गैंडा तस्कर खोज्दै भारतीय भूमिमा



गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि.सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशनगरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबरअनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको ३७ औं अंश –

तस्कर खोज्द भारतमा 

२०६३ जेठ २६ गते बिहान साढे सात बजेतिर हाम्रा सुराकीसँग भेट भयो। उहाँसँगै नास्ता गरेर गड्डा चौकीतर्फ लाग्यौँ। हामीलाई भारतको खटिमा बजार जानु थियो। हामी सरकारी कर्मचारी भएकाले भारतीय चेक प्वाइन्टमा गाडी नम्बर लेखाएर फलानो ठाउँ जाने भनेपछि खासै सोधपुछ गरेनन्। म २०५७ सालका तीन महिना शुक्लाफाँटा वन्यजन्तु आरक्षमा काजमा बस्दा चाँदनी दोधारासम्म त पुगेको थिएँ, तर त्यसभन्दा अगाडि गएको थिइनँ। बनबासा हुँदै बिहान साढे नौ बजेतिर खटिमा बजार पुग्यौँ। त्यहाँ रेन्ज अफिसका कर्मचारीले हामीलाई वनको गेस्टहाउस जान भने।

गेस्टहाउसमा वनका दरोगासँग भेट भयो। हामीले आफ्नो उद्देश्य बतायौँ।उहाँले पनि हामीलाई राम्रै आदर गर्नुभयो। यसैबीच एक जना वन कर्मचारी  गाडीमा आउनुभयो। कहीँ देखे–जाने जस्तो अनुहार लागेर मैले एकटकले हेरेँ। उहाँले पनि मलाई चिने जस्तो गर्नुभयो। एकै छिनमा हामी दुवैले  एकअर्कालाई चिन्यौँ। उहाँ हुनुहुन्थ्यो— सुरई रेन्जपोस्टका रेन्ज अफिसर  बाबुलालजी, जोसँग शुक्लाफाँटा वन्यजन्तु आरक्षमा छँदा मेरो राम्रो चिनजान थियो। उहाँसँग भेट हुँदा मलाई निकै खुसी लाग्यो, अब काम बन्ने भयो भनेर। मलाई हिन्दी त्यति राम्रो आउँदैन र अङ्ग्रेजी पनि कमजोर छ। सौभाग्यवश पुरानो चिनजानकै कर्मचारी भेटेपछि ‘के खोज्छस् काना? आँखो’ भने जस्तै भयो।

त्यहाँका जिल्ला वन अधिकृत (डीएफओ) गेस्टहाउसमै हुनुहुँदो रहेछ। बाबुलालले उहाँसँग भेट गराइदिनुभयो। मैले आफ्नो परिचय दिएँ र आफू आउनुको उद्देश्य बताउँदै सहयोग गर्न अनुरोध गरेँ। म कति बेला हिन्दीमा बोल्थेँ त कति बेला टुटेफुटेको अङ्ग्रेजीमा। उहाँ हल्दवानी जान लाग्नुभएको रहेछ। उहाँले बाबुलाललाई ‘सहयोग गर्न’ भन्नुभयो। उहाँ हिँडेपछि बाबुलाल र म बसेर विस्तृत छलफल गर्‍यौँ। बाबुलालले सहायक दरोगासँग कुराकानी गर्नुभयो। मैले मण्डल महतो भुस्वाभुराई ग्राम पञ्चायतमा लुकेको जानकारी दिएँ। त्यहाँका दरोगालाई पनि नेपालबाट भागेर आएको एउटा मान्छे लुकीछिपी बसेको छ भन्ने थाहा रहेछ। त्यो इलाकाबारे राम्रो जानकारी भएका भारतीय वन विभागमा काम गर्ने एक जना नेपाली रहेछन्। मोबाइलबाट बाबुलालले उनलाई बोलाउनुभयो। उनी त्यो व्यक्तिलाई चिन्दा रहेछन्। ऊ
पाँच–छ वर्षदेखि सपरिवार लुकीछिपी बसेको, श्रीमती रक्सी बेचबिखन गर्ने, त्यहीँ घर–जग्गा जोडिसकेको लगायत सम्पूर्ण विवरण मेल खायो।

उनी उसको गतिविधि पत्ता लगाउन गाउँतर्फ लागे। हामी खटिमाको प्रहरीसँग कुरा गर्न कोतवाली गयौँ। त्यहाँ सीओ र इन्स्पेक्टर पाठक थिए। मैले उनीहरुलाई मण्डलको अपराधबारे जानकारी दिँदै उसलाई जेलसजाय तोकिएको र हिरासतबाट भागेको बताएँ। बाबुलालले ‘वह संसार चन्द्र के गिरोहका सदस्य है’ भनेर थपिदिनुभयो। त्यति भनेपछि प्रहरी सतर्क भैहाले। उनीहरुले पूरै सहयोग गर्ने वचन दिए। पक्राउ परेपछि हामीलाई अनौपचारिक रुपमा बुझाउने सहमति पनि भयो।

त्यतिन्जेल मध्याह्नको साढे बार्‍ह बजिसकेको थियो। खाना खाएर हामी गेस्ट हाउसमा आराम गर्न थाल्यौँ। आज दिनभरमा उसको गतिविधि र घर  आउने समय पत्ता लगाएर राति घरमै गएर समात्ने भन्ने तयारी थियो। तर साँझसम्म उसबारे केही खबर आएन र राति पनि कतैबाट केही जानकारी पाइएन।

२७ गते बिहान पनि केही खबर नआएपछि हामी रेन्जपोस्टतर्फ लाग्यौँ। त्यहाँ बाबुलाललाई भेटेपछि थाहा भयो— हिजो कुनै काम हुन सकेन। हत्याको सिलसिलामा पक्राउ गरिएको एउटा मान्छेको हिरासतमा मृत्यु भएकाले खटिमा क्षेत्र तनावग्रस्त भएछ र प्रहरीहरु त्यतै व्यस्त भएछन्। १० बजेतिर खबर आयो, त्यो मान्छे त बनबासातर्फ गएको छ भनेर। बाबुलालले भन्नुभयो– ‘तपाईंहरु यता नदेखिनुस्; तपाईंहरुको गाडी र मान्छे उसले चिन्न सक्छ। महेन्द्रनगर गएर बस्नुस्; पक्राउ पर्‍यो भने म फोन गरिदिन्छु।’

हामी पनि ठीकै हो भनेर महेन्द्रनगर फक्र्यौं र मनाङ हाइवे होटलमा गएर खानाको अर्डर गर्‍यौँ। सुराकीसमेत पाँचै जनाले एक–एक बोतल बियर खायौँ। महेन्द्रनगरको गर्मी, दिउँसै बियर खाँदा अलिअलि लाग्न थाल्यो। चितवनबाट सुराकीले फोन गर्थे— यो मान्छे यहाँ छ, ऊ मान्छे त्यहाँ छ भनेर; म पनि महेन्द्रनगरबाटै आदेश दिन्थे— फलानालाई बोलाएर यो मान्छेलाई पक्राउ गर्नू, ऊ मान्छेलाई पक्राउ गर्नू भनेर। यत्तिकैमा फेरि मोबाइल बज्यो। हेरेँ— बाबुलालको रहेछ। हिन्दीमा बोल्नुभयो– ‘आप का काम हो गया।’ त्यत्तिकैमा फोन जुध्यो। महिलाको स्वर आयो र फोन काटियो। त्यही बेला मेरो दाहिने आँखा फरफराउन थाल्यो। यो शुभ–अशुभ के हो भनेर म अलमलिएँ। फेरि बाबुलालको फोन आउँछ कि भनेर एक छिन प्रतीक्षा गरेँ तर आएन। त्यसपछि हामी मान्छे पक्राउ परेको रहेछ भने लिएर हिँडौँला भनेर खटिमातर्फ नै लाग्यौँ।

त्यहाँ पुग्नेबित्तिकै वन दरोगा र फरेस्टरहरुले हामीलाई बधाई दिँदै भने–‘आप का काम हो गया।’ म खुसी भएँ। उनीहरुले मलाई सुरई रेन्जपोस्ट गएर बाबुलाललाई भेट्न भने। हामी तत्कालै त्यहाँ पुग्यौँ। बाबुलाल अलि बेचैन देखिनुहुन्थ्यो। खुलेर कुरा गर्नुभएन। यति मात्र भन्नुभयो– ‘समझ लीजिए कि आपका काम हो ही गया।’
मैले लख काटेँ— उहाँहरुलाई कुनै प्राविधिक कठिनाइ परेको छ। अलिक पछि उहाँले भन्नुभयो– ‘पक्रनेबित्तिकै मैले तपाईंलाई दिन पाएको भए हुन्थ्यो।
तर तपाईंहरु बाहिर हुनुहुँदो रहेछ।’

मण्डललाई बाबुलालले आफैँ गएर खटिमा बजारबाट पक्रनुभएको रहेछ। ‘पक्रँदा केही मान्छेले देखे र होहल्ला पनि भयो’ भन्नुभयो। पहिले त उसले आफ्नो नाम मण्डल महतो होइन भनेछ। तर नेपालको सूचना बमोजिम पक्राउ गरिएको भनेपछि ‘मलाई छाडिदिनुस्; नेपालमा नबुझाउनुस्; म भारू पचास हजार दिन्छु’ भनेको रहेछ। सोधपुछ गर्दा उसले त्यही दिन बेलुका नौ बजे महेन्द्रनगरबाट दुई जना मान्छे आउने र उनीहरुसँगै पीलीभीत गएर बाघको छाला ल्याउने सल्लाह भएको पनि बताएछ।

उसले यहाँ पनि वन्यजन्तुको तस्करी गरिरहेको रहेछ। हामीले बाबुलालजीलाई ‘मण्डल हामीलाई बुझाइदिनुस्; हामी आजै लिएर जान्छौँ’ भन्यौँ। उहाँले भन्नुभयो– ‘भोलि उसकी श्रीमतीले मेरो श्रीमान् खै भनेर सोधिन् भने हामीलाई अप्ठ्यारो पर्छ। मानव अधिकारवादीले समस्यामा पार्छन्। मैले वकिलसँग सल्लाह गरेको छु, भोलि बिहान उसको गाउँको प्रधान र श्रीमतीको रोहबरमा हामी तपाईंलाई बुझाइदिन्छौँ; त्यसको फोटो पनि लिन्छौँ; त्यति भएपछि हामीलाई सजिलो पर्छ।’

मैले ‘हामी महेन्द्रनगर पुगेर उसकी श्रीमतीलाई हामीले महेन्द्रनगरबाट पक्रियौँ भनेर फोन गरिदिन्छौँ; त्यति भएपछि तपाईंहरुलाई समस्या पर्दैन’ भनेँ। तर उहाँले थुप्रै मान्छेले उसलाई खटिमामा पक्रेको देखेका छन् भनेर मेरो प्रस्ताव मान्नुभएन। त्यसपछि त्यो दिन त्यत्तिकै बित्यो। २८ गते बिहानै हामी सुरई रेन्जपोस्ट पुग्यौँ। बाबुलाल उठ्नुभएको थिएन। राति दुई बजेतिर मात्र आएर सुत्नुभएको रहेछ। हामी पुगेको करिब एक घण्टापछि उठेर आउनुभयो र भन्नुभयो– ‘राति इन्स्पेक्टर आएर सोधपुछ गर्दा मण्डलले घरमा बन्दुक छ भन्यो। अनि हामीले राति नै उसको घरमा गएर खोजतलास गर्दा बन्दुक फेला पार्‍यौँ।’ कुरा लम्बिँदै गएकाले मलाई कताकता
नरमाइलो लाग्यो, कतै मिलोमतो त होइन भनेर। मैले उहाँलाई ‘अब क्या होगा?’ भनेर सोधेँ। उहाँ पनि द्विविधामा हुनुहुन्थ्यो; ‘इन्स्पेक्टर सा’ब से बात करेगेँ; उसके
बाद पता चलेगा’ भन्नुभयो। मैले उहाँलाई ‘प्रहरीलाई राम्रोसँग कन्भिन्स गरिदिनुस्’ भनेर आग्रह गरेँ।

हामी त्यहाँबाट दस बजेतिर खटिमा कोतवाली पुग्यौँ। इन्स्पेक्टर भेट भए। मैले उनलाई ‘थ्याङ्क  यु’ भनेँ; उनले पनि बधाई दिए। तर मण्डल मलाई जिम्मा लगाउन उनी तयार भएनन्। भन्दै थिए– ‘बन्दुकसहित पक्रियौँ; कोर्टमा पेस गर्नुपर्छ; अनअफिसियल्ली ह्यान्डओभर गर्न मिल्दैमिल्दैन।’ मैले पुलुक्क बाबुलालको मुखमा हेरेँ; उहाँ पनि केही बोल्नुभएन। इन्स्पेक्टर मोबाइलबाट टीभी र अखबारवालाहरुलाई फोन गर्न थाले।एकै छिनमा सञ्चारकर्मीहरुको बाक्लै भीड जम्मा भयो। नेपाल वानका संवाददाता पनि आएका थिए। उनले मेरो अन्तर्वार्ता लिन चाहे, तर मैले अपराधीलाई तत्काल नेपाल लैजान नपाउने भएपछि हल्ला मात्र किन गर्नु भनेर अन्तर्वार्ता दिन मानिनँ। पत्रकारहरुलाई इन्स्पेक्टरले वन्यजन्तु तस्कर पक्राउ गरेको विवरण दिए, टीभीवालाहरुले छायाङ्कन गरे। बन्दुक समाएको मण्डलसहित म, इन्स्पेक्टर, रेन्ज अफिसर बाबुलाल र अन्य वन कर्मचारी बसेर फोटो खिच्ने–खिचाउने काम भयो। त्यसपछि मलाई उससँग सोधपुछ गर्न दिनू भनेर इन्स्पेक्टर अर्कैतिर लागे। यसैबीच मण्डल महतोले मलाई नमस्कार गर्‍यो, निन्याउरो मुख लगाउँदै। मेरो मन पनि अमिलो थियो, उसलाई आफूसँगै लैजान नपाइने भयो भनेर।

रेन्जपोस्ट फर्केपछि बाबुलालले मलाई सल्लाह दिनुभयो, गृह मन्त्रालयबाट लिखित अनुरोध ल्याएपछि उसलाई लैजान सकिन्छ भनेर। त्यतिन्जेल ऊ अदालतबाट धरौटी वा जमानतमा छुट्न नपाओस् भनेर मैले निवेदनसहित सम्पूर्ण कागजात प्राइभेट वकिललाई दिएँ, जसलाई उहाँले नै बोलाइदिनुभएको थियो। यति गरिसक्दा दिउँसोको करिब एक बजेको थियो। त्यहाँ कुनै काम नभएपछि हामी महेन्द्रनगरतर्फ लाग्यौँ, हारेको सिपाहीझैँ भएर। उसलाई छिटै लैजान सकिन्छ कि भन्ने आशाचाहिँ मरिसकेको थिएन।

महेन्द्रनगर आएर एक–दुई होटलमा खाना सोध्यौँ, पाइएन। दिउँसो साढे दुई बजे कैलाली, अतरिया पुग्दा पनि खाना नपाइएपछि खाजा खाएर भोक मेटायौँ।नवलपरासीको दाउन्ने पुगेर खाना खाँदा राति एक बजेको थियो। साढे दुई बजेतिर नारायणगढ पुग्यौँ। डिल्लीजङ्गलाई भरतपुर घर पुर्‍याइदिएर कसरा पुग्दा साढे तीन भइसकेको थियो।

कमलजङ्ग कुँवर

प्रतिक्रिया दिनुहोस

web
analytics