चराको राजधानी बन्दै मेचीनगर



झापाको मेचीनगरमा २५० प्रजातिका चराको बासस्थान छ।

यहाँ विश्वमै दुर्लभ मानिने राजधनेश, धनेश, जुरे रुप्पीलगायत विभिन्न प्रकारका चरा रहेको तीन वर्षदेखि चराको अध्ययन गरिरहेका मेचीनगर–६ काँकडभिट्टाका देवेन्द्र खरेलले बताए।

धेरै चरा पाइने देशको सूचीमा नेपाल २२औँ स्थानमा छ। नेपालमा ९०० प्रकारका चरा पाइएकामा २५० प्रकारका चरा झापाको मेचीनगरमै पाइने उनको भनाइ छ।

खरेलका अनुसार मेचीनगर–३ मा रहेको बहुवन सामुदायिक वन र बेँसीबजार क्षेत्र चराको राजधानी नै हो। मेचीनगर–३ मा विश्वमै दुर्लभ राजधनेश पनि पाइएको छ भने रैथाने चराहरु भुँडीफोर गरुड, फिस्टो र बुङ्गे चरा हराउँदै गएको उनले जानकारी दिए।

चराका लागि मेचीनगर अनुकूल बासस्थान भएकाले पाहुना चरा आउने क्रम पनि बढेको छ। मेचीनगरलाई ‘चरा मार्न निषेधित क्षेत्र’ घोषणा गरेर चरा महोत्सव आयोजना गर्ने हो भने यहाँ विदेशी पर्यटक अध्ययन र अवलोकनका लागि आउने सम्भावना रहेको विशेषज्ञ खरेलले बताए।

‘मेचीनगरलाई चरा अवलोकनका निम्ति पर्यटकीय रुपमा विकसित गर्न सकिने सम्भावना छ,’ खरेलले भने, ‘चरा प्रकृतिका अमूल्य उपहार हुन् यिनको संरक्षण हामी सबै मिलेर गर्न जरुरी छ।’ चिसो मौसममा बिहान ७ देखि ९ बजेसम्म र गर्मी मौसममा ६ देखि ८ बजेसम्म चराको खोजीमा निस्कने ४५ वर्षीय खरेलको दैनिकी नयाँ चरा पत्ता लगाउनैमा बित्ने गरेको छ। घुमुवा (उडिसा) जातिले चराको सिकार गरेर खाने गरेकाले तत्काल मेचीनगरलाई चरा मार्न निषेधित क्षेत्र घोषणा गर्नुपर्नेमा खरेलले जोड दिए।

रासस

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics