धर्म संस्कृति र प्रकृति जोगाउदै केबलकार बन्छ

-योगेश भट्टराई
ताप्लेजुङमा रहको प्रसिद्ध तीर्थस्थल पाथीभरा देशमा मात्रै नभई विश्वभर चर्चित छ । यहाँ तीर्थयात्रीको चापा बढेसँगै उनीहरूका सहजताका लागि केबलकार निर्माण सुरु भएको छ । संघीय सरकार प्रदेश सरकार र स्थानीय तहबाट कानुनी प्रकृया पुरा गरेर पाथीभरा देवी (मुकुम्लुङ) केबलकार प्रालिले पाथीभरामा केबलकार निर्माणको काम सुरु गरेको हो ।

ताप्लेजुङ जिल्लामा क्रियाशील राजनीतिक दल तथा तीनै तहका जनप्रतिनिधिहरू केबलकार बन्नु पर्छ भन्ने पक्षमा रहेका छन् । केबलकार निर्माणका पक्षले पनि निर्माण कार्य अघि बढाउन थालेपछी यही माघ १२ गते निर्माण स्थलमा अप्रिय घट्ना पुग्यो । यसमा म दुःख व्यक्त गर्छु । जुन हुनुहुन्थेन त्यो भयो ।

पाथीभरा नेपालको प्रसिद्ध धार्मिक तथा सांस्कृतिक क्षेत्र र प्राकृतिक रूपले सुन्दर पर्यटकीय स्थल हो । जहाँ बर्सेनी नेपालका विभिन्न भाग, भारतका सिक्किम, दार्जिलिङ, असाम, पश्चिम बङ्गाल, उत्तरप्रदेश, विहार लगायतका क्षेत्रबाट ठूलो मात्रामा श्रद्धालु दर्शनार्थी आउने गरेका छन् । पाथीभरा क्षेत्र विकास समितले उपलब्ध गराएको तथ्याङ्क अनुसार गतवर्ष करिब ३ लाख तीर्थालु र पर्यटकहरूले पाथीभरा भ्रमण गरेका थिए भने बर्सेनी यो सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि हुँदै गएको छ ।

पाथीभरालाई शक्तिको प्रतीक देविको रूपमा बुझिन्छ । खस, आर्य लिम्बू राई (किराँत) गुरुङ, तामाङ शेर्पा, मगर, नेवार, लगायतका सबै जात र विशेष गरी हिन्दु बौद्ध, र किराँत धर्मावलम्बीहरूले समान रूपले आस्था र विश्वास दर्शाउने साझा स्थल हो पाथीभरा ।

ताप्लेजुङ जिल्लाका आर्थिक समृद्धिको आधार, जलश्रोत, पर्यटन र कृषि हो । तुलनात्मक रूपमा छिटो प्रतिफल दिने क्षेत्र भनेकै पर्यटन हो । ताप्लेजुङ प्रकृति र संस्कृति दुवैमा सम्पन्न छ । त्यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरेर ताप्लेजुङबासीहरूको आर्थिक रूपान्तरणमा उपयोग गर्नुपर्छ भन्ने ताप्लेजुङबासीहरूको साझा धारणा रहेको छ ।

भौगोलिक रूपले विकट ठाउँमा रहेको पाथीभरा सम्म सहज ढङ्गले पुग्न सकियोस् वृद्धवृद्धा बालबालिका तथा अपाङ्गता भएकालाई समेत सहज पहुँच पुगाेस् भन्ने उद्देश्यले केबलकार उपयुक्त विकल्प हुनेम दुईमत छैन । केबलकारको निर्माण र पाथीभराको महिमाको प्रचार प्रसारबाट वर्षमा १० लाख सम्म तिर्थालु र पर्यटकहरू पाथीभरामा पुग्ने अनुमान गरिएको छ । यसबाट ताप्लेजुङबासीको रोजगारी,आर्थिक उपार्जन,स्थानीय उत्पादनको बजारीकरण, व्यवसायीकता विकास हुने र सम्रगतामा ताप्लेजुङको समृद्धिमा सहयोग पुग्ने विश्वास गरिन्छ ।

निर्माण कम्पनीले प्रस्तुत गरेको डीपीआर र राज्यका निकायले स्वीकृत गरेको परियोजना प्रस्ताब तथा वातावणीय प्रभाव मुल्याङकन प्रतिविदेनका आधारमा हेर्दा केबलकारको संचालनले कुनै पनि धर्म संस्कृति र आस्थालाई कमजोर पार्ने देखिदैन । पवित्र कान्छी थान भन्दा केबलकार करिब २ सय मिटरका दुरीमा रहेको छ ।

पाथीभराको मूल मन्दिर भन्दा करिब ८ सय मिटर बाहिर केबलकार स्टेशन निर्माण हुने देखिन्छ । पाथीभराको टुप्पोमा कुनै होटल वा रेष्टुरेन्ट बन्ने छैन र बन्न दिईने छैन । रुख तथा पोल गरेर २११२ कटान हुनेछ । बाहिर प्रचार गरिए जस्तो २५ हजार रुख काटने हल्लामा कुनै सत्यता छैन ।

ताप्लेजुङमा निर्माण हुने केबलकार वा जल विद्युत्त आयोजनाका बारेमा देशका विभिन्न भागमा बसोवास गर्ने महानुभावहरू तथा विदेशमा रहुन भएका नेपाली दिदीबहिनी तथा दाजुभाईले राख्नु भएको चासो र चिन्ताको हामी सम्मान गर्दछौ । र धन्यवाद व्यक्त गर्दै ताप्लेजुङबासीहरूको आम सहमतिमा जिल्लामा गर्नुपर्ने विकास– निर्माण र अन्य कामका बारेमा निर्णय गर्न ताप्लेजुङका नेतृत्व सक्षम रहेको सवैमा निवेदन गर्छु ।

२०८१ माघ १२ गतेको घटना प्रति दुस्ख व्यक्त गर्छु । त्यसक्रममा घाईते भएका प्रहरी निरीक्षक लगायत नेपाल प्रहरी, शसस्त्र प्रहरी बलका जवानहरू तथा नागरिकहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्छु । साथै घाईतेहरूको प्रभावकारी उपचारको प्रबन्ध गर्न नेपाल सरकारसँग माग गर्छु ।

पाथीभरा केबलकार निर्माणको कार्यलाई निर्वाध रूपमा अघि बढाउदै निर्माण कम्पनीले उपलब्ध गराउने सामाजिक उत्तरदायित्व कोष र सरकारले थप बजेटको ब्यवस्था गरी स्थानीय संस्कृतिका जर्गेना र सम्बद्धनका लागि मुकुम्लुङ पार्क तथा संग्राहालय निर्माण साथै धर्म र संस्कृतिको उत्थानका लागि विभिन्न कृयाकलापहरू अघि बढाउन माग गर्छु ।

लोकतन्त्रमा विरोध र असहमति राख्ने अधिकारको म सम्मान गर्छु । त्यो शान्तिपूर्वक र सुसभ्य हुनु पर्छ । समस्याको समाधान बार्ता र संवादको माध्यमबाट गरिनु पर्छ । परिस्थीतिलाई उत्तेजित बनाउने र सामाजिक सद्भाब भडकिने खालका गतिविधिले कसैको हित गर्दैन । यसका लागि आन्दोलनरत पक्षलाई बन्द हडतालका कार्यक्रम फिर्ता लिन, सरकारलाई गिरफतार भएका व्यक्तिहरू रिहा गर्न, घाईतेहरूको उपचारको ब्यवस्था गर्न माग गदै अविलम्ब वार्ता गरी समस्यालाई समाधान गर्न माग गर्छु ।

केबलकार कम्पनीबाट प्राप्त हुने सामाजिक उत्तरदायित्व कोष, राजश्व, स्थानीय कर लगायतका आर्थिक कोष परिचालनका लागि स्थानीय तहको नेतृत्वमा आन्दोलनकारीको समेत प्रतिनिधित्व हुने गरी सर्वपक्षिय समिति निर्माण गर्न उपयुक्त हुनेछ । साथै केबलकार निर्माण सम्बन्धमा अनुगमन गर्न अर्को समिति गठन गरी काम कार्वाहीलाई सहभागीतामूलक तथा पारदर्शी ढंगले अघि बढाउनु पर्छ ।

केबलकार पक्षले ताप्लेजुङका ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक तथा १० वर्षभन्दा मुनिका बालबालिका तथा अपाङ्गहरूका लागि निशुल्क सेवा दिने घोषणा गर्नु पर्छ । प्रभावित क्षेत्रका नागरिकहरूलाई सुलभ शेयरको ब्यवस्था गर्नु पर्छ । रोजगारीको क्षेत्रमा ताप्लेजुङबासीलाई पहिलो प्राथमिकता दिनुपर्छ । केबलकारको शुल्कमा ताप्लेजुङबासीलाई ५० प्रतिशत सहुलिय दिनु पर्छ स्थानीय शिक्षा, स्वास्थ्य र रोजगारीमा कम्पनीले ध्यान दिनुपर्छ ।

पाथीभरा केबलकार निर्माण सम्बन्धमा उत्पन्न समस्यालाई हल गर्न माननीय गृहमन्त्री तथा कोशी प्रदेशका मूख्यमन्त्रीले लिनु भएको तत्परर्ताप्रति धन्यवाद व्यक्त गर्छु । कोशी प्रदेश सरकार र संघीय सरकारले निर्माण गरेका समितिसँग वार्ता गरी समस्याको शान्तिपूर्वक समाधानका लागि आन्दोलनरत पक्षलाई हार्दिक अपिल गर्छु ।

ताप्लेजुङको सम्रग विकासमा एकताबद्ध रूपले अघि बढ्न सबै जनप्रतिनिधि, प्रशासन तथा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरूमा हार्दिक अपिल गर्छु । सामाजिक एकता र सद्भाव कायम राख्दै संयम र धैर्यताका लागि सम्बद्ध सवैमा अपिल गर्छु ।

(भट्टराई एमाले सचिव तथा ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्)

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics