पर्सा १२ औं निकुञ्ज घोषणा




सरकारले पर्सा वन्यजन्तु आरक्षलाई १२औं निकुञ्ज घोषणा गरेको छ । यो सँगै नेपालमा निकुञ्जको संख्या दर्जन पुगेको छ ।पर्यटकीय सम्भावना र पूर्वाधारको विकासलाई आधार बनाएर २०४० मा स्थापना भएको उक्त आरक्षलाई वन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले निकुञ्ज घोषणा गरेको हो ।

बारा, पर्सा र मकवानपुरको ६२७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पर्सा आरक्षमा विश्वमै दुर्लभ पाटे बाघ, एकसिंगे गैँडा, गौरी गाई, घोडा गधा मुख्य आकर्षण हुन् । मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चलको चितवन, मकवानपुर र पर्सा जिल्लाका केही भागहरू समेटेर पर्सा निकुञ्ज फैलिएको छ । यो चितवन राष्ट्रिय निकुञ्जको पूर्वपट्टिको विस्तारित क्षेत्र हो । ५०० देखि ९५० मिटरसम्म अग्लो चुरे पर्वतले यसको सबैजसो भूमि ढाकेको छ ।
गत पुसमा सरकारले आरक्ष रहेको शुक्लाफाँटालाई समेत निकुञ्ज घोषणा गरेको थियो ।अन्तराष्ट्रिय प्रकृति संरक्षण सङ्घ आइयुसिन को वर्गीकरणमा पनि पर्यटकीय दृष्टिकोणले निकुञ्ज दोस्रो र आरक्ष चौथो श्रेणीमा छ ।पर्सा निकुञ्ज विगत ३४ वर्षदेखि प्रजाति संरक्षणबाहेक पर्यटनप्रवद्र्धन प्रायः शून्य छ । आरक्षभित्र खासै पर्यटकीय गतिवधि खुला गरिएको छैन ।

यसअघि ११ वटा राष्ट्रिय निकुञ्ज घोषणा भएका छन् ।शुक्लाफाँटा, रारा, शिवपुरी नागार्जुन, शे फोक्सुण्डो, मकालु बरुण, खप्तड, बाके, बर्दिया, चितवन, लाङटाङ, सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन् । यी निकुञ्जमा भित्रिने पर्यटकका कारण स्थानीय वासिन्दाको आय आर्जन बढेको छ । साथै यहाँका मानिसले रोजगारी पनि पाएका छन् ।
पर्सा राष्ट्रिय निकुञ्ज भएपश्चात् कोसीटप्पु मात्र आरक्ष बाँकी रहने छ ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics