आखेटोपहारको साम्राज्यै चलाएको जस्तो लाग्थ्यो…
गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि.सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशनगरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबरअनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको ३५ औं अंश –
'निकुञ्जका कमान्डो’
भोलिपल्ट वैशाख २७ गते हामी पुनः हेटौँडा पुग्यौँ। मैले उसलाई ‘नारायणगढबाट भाडामा गाडी लिएर आउँछु’ भनेको थिएँ। गम्बरसिंह गुरूङ र म भएर गयौँ। ड्राइभर थियो महेन्द्र थापा। रितेशजीको टोली भएको अर्को गाडी पनि उसले थाहा नपाउने गरी लगेका थियौँ। उसले अघिल्लो दिन भनेको थियो— माल लिन यहाँबाट एघार किलोमिटरपश्चिम जानुपर्छ। मैले हिसाब लगाएको थिएँ— नेवारपानी वा रजैयातिर होला। आज भेट भएपछि पशुपतिले स्याउ र आँप किन्न पैसा माग्यो। मैले हजारको नोट निकालेर दिएँ। उसले मोटरसाइकलमा आएको एक जनालाई दुई किलो स्याउ र आँप किन्न पठायो। त्यो मान्छे फलफूल लिएर पश्चिमतर्फ लाग्यो। मैले उसको मोटरसाइकल नम्बर मनमा नोट गरेँ।
पशुपतिले भन्यो– ‘माल आँप र स्याउमा प्याकिङ गरेर हामी त्यहाँ पुग्नेबित्तिकै ल्याउँछ।’ त्यसपछि ऊ ‘मैले यहाँ अरु माल पनि हेर्न भनेको छु; त्यो मेडिकलमा पुगेर आउँछु’ भनेर एकातिर लाग्यो। मैले त्यसै बेला रितेशजीको टोलीलाई भेटेर भनेँ– ‘हामी अगाडि–अगाडि उसलाई लिएर जान्छौँ; तपाईंहरु पछाडि–पछाडि हाम्रो गाडीलाई देख्ने गरी
आउनुहोला।’
पशुपति फर्केपछि हामी कारमा चढेर पश्चिमतर्फ लाग्यौँ। बाटामा उसले भन्यो– ‘यो माल मात्र लैजानुस्; म तपाईंलाई दुई महिनाभरिलाई पुग्ने काम दिन्छु।’ कुरैकुरामा उसले मेरो नाक छोएर ‘यो पनि छ’ भन्यो। मैले बुझिहालेँ, खागको कुरा गर्दै छ भनेर। अनि सोधेँ– ‘त्यो कहाँ छ त?’ उसले भन्यो– ‘पख्नुस् न, म निकालिहाल्छु नि; कुराकानी गरिराखेको छु।’ हौसिएर ऊ सुनाउन थाल्यो— वीरगन्ज साइडमा बाघको छाला यति वटा, फलानो ठाउँमा हात्तीको दार्हा यति केजी, फलानो ठाउँमा गैँडाको खाग यति वटा छ। उसको कुरा सुन्दा त उनीहरुले वन्यजन्तु आखेटोपहारको व्यापारको साम्राज्यै चलाएझैँ लाग्थ्यो। यो गिरोहले नेपालभरिका बाघ, हात्ती र गैँडा सिध्याइसक्यो कि क्या हो भनेर म चकित भएँ।
हामी अगाडि–अगाडि थियौँ, म पछाडिको गाडीको पनि ख्याल गर्दै थिएँ।एक छिनपछि पछाडिको गाडी देखिन छाड्यो। मलाई भुटभुटी हुन थाल्यो— हामी तीन जना मात्र छौँ, हतियार छैन, उनीहरु दुई–तीन जना हुन्छन्, कसरी समात्ने भनेर। मैले मनमनै योजना बनाएँ— साथीहरु आइपुगेनन् भने पनि माल गाडीमा हाल्न लगाउने र हेटौँडामै आएर पैसा गनिदिने बहानामा तस्करहरुलाई गाडीमा चढाउने अनि अर्को गाडी जहाँ भेटिन्छ त्यहीँ रोकेर पक्रने।
तोकिएको ठाउँ पुग्दा मैले हेटौँडाबाट मोटरसाइकलमा आउने मान्छेलाई बाटोकिनारमा देखेँ। तर आफ्नो गाडी त्यहाँ नरोकेर महेन्द्रलाई अलि अगाडि लैजान भनेँ। हाम्रो गाडी अघि बढेको देखेर उसले पछाडिबाट आफ्नो सर्ट हातले घुमायो। हामीलाई इसारा गर्दै थियो ऊ। त्यही बेला गाडीमा पशुपतिले मसँग ‘पैसा दिनुस्’ भन्यो।
मैले भनेँ– ‘माल नहेरी त हँुदैन।’
‘मैले हेरिसकेको छु; विश्वास गर्नुस्, फरक पर्दैन; माल त अब प्याक
गरेर ल्याउँछ।’
‘माल मेरो गाडीमा हालिदिनुस्; म तपाईंलाई हेटौँडा पुर्याइदिन्छु र पैसा पनि त्यहीँ गनिदिन्छु।’
उसले भन्यो– ‘हुँदैन; यहीँ दिनुस्।’
पछाडि फर्केर हेरेँ— हाम्रो गाडीको अत्तोपत्तो थिएन। अब मसँग एउटै मात्र उपाय बाँकी थियो। मैले महेन्द्रलाई गाडी अगाडि लैजान भनेँ। पशुपति ‘किन? किन?’ भन्दै थियो। उसको मनमा त्यति बेला चिसो पस्यो होला, केही गडबड छ भनेर। हामीले पैसा दिने सम्भावना पनि थिएन उसलाई, किनभने पैसा त लगेकै थिएनौँ।करिब एक किलोमिटर पर पुगेपछि मैले गाडी रोक्न भनेँ। महेन्द्रले गाडी साइड लगायो। अनि म पशुपतितर्फ चोर औँलो ठड्याएर खरो स्वरमा कड्किएँ– ‘हामी निकुञ्जका कमान्डो हौँ। तिमीहरु जस्ता देशद्रोहीलाई पक्रन यो नाटक गरिरहेका छौँ। हामी सबैसँग हतियार छ र अघि तिम्रो मान्छे उभिएको ठाउँमा पनि हाम्रा कमान्डो खटाइएका छन्। तिमी चुपचाप हामीले भनेको मान। तिमीले अघि धेरै माल छ भनेर भन्यौ। ती सबैलाई पक्डाइदियौ भने हामी तिमीलाई सुराकी बनाउँछौँ र छाडिदिन्छौँ। यहाँ पनि के गर भने, उसले हाम्रो गाडीमा माल राखेपछि उसलाई गाडीमा बस्न भन अनि हेटौँडातर्फ सँगै जाऊँ, बाटोमै पैसा दिन्छु भन।’ मैले यसो भनिरहँदा ऊ स्तब्ध भएको थियो। सपनामा पनि नसोचेको र नचिताएको परिस्थिति अचानक आइलाग्दा उसको ओठ–तालु सुकेको थियो।
एक छिन त उसको बोली पनि फुटेन। त्यसपछि उसले सर्त राख्यो– ‘उनीहरसँग भेटाइदिएपछि मलाई छाडिदिनुस्।’ मैले भनेँ– ‘हुँदैन। त्यो माल र मान्छेहरुलाई हेटौँडा पुर्याएपछि मात्र हामी तिमीलाई छाड्छौँ।’ त्यसपछि गाडी फर्काउन लगाएँ। अघि हामीलाई इसारा गर्ने मोटरसाइकलवाला ठिटो त्यहाँ देखिएन। हामीले एउटा पसलमा गएर सोध्यौँ, त्यो मान्छे कहाँ गयो भनेर। उनीहरुले पूर्वतर्फ देखाइदिए। हामी त्यतै हिँड्दै थियौँ, एक जना चस्मा लगाएको मान्छे आयो। उसले भन्यो– ‘माल पारिबाट आउँदै छ; उः खोला तर्दै छ।’
मैले राप्तीतर्फ हेरेँ— एउटा मान्छे बोरा बोकेर तर्दै थियो। मैले सोचेँ— यो मान्छे ग्याङको अर्को सदस्य रहेछ। उसलाई पशुपतिले कुनै इसारा गर्छ कि भनेर मैले उसको अनुहारतिर नियालेँ र छिटछिटो हिँड्न भनेँ। गाडी हाम्रो पछिपछि आउँदैथ्यो। हामी रजैयापूर्व नेवारपानीको प्रहरी चौकीनजिक रहेको, माथिबाट पहिरो खस्ने घुम्तीछेउ पुग्यौँ। त्यहाँ मोटरसाइकलवाला ठिटो हामीलाई भन्दै थियो– ‘बोलाउँदा–बोलाउँदै किन हिँडेको यार? यहाँ हतार भैसक्यो।’
मैले पशुपतिलाई कुनै इसारा नगर्न दबाब दिइरहेको थिएँ र उसको निगरानी गरिरहेको थिएँ। त्यही बेला रितेशजीको टोली लिएर अर्को गाडी पनि आइपुग्यो। मैले हातले गोप्य सद्ध्केत गरेर अगाडि जान भनेँ। उहाँहरु सरासर जानुभयो। हामी त्यो घुम्तीको दायाँपट्टि रहेको खाली चौरमा पुग्यौँ र आफ्नो गाडी ब्याक गरेर मिलाएर राख्यौँ। मोटरसाइकलवाला मान्छे अलिक तल झ्याङबाट
कसैलाई ‘छिटो आ’ न, छिटो’ भनेर बोलाउँदै थियो। मैले तलतिर हेरेँ— अघिको मान्छे राप्ती तरेर उकालो बाटो सकी नसकी बोरा घिच्याउँदै माथि आइरहेको थियो।
मोटरसाइकलवालाले हकार्दै भन्यो– ‘कति ढिलो गरेको? मान्छेहरुले देखिरहेका छन्।’ उसले त्यो बोरा ल्याइ पुर्याएपछि मैले महेन्द्रलाई कारको डिक्की खोल्न भनेँ र राख्न लगाएँ।
अनि मोटरसाइकलवालातर्फ गएर भनेँ– ‘गाडीमा बसौँ।’
उसले पशुपतितिर फर्केर भन्यो– ‘पैसा खै?’
मैले भनेँ– ‘हामी सँगै हेटौँडा जाऊँ; म पैसा त्यहीँ दिन्छु।’
ऊ जोड गर्न थाल्यो– ‘पैसा त यहीँ दिनुपर्छ; छिटो गर्नुस्।’ एक त मसित उसलाई दिन पैसा थिएन, अर्को ऊ पैसा लिएपछि हिँडिहाल्थ्यो; उसलाई पक्रन सकिने थिएन। मैले खोजेको मान्छे त पशुपतिभन्दा पनि त्यही थियो। किनभने या त उसैले बाघ मारेको थियो नत्र बाघ मार्ने मान्छेबारे उसलाई थाहा थियो। मलाई लाग्यो, अब ढिलो गर्न हुँदैन।
प्रतिक्रिया दिनुहोस