खाग तस्करीको धन्दा चम्कँदै गएपछि…

गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि.सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशनगरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबरअनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको ५८ औं अंश -

 

खाग तस्करीमा नेताहरु

पञ्चायतकालीन राजाको संसद् राष्ट्रिय पञ्चायतका सदस्यहरु  हरिकुमार श्रेष्ठ र गुणराज पाठक चितवनका नामुद खाग तस्कर थिए। पञ्चायत ढलेपछि पनि विभिन्न दलका नेता यस कार्यमा संलग्न रहँदै आएका छन्।

चितवन, हात्तीसारका पूर्वकर्मचारी भगौर चौधरीले मलाई एउटा पुरानो रोचक प्रसङ्ग सुनाएका थिए। एक पटक उनी हात्ती खरिद गर्न हरिकुमारसँग भारतको सीतामढी गएका रहेछन् (त्यति बेला निकुञ्जमा आवश्यक पर्ने हात्तीहरु भारतबाट खरिद गरेर ल्याउने प्रचलन थियो)। त्यहाँ उनलाई हरिकुमारले आफ्नो जानपहिचानको भारतीय जमिनदारको घरमा लगेर बसालेछन्। उनीहरु फर्कने बेला ती जमिनदारले हरिकुमारलाई ‘उता पुगेपछि पाँच–छ वटा माल (खाग) पठाइदिनुहोला; यता मसँग खोजिरहेका छन्’ भनेछन्।

हरिकुमार ‘हुन्छ; म यता आउने मान्छेका साथमा पठाइदिन्छु; धन्दा नमान्नुस्’ भनेर हिँडेछन्। केही महिनापछि अफिसको काममा सुब्बा भगौर पुनः एक्लै सीतामढी गएछन्। त्यस बेला ती जमिनदारले भगौरसँग सोधेछन्– ‘हरिकुमारजीले केही सामान पठाइदिनुभएन?’ ‘खै, मलाई त केही थाहा छैन; के मगाउनुभएको थियो र तपाईंले?’

भन्दा जमिनदारले भनेछन्– ‘मैले जाने बेला पाँच–छ वटा खाग पठाइदिनुहोला भनेको थिएँ। म त तपाईंसँग पठाइदिनुभयो कि भन्ठानेको।’ भगौरले ‘मैले त ल्याएको छैन’ भनेपछि ‘हुन्छ, तपाईं गएपछि तुरून्त पठाइदिनू भन्नुभएको थियो भन्नुहोला’ भनेछन्।

खाग तस्करीको धन्दा चम्कँदै गएपछि हरिकुमार निकै दुस्साहसी बनेका थिए। डा. तीर्थमान मास्के वार्डेन हुँदाका बखत उहाँले गैँडा सिकार रोक्न कडा कदम चाल्न थालेपछि एकपल्ट हरिकुमार स्वयं आफ्ना लठैत लिई उहाँलाई कुट्न कसरा पुगेका रहेछन्। उनीहरुलाई देखेपछि अफिसपछाडिबाट भागेर उहाँले ज्यान जोगाउनुभएछ। यो घटना उहाँकी धर्मपत्नी लक्ष्मीवदन मास्केले आफ्नो पुस्तक ‘टाइगर वार्डेन’ मा पनि उल्लेख गर्नुभएको छ।

यसबारे थप कुरा चितवन राष्ट्रिय निकुञ्जका पूर्वचिफ वार्डेन रामप्रीत यादवबाट पनि थाहा पाउन सकिन्छ। चितवन, टाँडीका गुणराज पाठकले सुरू–सुरूमा मकवानपुर, खैराङका तामाङहसँग एउटा खाग छ–सात पाथी कोदोसँग साट्ने गरेको सम्झना स्थानीय बूढापाकाहरु अहिले पनि गर्छन्। उनका विरूङ २०३० सालतिर चितवन राष्ट्रिय निकुञ्जमा मुद्दा दायर भएको थियो। करिब एक सय गैँडा मारिसकेको क्याम्पा काइँला भन्ने सिकारीलाई वार्डेन डा. तीर्थमान मास्के र रेन्जर रामप्रीत यादवहरुले पक्राउ गरी सोधपुछ गर्दा उसले सबै खाग गुणराजलाई दिने गरेको बताएपछि उनीविरूद्ध  मुद्दा दायर गरिएको थियो।

दरबारको निर्देशनमा मुद्दा फिर्ता भएपछि २०३३ सालमा पैसा र लठैत प्रयोग गरेर उनले गाउँफर्के चुनाव जिते। त्यसपछि खाग तस्करीको उनको धन्दा चालू रहे पनि उनीविरूद्ध  कसैले मुद्दा दायर गरेन। हरिकुमार श्रेष्ठ र गुणराज पाठक दुवैलाई राष्ट्रिय पञ्चायत सदस्य बनाउन खाग तस्करहरुको मुख्य भूमिका थियो। खुला र उच्च राजनीतिक
संरक्षण पाएपछि दुवैले बाँचुन्जेल जमेर गैँडा सिकार तथा खाग तस्करी गरे र आफू एवं आफ्ना मालिकका लागि अकुत सम्पत्ति कमाए। हरिकुमार र गुणराजका करतुतबारे तपाईंलाई थप बुझ्नु छ भने तिनका गाउँहरु वरपरकापचास वर्ष उमेर नाघेका कुनै पनि मान्छेलाई सोध्नुहोस्; विस्तारपूर्वक बताइदिनेछन्।

पञ्चायत व्यवस्था समाप्त भएपछि पनि यो क्रम रोकिएन। बहुदलकालमा चितवनका सांसद सन्तकुमार चौधरी, जो सहायक मन्त्रीसमेत भए, खागसहित पक्राउ परेका थिए। उता, गैँडा केसमा पक्राउ परेका शुक्रनगरका लालबहादुर  झाँक्री तामाङले काद्ध्ग्रेसका स्थानीय नेता टेकप्रसाद गुरूङविरूद्ध थुप्रै तथ्य खोलेका छन्। उनका अनुसार काङ्ग्रेसका क्षेत्रीय सदस्य पूर्णबहादुर गुरूङ र कालाबन्जार मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका पूर्वअध्यक्ष अम्बरबहादुर तामाङले टेकप्रसादलाई खाग दिने गरेका छन्।

लालबहादुर स्वयं काङ्ग्रेसका स्थानीय कार्यकर्ता हुन्। अम्बरबहादुर तामाङ हाल गैँडाको खाग तस्करी गरेको अभियोगमा जेल सजाय काटिरहेका छन् तर टेकप्रसाद र पूर्णबहादुर
गुरूद्धले भने आफ्ना कार्यकर्ताको आरोप इन्कार गरे। टेकप्रसादले  काङ्ग्रेसका पुराना नेता प्रेमध्वज बस्नेतसँग सात–आठ वर्षअगाडि भनेका थिए रे– ‘खाग किन्ने मान्छे खोज्नुस् काजी सा’ब; पैसा
कमाइन्छ।’ तर प्रेमध्वजले ‘म त्यस्तो काम गर्दिनँ’ भन्नुभएको रहेछ।

योकुरा मलाई प्रेमध्वजका भतिज रितेशजीले जेलमा सँगै बस्दा बताउनुभएको थियो। कुरा कति सत्य हो भनेर बुझ्न मैले काठमाडौँमा प्रेमध्वजलाई भेटेँर सोधेँ– ‘तपाईंसँग टेकप्रसादले त्यसो भनेकै हो?’ उहाँले जबाफ दिनुभयो– ‘अँ, धेरै मान्छेले खागको तस्करी गर्ने गरेको मलाई पहिलेदेखि नै थाहा छ। चितवन र नवलपरासीका थुप्रै जमिनदार र ठूलाबडा भनाउँदाहरुको धन्दै त्यही हो। हरिकुमार र गुणराजको त मूल धन्दानै त्यही थियो। नवलपरासीका रायमाझीह?, जो सर्वोच्चका पूर्वन्यायाधीश कृष्णजङ्ग रायमाझीका दाजुभाइ हुन्, ती पनि त्यही काम गर्छन्।’त्यो सुनेर म झल्याँस्स भएँ। बल्ल मैले बुझेँ, हेटौँडा पुनरावेदन अदालतका मुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीले नवलपरासीका लेखजङ्ग रायमाझीविरूद्धको मुद्दामा अदालतमा हाजिर नहुँदासमेत उनीहरुलाई किन
सफाइ दिएका रहेछन्।

कमलजङ्ग कुँवर

प्रतिक्रिया दिनुहोस

web
analytics