विज्ञको एउटै धारणा : ‘हिउँ चितुवा मोरङ आफै होइन, कसैले ल्याएको हुनुपर्छ’

काठमाडौं – मंगलबार मोरङको उर्लाबारी नगरपालिका–१, चारघरेमा हिउँ चितुवा फेला पर्यो । उच्च हिमालमा हुने हिउँचितुवा यसरी तराइमा भेटिएपछि सबैको एउटै प्रश्न छ, ‘आखिर यो कसरी सम्भव भयो ?’

विज्ञ भन्छन्, ‘यो उत्साह मान्ने कुरा भन्दा पनि चिन्ता लिने विषय हो । किनकी यो आफै आएको नभई कसैले तस्करी गरेर ल्याएको हुन सक्छ । अनि, उम्किएको हुन सक्छ ।’

बाँसघारीमा लुकेको अवस्थामा स्थानीयले देखेर खबर गरेपछि राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले उक्त हिउँ चितुवालाई बेहोस पारी नियन्त्रणमा लिएको थियो । सो चितुवाको शरिरमा केही चोट पनि भएकाले यो तस्करको जालोबाट उम्किएको हुन सक्ने विज्ञ बताउँछन् ।

हिउँचितुवाबारे विद्यावारिधि गरेका विक्रम श्रेष्ठ भन्छन्, ‘जलवायु परिवर्तन भन्ने हो भने मोरङको तापक्रमसम्म आइपुग्न लामो समय अभ्यस्त हुनुपर्छ र बाटो पनि त्यसै अनुसराको हुनुपर्छ । तर, त्यो सम्भव छैन ।’ उनका अनुसार नेपालमा हिउँ चितुवा दुई हजार ५०० मिटरसम्म मात्र ओर्लेको पाइएको छ । तर मंगलबार हिउँ चितुवा भेटिएको उर्लाबारीको उचाइ समुद्री सतहदेखि १५० मिटर मात्र छ । मंगलबार सो स्थानको तापक्रम करीब १४ डिग्री सेल्सियस थियो ।

कोषको कोशी केन्द्र प्रमुख वीरेन्द्र गौतम पनि यो कुनै कारणले मात्रै आएको हुन सक्ने बताउँछन् । भन्छन्, ‘यो घटनालाई सामान्य मान्न सकिन्न ।’

हिउँ चितुवाबारे लामो समय अनुसन्धान गरेका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक करन शाहको तर्क अलिक भिन्न छ । उनी ४० किलोग्राम तौलको रहेको हिउँ चितुवा हुर्किसकेको वयस्क भए पनि यसको पुच्छर र रौं हेर्दा सानैबाट कसैले ल्याएर पालेको हुनसक्ने र अहिले भागेको हुनसक्ने तर्क गर्छन् । भन्छन्, ‘फोटो हेर्दा शरीरमा हुनुपर्ने जति रौं विकसित भइसकेको छैन । त्यस्तै, हिउँ चितुवाको पुच्छर उसको शरीर जत्तिकै लामो हुन्छ । यसको पुच्छर त्यति लामो छैन बीचमै भाँचिएको र रौं पलाएको छ । यी सबै तथ्यले यो हिउँ चितुवा बच्चैमा कसैले ल्याएर पालेको र अहिले भागेको हुन सक्ने सम्भावना छ ।’

ताप्लेजुङमा हिउँ चितुवाका लागि उपयुक्त भेगमध्ये २५ देखि ३० प्रतिशतमा मात्रै उसले विचरण गर्ने गरेको र उत्तरी भेगबाट मोरङसम्म हिउँ चितुवा आउने सम्भावना ज्यादै न्यून रहेको दाबी विज्ञको छ ।

हिउँ चितुवाविद् श्रेष्ठ पनि हिउँ चितुवा स्वैच्छिक रूपमा उर्लाबारीसम्म आउने सम्भावना निकै कम रहेको दाबी गर्छन् । हिमाली जैविक विविधताका अनुसन्धाता नारायण कोजू त्यति न्यून उचाइमा हिउँ चितुवा आफै आउनै नसक्ने दाबी गर्छन् ।’

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics