कडा सुरक्षा घेराभित्र पशुपतिको जलहरी जाँच गर्दै अख्तियार टोली
- नेचर खबर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरको जलहरीमा रहेको सुनको नापजाँच सुरू गरेकाे छ । जलहरी राख्दा अनियमितता भएको सूचना बाहिर आएपछि आयोगको टोलीले जलहरीमा प्रयोग भएको सुनको तौल नापजाँच सुरू गरेकाे हो ।
मन्दिर परिसरलाई नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको घेरामा राखेकाे छ । आयोगको टोलीमा खानी तथा भू–गर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू संलग्न छन् ।
महालेखाको प्रतिवेदनमा १० किलो ९ सय ७६ ग्रामको रिङ बनाइ जलहरीमा लगाएको उल्लेख भएपनि सो सुन रिङ बनाउन प्रयोग भएको पुष्टि हुन सकेको छैन। यसै विषयमा तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारलाई लक्षित गर्दै माओवादी केन्द्रका सांसद् लेखनाथ दाहालले अभिव्यक्ति राखेपछि संसदमा हंगामा मच्चिएको थियो । एमालेका सांसदले संसद नै अवरोध गरेका थिए ।
पशुपतिनाथ मन्दिरको गर्भगृह पूर्ण रुपमा ढाक्ने उदेश्यले १०३ किलो ७७३ ग्राम सुन खरिद गर्न नेपाल राष्ट्र बैंकलाई जिम्मा दिइयो । बैंकले ८० करोड ११ हजार रुपैयाँमा आवश्यक सुन खरिद ग-यो । उक्त सुनमा पछि तामा, चाँदी र जिंक मिसाएर परिमाण १०७ किलो ९२४ ग्राम पु-याइयो । तर, पछि नापतौल गर्दा उक्त सुन ९६ किलो ८२२ ग्राम मात्रै रहेको भेटियो ।
जलहरी निर्माणका क्रममा १० किलो ९७६ ग्राम सुन गायव भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी प-यो । तर, अख्तियारले उक्त उजुरीमाथि हालसम्म पनि कारबाही प्रकृया अघि बढाएको थिएन । तत्कालिन बजार भाउ अनुसार उक्त सुनको मुख्य सात करोड बढी रुपैयाँ पर्छ । खरिद गरिएको सुन एकाएक गायब भएको बिषयमा चौतर्फी विरोध हुन थालेपछि पशुपति क्षेत्र विकास कोषले उब्रिएको १० किलो ९७६ ग्राम सुन रिङ बनाई जलहरीमा लगाइएको बताएको थियो ।
प्रतिक्रिया दिनुहोस