अझै तीन दिन वर्षा र बादल



बंगालको खाडीबाट बाफ मिसिएको हावा पूर्वी नेपाल प्रवेश गरेपछि राधजानीसहित पूर्वी तथा मध्यभागमा वर्षा भइरहेको छ । अप्रत्यासित रुपमा बंगालको खाडीबाट बाफ मिसिएको हावा नेपालको पूर्वी भाग पसेका कारण अझै केही मौसम बदली रहने र वर्षा हुने अनुमान मौसमविद्हरुको छ ।

मध्य तथा पूर्वी भागमा कम्तिमा तीन दिन मौसम सुधार हुने संभावना देखिदैन । “केही बेर खुल्ने र पुनः पानी पर्ने तथा बादलले ढाक्ने क्रम चलिरहन्छ ” मौसमविद् विभूती पोखरेलले भनिन् “बंगालको खाडीबाट आएको हावामा पानीको मात्रा धेरै भएका कारण पनि बादल लाग्ने र पानी परिरहने संभावना बढी देखिन्छ ।” विभिन्न मौसम अनुमान केन्द्रहरुका अनुसार, नेपालमा बनेको न्यूनचापीय क्षेत्रले बाफ मिसिएको हावा नेपालतीर तानिरहेका कारण अझै कम्तिमा तीन दिन मौसममा सुधार आउने छांट छैन ।

मध्य तथा पूर्वी नेपालमा न्यूनाचापीय रेखा रहेका कारण अधिकांश भागमा पानी परिरहेको छ । प्रि मनसुनसमेत सुरु भइसकेका कारण मौसम बदलीकै अवस्थामा रहने जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो वर्षा (आइसोलेटेड) एक ठाउंमा पानी पर्ने नजिकै नपर्ने प्रकारको छ । प्रि मनसुन भएका कारण चट्याङ र हावा हुरीको संभावना पनि उत्तिकै रहेको महाशाखाले जनाएको छ ।
बुधबार बिहानसम्ममा पोखरामा आठ मिलिमिटर वर्षा भएको छ । त्यस्तै काठमाडौंमा तीन, ओखलढुंगामा ५, धनकुटामा २ मिलिमिटर पानी वर्षा भएको छ ।

 

पिताम्बर सिग्देल

प्रतिक्रिया दिनुहोस

web
analytics