फेरिएको जीवन शैलीः कृषि सहकारीमा रमाउँदै कृषक

कृषि क्षेत्रमा नेपाल सरकारले लगानी गरेको अनुदान साँच्चै फलदायि छ त ? वास्तविक किसानले नै अनुदान पाएका होलान् त ? किसानले कति उत्पादन गर्छन् ? बजारमूल्य पाएका छन् कि छैनन् ? बजार व्यवस्थापन कसले गरेको छ ? यस्तै यस्तै प्रश्नहरू मनमा खेलाउँदै हामी प्रधानमन्त्री कृषि आधुनिकिकरण  परियोजना द्धारा सञ्चालित जोन र सुपरजोनहरुको अवोलोकनका लागि हामी तनहुँको आबुँखैरेनी स्थित तरकारी जोनमा पुग्यौँ ।

हामी त्यहाँ पुग्दा हाम्रो कौतुवलता मेटाउन प्रधानमन्त्री कृषि परियोजनाका व्यवस्थापक टेकबहादुर चितौरिया र जोनका अध्यक्ष ईश्वर बाबु गौली उपस्थित हुनुहुन्थ्यो ।

किसान सोल बहादुर चितौरे मगर


कृषकको उत्साह र त्यहाँ उत्पादित नगदे वाली देख्दा केही हदसम्म हाम्रो जिज्ञासा त मेटिएकै थियो । साथ साथै जोनमा आबद्ध किसान सोल बहादुर चितौरे मगरले झन् बढी प्रस्ट हुन सहयोग गरे ।

८ रोपनी जग्गामा खेती गरेका उनले वाली गुणस्तर हेरी मूल्य निर्धारण हुने र श्री मिलिजुली कृषि उत्पादक सहकारी संस्थाले वालीको बजारीकरणमा निक्कै ठुलो योगदान दिएको बताए । मगरका अनुसार सहकारीको सहकार्य मार्फत तरकारी बिक्री वितरणमा सहज भएको हो । कृषिमा अनुदान आएपछि सरकारी निकायबाट किसानलाई कृषि वालीको विषयमा जनचेतनामुल्क तालिम दिने गरेको छ ।

यस्ता तालिमका कारण वाली पहिलेभन्दा बढी उत्पादन हुने र किसानमा कृषि प्रतिको मोह बढ्दै गएको छ । योजना लागु हुनुभन्दा अघि किसान खासै कृषिमाभन्दा अन्य पेसामा आबद्ध थिए । परियोजना आएपछि गुणस्तर र उत्पादन सङ्ख्यामा वृद्धि हनुका साथै कृषि पेसामा आबद्ध हुनेको सङ्ख्या पनि बढेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण  परियोजना तरकारी जोन तनुह भौगोलिक हिसाबले डाँडाकाँडा भएको उक्त स्थानमा हामी पुग्दा सिचाईको भने ठुलो चुनौती देखिन्थ्यो । भनिन्छ गरे के हुँदैन ! त्यसको उदाहरण यहाँ पुग्दा अनुभूति गरेका थियौँ । सिंचाईको अभावमा पनि कृषिको लगाव र मोह भने निक्कै धैरै थियो ।

करिब ६ सय हेक्टर जमिनमा फैलिएको उक्त तरकारी जोनमा पाँच सय किसान कृषि पेसा मात्र अगालेका थिए भने एक हजारभन्दा बढी अन्य पेसा संगसँगै कृषिमा पनि आबद्ध भएको तरकारी जोनका अध्यक्ष इश्वरबाबु गौलीले बताए ।

पछिल्लो समयमा तरकारी खेतीबाट सही मूल्य पाउने थालेपछि किसान कृषि पेसामा रमाएका छन् । श्री मिलिजुली कृषि उत्पादक सहकारी संस्थाको सहयोगमा तरकारी बेचबिखनमा सही मूल्य पाउन थालेपछि जीविकोपार्जनमा पनि राम्रै सहयोग मिलेको छ ।

समय समयमा हुने तालिमले विषादी कंम प्रयोग गरेको हामीसँगको छलफलमा उनले बताए । उनीहरूले माटो रोटेश्न गरेर हरेक पटक फरक फरक वाली लगाउने गरेका छन् । मिलिजुली सहकारीमा १६ सय हारहारिका किसान आबद्ध रहेका छन् ।

व्यावसायिक र्फम हुनेले सरकारी अनुदान पाउने गरेको र फर्म नहुनाले पनि सामूहिक रूपमा अनुदान पाउने गरेको पाइयो । उनीहरू तरकारी जोन मार्फत वर्षमा तीन पटक वाली लगाउने गरेका रहेछन् । साउनदेखि सुरु भई कार्तिकसम्म लगाउने काउनी, बन्दा, गोलभेडा, घिरौँला लगायतका बाली लटरम्म फलेका छन् ।

चैतदेखि असारसम्म लहरे वाली लगाइने समयमा हामी पनि त्यस स्थानमा प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गरेका थियौँ । पृथ्वी राजमार्गबाट करिब पाँच सय मिटर पैदल यात्रापछि देखिने लहरे वालीले साँच्चै हामी कृषि प्रदान देशमा छौँ भने झल्को दिन्थ्यो । करेला, चिचिन्नो, घिरौँला, काँक्रो लगायतले भरिपूर्ण देखिने त्यस जोनमा सिचाईको भने निक्कै ठुलो समस्या देखिन्थ्यो । जोन सञ्चालन भएदेखि किसानको जीविकोपार्जनमा राम्रो भएको कृषकले बताए ।

यस जोनमा आबद्ध प्रत्येक किसानले वर्षमा ५ देखि ८ लाखसम्म आम्दानी गर्ने गरेको अध्यक्ष गौलीले बताए । आर्थिक वर्ष २०७४/७५ मा एक करोड १८ हजार पाँच सय आम्दानी भएको थियो । जोनबाट उत्पादित तरकारी मिलिजुली सहकारीले किसानसँग सहकार्य गरी एकमुष्ट खरिद गरी त्यहाँबाट नै बजारमा पुर्‍याउने गरेको छ ।

मिलिजुली कृषि उत्पादक सहकारी अध्यक्ष इश्वरबाबु गौली


सहकारीको र जोनका समेत अध्यक्ष रहेका गैली भन्छन्, ‘किसानलाई मर्का नपरोस् र किसानको तरकारीको उचित मूल्य हुनुपर्छ भनेर हामीले हरेक दिन तरकारीको मूल्य निर्धारण गर्ने गरेका छौँ ।’ उनका अनुसार किसानले बिहान ७ बजेदेखि १० बजेसम्म तरकारी ल्याई सहकारीमा जम्मा गर्छन् । ‘तरकारीको मूल्य निर्धारण गर्दा तरकारीको गुणस्तर हेरी निर्धारण गर्ने गरेका छौँ, उनले थपे, ‘धेरै उत्पादन गर्ने किसानलाई पहिलो, दोस्रो र त्रेस्रो गरी वर्षमा एक पटक पुरस्कृत गर्ने प्रचलन बसाएका छौँ ।’ टाढाबाट आउने किसानलाई र विपन्न र गुणस्तर हेरेर हौसला बढाउन पुरस्कृत गरिन्छ ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics