वन्यजन्तु संरक्षण सचेतनाका लागि पैदलयात्रा



२३ औँ वन्यजन्तु सप्ताहको अवसरमा हरियो वन कार्यक्रम, डब्लुडब्लुएफ नेपाल –चिवतन अन्नपुर्ण भुपरिधिको आयोजनामा चोरीशिकार नियन्त्रण सम्बन्धी सचेतना जगाउने उद्धेश्यले १० दिने अन्नपुर्ण पैदलयात्रा सुरु भएको छ । दश दिन सम्म चल्ने उक्त अभियानमा सहभागी पैदलयात्रीहरुलाई एक कार्यक्रमका साथ बिदाइ गरियो ।

वन्यजन्तु सप्ताहको अन्तिम दिन वैशाख ७ बाट सुरु उक्त पदयात्रा पोखराबाट सुरु भई लमजुङ बेशिसहर, भुलभुले, ताघ्रिङ, धारापानि, चामे, मनाङ्ग, थोरोङ्ग फेदि, मुक्तिनाथ, कागवेनी हुँदै जोमसोममा पुगेर पैदल यात्रा समापन हुने उक्त पदयात्रामा डब्लुडब्लुएफ नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा चिवतन अन्नपूर्ण भुपरिधि अन्तर्गत गठन भएका विभिन्न ५ जिल्लाका समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण समूहका प्रतिनिधिहरू सहभागी रहेको डब्लु डब्लु एफ नेपाल, हरियो वन कार्यक्रमका कार्यक्रम अधिकृत रुपेन्द्र घलेले जानकारी गराउनुभयो ।

पैदलयात्राको क्रममा विभिन्न स्थानहरूमा चोरी सिकार नियन्त्रण, जैविक विविधता संरक्षण, अवैध चोरी सिकार नियन्त्रणमा स्थानीय समुदायको भूमिका लगायत विषयवस्तुहरूमा अन्र्तक्रिया, पोस्टर, ब्रोसर वितरण तथा विभिन्न भिडियो डकुमेन्ट्रीहरू प्रर्दशन गरिने ब्यहोरा घलेले बताउनुभयो । डब्लु डब्लु एफ नेपाल, हरियो वन कार्यक्रमका कार्यक्रम प्रतिनिधी सुर्य अधिकारीको नेतृत्वमा आठ जनाको टोलीलाई अतिथि नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, क्षेत्रिय वन निर्देशनालय पोखराका उप क्षेत्रिय निर्देशक माधव बरालले खादा लगाएर बिदाइ गरेका थिए ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपुर्ण संरक्षण आयोजना हरियो खर्कमा भएको उक्त कार्यक्रममा जिल्ला वन कार्यालय कास्कीका सहायक वन अधिकृत, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका संरक्षण अधिकृत ऋषीराम ढकाल, सामुदायिक बन उपभोक्ता महासंघ कास्कीका अध्यक्ष कालिदास सुवेदी, अन्नपुर्ण संरक्षण आयोजनाका आयोजना प्रबन्धक विनोद बस्नेत, केयर नेपालका वित्त अधिकृत विवेक अधिकारी लगायत विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो । २३ औँ वन्यजन्तु सप्ताह भरी विभिन्न कार्यक्रमहरूमा उत्कृष्ट प्रस्तुति गर्ने पोखरा वन विज्ञान संस्थानका विद्यार्थीहरूलाई पुरस्कार वितरण समेत सोही कार्यक्रममा गरिएको थियो । युएसएआईडी को आर्थिक सहयोगमा सञ्चालित हरियो वन कार्यक्रमले जैविक विविधता संरक्षण लगायतका क्षेत्रमा कार्यक्रम गर्दै आएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics