कोशीमा ‘सेतोपेटे बकुल्ला’ भेटिएको होइन : कोशी पंक्षी समाज

काठमाडौं – हालसालै हिउँदे जलपंक्षी गणनाको क्रममा कोशी नदीमा सेतोपेटे बकुल्ला भेटिएको भन्दै गरेको प्रचार प्रति कोशी पंक्षी समाजले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

समाजका अध्यक्ष चक्रप्रसाद तिम्सिनाले ध्यानाकर्षण पत्र जारी गर्दै विगत १५ बर्षदेखि कोशी पंक्षी समाजका सदस्यहरू कोशी क्षेत्रका चराहरूको संरक्षणमा सक्रिय रूपले संलग्न रहेको र विगत ५ बर्षदेखि यसै संस्थाको संयोजकत्वमा कोशी क्षेत्रमा हिउँदे जलपंक्षी गणना हुँदै आएकाले पछिल्लो समय गरिएको प्रचार जस्तो अवस्था त्यहाँ नरहेको जनाएको हो ।

‘कोशी क्षेत्रमा चरा प्रजातिहरूको संरक्षणमा समर्पित संस्था र जलपंक्षी गणनाको संयोजक संस्थाको हैसियतले जलपंक्षी गणनाका क्रममा सेतोपेटे बकुल्ला भेटिएको झुट्टा दाबीसँग सम्बन्धित विषयलाई सम्बोधन गर्न हामी अति आवश्यक ठान्छौं,’ समाजको ध्यानाकर्षण पत्रमा भनिएको छ ।

समाजका अनुसार सेतोपेटे बकुल्लालाई नेपालबाट १९औं शताब्दीदेखि लोप भइसकेको मानिएको छ । जसको केवल दुई नमुनाहरू सन १८२९ र १८४४ मा ब्रायन हडसनले मकवानपुर जिल्लबाट संकलन गरिएको भनी द स्टाटस अफ नेपाल युएस वर्डस् एम द नेसनल रेड लिस्ट सिरिज मा उल्लेख गरिएको छ ।



यो चरा ऐतिहासिकरूपमा पनि कोशीमा अभिलेख नभएको र कुनै सालको हिँउदे जलपंक्षी गणनाको दौरानमा पनि नभेटिएको समाजको दाबी छ । अनुसन्धानकर्मीबाट हालसालै कोशी नदीमा जलपंक्षी गणनाको अन्तिम प्रतिवेदन तयार पार्दा यसलाई पनि समेटेकोमा समाजले आपत्ती जनाएको छ । यो प्रतिवेदनमा धेरै नै त्रुटिहरू र गतल तथ्यांकहरू राखिएको पनि उसले जनाएको छ ।

सेतोपेटे बकुल्लालाई नेपालबाट १९औं शताब्दीदेखि लोप भइसकेको मानिएको छ ।

कोशी पंक्षी समाजले सबै संरक्षण संस्थाहरू र अनुसन्धानका लागी आवश्यक कोष उपलब्ध गराउने संस्थाहरूलाई पनि यो विषयमा सावधानी अपनाउन र स्रोतहरू उपलब्ध गराउनु अघि कडाइका साथ सुक्ष्म जाँच गरि प्रमाणित गर्न आग्रह गरेको छ ।


‘गलत वयान र झूटा रिपोर्टहरूले वैज्ञानिक अनुसन्धानको विश्वसनीयतालाई कमजोर मात्र गर्दैन तिनले संरक्षणमा अति आवश्यक कोषलाई वास्तविक संरक्षणका प्रयासहरूबाट पनि टाढा राख्छन्,’ समाजले भनेको छ, ‘हामी नेपालको जैविक विविधताको सही अनुसन्धान र संरक्षणमा प्रतिबद्ध छौं र सबै अनुसन्धानकर्मीहरूलाई संरक्षणका कार्यमा पारदर्शिता र जवाफदेहिताको लागि अनुरोध गर्दछौं ।’


नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics