खस्न थाले एलन मस्कका स्टारलिंक उपग्रहहरू, वातावरणमा कस्तो असर पार्ला ?

जनवरी २०२५ मा मात्रै खसे १२० स्टारलिंक उपग्रहहरू

काठमाडौं । स्पेसएक्सका स्टारलिंक उपग्रहहरू नष्ट हुँदै पृथ्वीमा झर्न थालेका छन् । यसले वातावरणमा नकरात्मक प्रभाव पार्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

जनवरी २०२५ मा मात्र १२० उपग्रहहरू जलेर नष्ट भएको विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विज्ञहरूका अनुसार अहिले पहिलो पुस्ताको स्टारलिंक उपग्रहहरू धमाधम झरिरहेका छन् । यसले कृत्रिम उल्का वर्षाको आवृत्तिमा वृद्धि भएको संकेत गरेको छ ।

हार्वर्ड सेन्टर फर एस्ट्रोफिजिक्सका खगोलविद् जोनाथन म्याकडोवेलका अनुसार, लगभग ४ देखि ५ उपग्रहहरू दैनिक झरेर जलिरहेका छन् ।

पुरानो जेन आई स्टारलिंक उपग्रहहरूलाई नयाँ मोडेलहरूले प्रतिस्थापन गर्ने स्पेसएक्सको योजनाको एक भागको रूपमा ४,७०० उपग्रहहरू मध्ये ५०० भन्दा बढी पृथ्वीको वायुमण्डलमा पुनःप्रवेश गरिसकेका छन् ।

जब स्टारलिंक उपग्रहहरू वायुमण्डलमा पुनःप्रवेश गर्छन्, तिनीहरू लगभग २७,००० किमी/घण्टा (१६,८०० माइल प्रति घण्टा) को गतिमा आउँदा तीव्र घर्षणका कारण जलेर नष्ट हुन्छन् । यसले आकाशभरि चम्किला रेखाहरू बनाउँछन् । जुन प्राकृतिक उल्का वर्षा जस्तै देखिन्छन् ।



यस मध्ये केही टुक्राहरू लामो समयसम्म रहन्छन् जसले पृथ्वीको वातावरणीमा नकरात्मक असर पार्ने खगोलविद् म्याकडोवेल बताउँछन् ।

यो प्रक्रियाले धातुका उप–उत्पादनहरू, विशेष गरी एल्युमिनियम अक्साइड, वायुमण्डलमा छोड्छ । जनवरी २०२५ मा, उपग्रहहरू जल्ने संख्यामा उच्च वृद्धिले वायुमण्डलमा नकरात्मक असरको चिन्ता बढाएको छ ।

हालैका अध्ययनहरूले दशकौंसम्म रहन सक्ने यी कणहरूले ओजोन तहको क्षयमा सघाउ पुर्याउने देखाएका छन् । जब एल्युमिनियम अक्साइडले स्ट्र्याटोस्फियरमा क्लोरीनसँग रसायनिक प्रतिक्रिया गर्छ, यसले ओजोन ब्रेकडाउनलाई तीव्र बनाउन सक्छ, जसले वातावरणीय चिन्ता अझै बढाउँछ ।

एक सामान्य २५० किलोग्राम (५५० पाउण्ड) उपग्रहले पुनःप्रवेशको क्रममा लगभग ३० किलोग्राम (६६ पाउण्ड) एल्युमिनियम अक्साइड न्यानोपार्टिकल्स उत्पादन गर्न सक्छ ।

२०२२ मा, लो अर्थ अर्बिटबाट पुनःप्रवेश गर्ने उपग्रहहरूले लगभग ४१.७ मेट्रिक टन (४६ अमेरिकी टन) एल्युमिनियम छोडेका थिए जसले माइक्रोमेटियोरोइड्सबाट हुने प्राकृतिक योगदानलाई लगभग ३० प्रतिशतले पार गरेको थियो ।



यदि हालको पुनःप्रवेश दर अझै जारी रह्यो भने, माथिल्लो मेसोस्फियरमा एल्युमिनियम अक्साइडको मात्रा वार्षिक रूपमा ६४० प्रतिशत भन्दा बढीले बढ्न सक्छ । यसरी बढ्दा प्रति वर्ष ३६० मेट्रिक टन भन्दा बढी पुग्न सक्ने विज्ञ बताउँछन् ।

एल्युमिनियम अक्साइडको संचयले ओजोन क्षयमा ढिला मात्र प्रभाव पार्न सक्छ । एल्युमिनियम अक्साइडका समूहहरू स्ट्र्याटोस्फियरमा झर्नु अघि ३० वर्षसम्म वायुमण्डलमा रहन्छन् ।

यी चिन्ताहरूको बावजुद, उपग्रह पुनःप्रवेशको वातावरणीय प्रभावलाई सम्बोधन गर्ने कुनै अन्तर्राष्ट्रिय नियमहरू हाल सम्म छैनन् । उपग्रह पुनःप्रवेशको क्रम बढ्दै जाँदा, विज्ञहरूले एल्युमिनियम अक्साइड संचयबाट उत्पन्न हुने वातावरणीय जोखिमहरूलाई कम गर्न थप अनुसन्धानको लागि आह्वान गरिरहेका छन् ।

भविष्यको अन्तरिक्ष यानले वायुमण्डलमा दीर्घकालीन प्रभावलाई कम गर्न बायोडिग्रेडेबल सामग्रीहरू प्रयोग गर्न सक्ने विज्ञको सुझाव छ । यद्यपि, त्यस्ता सामग्रीहरू अपनाउन इन्जिनियरिङ र नियामक ढाँचाहरूमा महत्त्वपूर्ण परिवर्तनहरू आवश्यक पर्ने बताइएको छ ।

रविन भट्टराई

प्रतिक्रिया दिनुहोस

web
analytics