बाढीपहिरोभन्दा खतरनाक चट्याङ, नेपालमा बर्सेनि १०० बढीको जान्छ ज्यान



काठमाडौं – बाढी पहिरोका कारण धन जनको क्षति भएको घटना धेरै सुनेका/देखेका छौं । तर, एक अध्ययनले भन्छन्, ‘चट्याङ बाढी पहिरोभन्दा खतरनाक छ । यसले नेपालमा बर्सेनी लगभग १०० जानको ज्यान लिन्छ ।’

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विगत २४ घण्टामा मात्रै ताप्लेजुङमा एक जनाले ज्यान गुमाएका छन् भने, दैलेखको महावु गाउँपालिका–१ खरीगैरामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ, १६ जना घाइते भएका छन् । यो पछिल्लो एक घटना हो । तर, यस्ता घटना बढ्दैगएको प्राधिकरणको तथ्यांकले देखाउँछ ।

बाढी पहिरोभन्दा ठूलो विपत्
विशेषगरी वर्षाका बेला चट्याङ धेरै पर्ने गरेकाले सतर्क रहन प्राधिकरणले आह्वान गर्दै आएको छ । प्राधिकरणका अनुसार चट्याङ वर्षाका बेला हुने अन्य विपद्भन्दा ठूलो हो ।

प्राधिकरणको एउटा सामाजिक सञ्जालमा भनिएको छ, ‘मानवीय क्षतिका हिसाबले चट्याङ बाढी, पहिरोभन्दा पनि ठूलो विपद् हो । सावधानी अपनायो भने यसबाट हुने क्षति कम गर्न सकिन्छ ।’

कहाँ धेरै पर्छ चट्याङ ?
चट्याङविज्ञहरूका अनुसार बङ्गालको खाडी नजिक रहेका नेपालका भू–भागहरूमा बढी चट्याङ पर्छ । त्यो क्षेत्र भनेको झापा–मोरङ तिरको क्षेत्र हो । जुन संसारकै मानचित्रमा हेर्दा पनि तेस्रो बढी प्रभावित क्षेत्रमा लिन सकिन्छ । त्यसपछि चुरे क्षेत्र बढी प्रभावित देखिन्छ ।

तर मृत्यु हुनेको संख्याका हिसाबले चुरे क्षेत्र नै देखिएको छ । एक अनुसन्धानका अनुसार नेपालमा चट्याङको सबैभन्दा बढी प्रभाव मकवानपुर जिल्लामा देखिएको छ । तर, बारम्बार चट्याङ परिरहने क्षेत्रमा झापा र मोरङ पर्छन् ।

मान्छेमाथि सोझै चट्याङ पर्दा शरीरमा त्यसको विद्युत् प्रवाह भएर ज्यान जान्छ । त्यस्तै चट्याङको आवाजले कानको जाली फुट्ने र घाइते हुने सम्भावना पनि हुन्छ ।

सुरक्षित कसरी बन्ने ?
चट्याङ पर्दा जहाज वा गाडीभित्र रहेका मानिसहरू बच्ने सम्भावना धेरै रहन्छ । त्यस्तै पक्की घरमा बसेका मानिसलाई पनि सुरक्षित नै मानिन्छ ।

उच्च गतिको विद्युत प्रवाह हुने हाइटेन्सन लाइन तल दुवै गोडा जोडेर बस्दा पनि बच्न सक्ने विज्ञ बताउँछन् । घरलाई चट्याङ प्रतिरोधी बनाउनुपर्ने सुझाव उनीहरूको छ ।

त्यसका लागि घरको माथि तामाको त्रिशुल वा रड राखेर त्यसलाई जीआइ पाताले जोडेर घर मुनि माटोमा लगेर गाड्ने र त्यहाँ त्यसलाई तामाको पाताले जोड्नुपर्ने हुन्छ । नेपालमा विशेषगरी दिउँसोको समयमा चट्याङ परेको पाइएकाले दिउँसो ३ बजेपछि खेतबारीमा नजान विज्ञ सुझाव दिन्छन् ।

प्रायजसो जमीन र बादलको दुरी कम भइरहने पहाडी भूभागमा सजग रहनुपर्ने हुन्छ ।

चट्याङबाट बच्ने उपाय


  • ठूलो भवन अथवा कारभित्र आश्रय लिनुहोस्

  • फराकिला, खुला ठाउँ तथा नाङ्गा डाँडाकाँडामा नजानुहोस्

  • अग्ला र एकाध रूख भएको ठाउँमा आश्रय नलिनुहोस्

  • यति आश्रय लिने उपयुक्त ठाउँ नभेटिए भुइँमा घोप्टिएर पैतला जोडी हात घुँडामा राखेर टाउको लुकाउनुहोस्

  • यति तपाईँ पानीमा वा खुला समुद्री तट अथवा नदी किनारमा हुनुहुन्छ भने यथाशक्य बाहिर सुरक्षित स्थानमा जानुहोस्


स्रोतः रोयल सोसाइटी फर द प्रिभेन्शन अफ एक्सिडेन्ट्स

लेखकको बारेमा
रविन भट्टराई

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics