हरायो एसियाको सबैभन्दा ठुलो हात्ती

राजागजको सम्झनामा निर्माण गरिएको स्तम्भ ।     तस्वीर : अन्नपुर्ण पाेष्ट


बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको विश्वकै ठूलो एसियन हात्ती राजागज हराएको छ । ०४९ सालमा बर्दिया राष्ट्रिय निकुञ्जमा पहिलोपटक देखिएको राजागज देखिन छाडेपछि हराएको अनुमान गरिएको हो । सोमबारको अन्नपुर्ण पोष्टमा यादव आचार्य लेख्छन् अन्तिम पटक ०६४ सालमा सूर्यपटुवा गाविसको कैलाशीमा देखिएको ११ फिट ३ इन्च उचाइको सबैभन्दा ठूलो भाले एसियन हात्ती ९ वर्षदेखि निकुञ्जमा देखिएको छैन । साढे दुई दशकअघि बेलायती वैज्ञानिक जोन ब्लम्सफोर स्नेलको नेतृत्वमा आएको टोलीले एसियामा पाइने घरेलु र जंगली गरी ६५ हजार हात्तीमध्येकै ठूलो राजागज भएको प्रमाणित गरेका थिए ।

बर्दिया राष्ट्रिय निकुञ्जमा राजागज देखिन छाडेको करिब दशक हुन थालेको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताए । उनले भने, ‘राजागज जीवित भइदिएको भए भारतको कर्तनियाघाट वन्यजन्तु आरक्ष वा बर्दिया निकुञ्जमा देखिनुपथ्र्यो तर अचेल देखिँदैन । लामो समयदेखि नदेखिएकाले हराएको हुन सक्छ ।

उनका अनुसार विश्वकै ठूलो एसियन हात्ती राजागजको भारतमा रेलले किचेर मृत्यु भइसकेको पनि कोही भन्ने गर्छन् तर त्यसको आधिकारिक पुष्टि भएको छैन । यतिका वर्ष बितिसक्दा पनि विश्वमै ऐतिहासिक नाम कमाएको हात्तीको खोजतलास नहुँदा नेपालको हात्ती संरक्षणमा करोडौं खर्च गर्ने अन्तर्राष्ट्रिय स्तरका गैरसरकारी संस्था असफल सावित भएको स्थानीयको आरोप छ ।

राजागजको त के कुरा बर्दियामा पाइने अरू रैथाने हात्तीको समेत अनुगमन नभएको अधिकृत थापाको भनाइ छ । उनका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा पहिलोपटक ३ वटा हात्ती देखिएका थिए । अहिले सय रैथाने र २५ आगन्तुक गरी करिब १ सय २५ वटा जंगली हात्ती निकुञ्जमा छन् । यतिखेर बर्दियामा धेरै हात्ती भइसकेकाले अध्ययन तथा अनुगमन गर्नुपर्ने जरुरी रहेको छ ।

अफ्रिकन तथा एसियन हात्तीबारे अध्ययनरत ब्रिटिस महिला सेरा ब्याम्फिल बर्दिया राष्ट्रिय निकुञ्जमा साढे दुई दशकअघि अध्ययनका लागि आएका बेला उनले भिन्नै पहिचान भएको हात्ती देखेपछि युकेबाट वैज्ञानिक टोली झिकाएको र वैज्ञानिकको टोली आइसकेपछि अनुसन्धानका क्रममा सबैभन्दा ठूलो, टाउको डबल डोमको भेटिएपछि राजागज सबैभन्दा ठूलो प्रमाणित भएको थियो।

बर्दियाबाट देशकै गौरव बोकेको प्राणी राजागज हराएपछि संरक्षणप्रेमीलगायत स्थानीय चिन्तित बनेका छन् । तर, देशकै संरक्षणको जिम्मेवारी लिएको निकुञ्ज विभाग भने कानमा तेल हालेर बसेको छ । राजागजको सम्झनामा स्थानीय चोरी–सिकार नियन्त्रण युवा परिचालन अभियानका युवाले हात्ती बाँध्ने स्तम्भ निर्माण गरेका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्ज वन्यजन्तुका लागि अनुकूल वासस्थान सावित हुँदै गएको छ । विश्वमै दुर्लभ पाटेबाघ मात्र होइन, विश्वमै ठूला मानिने एसियन हात्तीका लागि पनि उत्तिकै महत्वपूर्ण स्थान बनेको छ । संरक्षणका नाममा अर्बौं बगाउने निकायले वास्तविकता पहिचान गरी त्यसतर्फ लगानी बढाउन सके प्रभावकारी हुने आचार्यको भनाइ छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics