घुन्साको फले भिर, जहाँ १७ वर्ष अघि वन राज्यमन्त्री राईसहित २४ संरक्षणविद्ले फेरे अन्तिम स्वास

ताप्लेजुङ – ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको आज १७ वर्ष पूरा भएको छ । २०६३ साल असोज ७ गते आजकै दिन ताप्लेजुङको घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा डा. हर्क गुरुङ लगायत २४ जनाको निधन भएको थियो ।

उक्त दुर्घटनाको सम्झनामा आज ताप्लेजुङ सदरमुकाम, दुर्घटना भएको स्थान घुन्सालगायत देशभर स्मृति कार्यक्रमहरु गरिँदैछ ।

दुर्घटनामा तत्कालीन वन तथा भू-संरक्षण राज्य मन्त्री गोपाल राई, राईकी श्रीमती मीना राई, भूगोल तथा योजनाविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू संरक्षण मन्त्रालयका तत्कालीन सचिव डा. दामोदर प्रसाद पराजुली, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेलको निधन भएको थियो ।

त्यस्तै विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डा. चन्द्र प्रकाश गुरुङ, विश्व वन्यजन्तु कोष एसिया प्यासिफिक प्रमुख मिङ्मा शेर्पा, ताप्लेजुङ उद्योग वाणिज्य संघका सदस्य विजय कुमार श्रेष्ठ, ताप्लेजुङका दावा शेर्पा, दुई सञ्चारकर्मी लगायत संरक्षण क्षेत्रमा समर्पित स्वदेशी तथा विदेशी गरी २४ जनाको निधन भएको थियो ।

विश्वमै पहिलो पटक वन जंगलको संरक्षण तथा व्यवस्थापनको जिम्मा स्थानीय समुदायलाई हस्तान्तरण गरी फर्कने बेला बाक्लो हुस्सुमा परी घुन्साको फलेस्थित धुन्चे पहाडमा ठोकिएर हेलिकोप्टर दुर्घटना भएको थियो ।

घटनास्थल ताप्लेजुङ सदरमुकामदेखि अढाइ दिनको पैदल दुरीमा पर्छ । सरकारले घटनालगत्तै पुनरावेदन अदालत पाटनका तात्कालीन मुख्य न्यायाधीश जनकेशरीराज पण्डितको संयोजकत्वमा घटनाबारे अध्ययन गर्न गठित कार्यदलले प्राकृतिक अवस्थाकै कारण दुर्घटना भएको प्रतिवेदन बाहिर ल्याए पनि स्थानीय बासिन्दा र सरकोरवाला अन्य पक्ष भने गहिरो अध्ययन नभएको बताउने गरेका छन् ।

राष्ट्रिय संरक्षण दिवस मनाइदै

यसैबीच हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरुको योगदानको स्मरण गर्दै आज राष्ट्रिय संरक्षण दिवस मनाईदै छ । वन र वातावरण क्षेत्रका विज्ञहरूको दुर्घटनामा निधन भएपछि उनीहरुको योगदानको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउन थालिएको हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics