतिक गतिविधिको साटो प्राविधिक गतिविधिमा लाग्दै ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन गर्ने भएको छ।
संघले कार्तिक ११ र १२ गते हायात प्यालेस सोल्टीमोडमा एआई सम्मेलन आयोजना गर्न लागेको अध्यक्ष क्षितिज थेबेले बताए। सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
एआई सम्मेलनबाट विश्व बजारमा अहिले भइरहेको ‘आर्टिफिसियल इन्टेलिजेन्स’को विकास र उपयोगबारे नेपाली समाजमा जानकारी दिने उद्देश्य रहेको उनले बताए।
सूचना प्रविधिको वर्तमान युग अब ‘आर्टिफिसियल इन्टेलिजेन्स’मा पुगिसकेको बताउँदै यसबाट नेपाली समाजमा पर्न सक्ने प्रभाव र लिन सक्नुपर्ने लाभबारे सम्मेलन केन्द्रित हुने उनको भनाइ छ।
सम्मेलनमा एक हजार जना सहभागी हुने संघका प्रवक्ता निरोज पौडेलले बताए। ५ सयसंघबाट सिफारिस गरेका प्रतिनिधि हुनेछन् भने बाँकी ५ सय कोटा खुल्ला गरिएको छ। खुल्ला कोटामा सबै इच्छुक युवाहरुले फर्म भरी प्रतिनिधि हुनको सक्ने उनले बताए।
एआई सम्मेलनका ५ उद्देश्य
-राष्ट्रिय एआई रणनीति विकासः नेपालका सामाजिक–आर्थिक र प्राविधिक लक्ष्यहरूसँग मेल खाने समग्र राष्ट्रिय एआई नीतिगत ढाँचा तयार गर्ने, जसले एआई नवप्रवर्तन र अपनाउने प्रक्रियालाई प्रवर्द्धन गर्छ।
-नैतिक एआई प्रयोगको प्रवर्द्धन: एआई प्रणालीहरूमा डाटा गोपनीयता, पक्षपात, र पारदर्शितासँग सम्बन्धित चिन्ताहरू सम्बोधन गर्दै जिम्मेवार र नैतिक एआई प्रयोगका लागि मार्ग निर्देशन स्थापित गर्ने।
-सार्वजनिक–निजी साझेदारीको प्रवर्द्धनः एआई अनुसन्धान, विकास, र उद्योग अनुप्रयोगहरूलाई तीव्र बनाउन सरकार, निजी क्षेत्र, शैक्षिक संस्था, र नागरिक समाजबीचको सहकार्यलाई प्रोत्साहित गर्ने।
-एआई शिक्षा र कार्यबल विकासलाई सुदृढ बनाउनेः एआई सम्बन्धित शिक्षा, सीप विकास, र क्षमता अभिवृद्धि पहलहरूलाई प्राथमिकता दिने, जसले एआई प्रविधिसँग संलग्न हुन तयार कार्यबल सुनिश्चित गर्छ।
-समावेशी एआई नीति सुनिश्चित गर्नेः सबै समुदायले एआई को फाइदा समान रूपमा प्राप्त गर्न सकुन् भन्ने नीतिहरूको पक्षमा वकालत गर्ने, विशेष गरी सीमान्तकृत समुदायहरूको लागि विशेष ध्यान राख्दै, र विपद् व्यवस्थापन तथा शिक्षा जस्ता राष्ट्रिय चुनौतीहरूको समाधानमा एआई प्रवर्द्धन गर्ने।
प्रतिक्रिया दिनुहोस