चितवनमा एकै महिनामा तीन अर्नाको जन्म



एक महिनाको अवधीमा अर्नाको तीनवटा बच्चाले जन्म लिएका छन् । चितवन राष्ट्रिय निकुञ्जमा एक महिनाको अवधिमा अर्नाको तीनवटा बच्चाको जन्म भएको छ ।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट चितवनमा स्थानान्तरण गरी ल्याइएका जङ्गली भैंसी अर्थात् अर्नाले एक महिना भित्रमै तीनवटा बच्चा जन्माएको हो ।

जन्मेका तीनवटामध्ये दुईवटा भाले र एउटा पोथी रहेको निकुञ्जको सूचना अधिकारी नुरेन्द्र अर्यालले बताए ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको अर्नाले साउन ३१ गते पहिलो पटक बच्चा जन्माएको थियो । त्यसको एक सातापछि अर्काे अर्नाले बच्चा जन्माएको थियो । यसैगरी भदौं २३ गते शनिबार फेरी अर्का अर्नाले बच्चा जन्माएको छ ।

वंश संरक्षण गर्ने उद्देश्यले स्थानान्तरण गरी ल्याइएको अर्नाले बच्चा पाउनुलाई संरक्षणमा सफलताले खुसी दिलाएको छ ।

२०७३ सालको माघमा कोशी टप्पु र जावलाखेलको चिडियाखानाबाट चितवनमा अर्ना ल्याइएको थियो ।

कोशी टप्पुबाट १३ वटा र जावलाखेलको चिडियाखानाबाट तीनवटा अर्ना चितवनमा अर्ना ल्याइएको थियो । १५ वटा स्थानान्तरण गरेको मध्ये ६ वटा अर्ना मरेका थिए ।

चिडियाखानाबाट ल्याएका सबै तीनवटा अर्ना हावापानी र खानपान नमिलेका कारण मरेका थिए ।  त्यस्तै एउटा अर्नालाई बाघले खाएको थियो भने दुई वटा अर्ना गत वर्षको बाढीका कारण मरेका थिए ।

चितवन राष्ट्रिय निकुञ्जमा सात पोथी र दुई भाले बाँचेका थिए । अहिले  तीनवटा अर्नाको जन्मसँगै चितवन राष्ट्रिय निकुञ्जमा १२ वटा अर्ना भएको छ  ।सौराहास्थित पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टरको क्षेत्रफलमा खुल्ला खोर बनाएर अर्नालाई राखिएको छ ।

काँस, सिरु, नर्काेट, बन्सो लगायतका घाँस प्रमुख चरनका रुपमा अर्नाले उपयोग गर्ने गरेका छन् । केही वर्ष पहिले कोसी नदीमा आएको ठूलो बाढीमा परी दुई दर्जन अर्ना मरेको थिए ।

अर्नाको सरदर आयु २५ वर्षको हुन्छ । यिनीहरूले आफ्नो जीवनकालमा ५ ओटासम्म बच्चा जन्माउन सक्छन् । भाले अर्ना ३–४ वर्षमा र पोथी अर्ना २ देखी ३ वर्षको उमेरमा प्रजनन योग्य हुन्छ । गर्भाधान भएको १० महिनापछि अर्नाले बच्चा जन्माउँछ ।

२०३२ सालमा कोशीटप्पु वन्यजन्तु आरक्षको घोषणासँगै अर्नाको सङ्ख्या बृद्धि हुने क्रम बढेको छ । आरक्षको मुख्य उद्देश्य नेपालमा अति दुर्लभ मानिएको अर्नाको संरक्षण गरी अर्नाको संख्या बृद्धि गराउनु हो ।

विश्वभरी अर्नाको कुल सङ्ख्या तीन हजारको हाराहारीमा रहेको अनुमान छ । दक्षिण एसियामा अर्ना नेपाल र भारतमा पाइन्छ । नेपालको कोशी टप्पुमा मात्र पाइने यो वन्यजन्तु भारतको सिक्किम, आसाम र मध्य प्रदेशका संरक्षित क्षेत्रमा समेत पाइने गरेको छ ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics