डढेलोसँगै वायु प्रदूषण पनि बढ्दै, सचेत रहन वातावरण विभागको अपिल

काठमाडौं – मुलुकका विभिन्न स्थानमा निरन्तर आगलागी र डढेलोका घटना भएसँगै वायु प्रदूषण पनि बढेको भन्दै सचेत रहन सरकारले आग्रह गरेको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले एक अपिल जारी गर्दै प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले यसमा सचेत रहन आग्रह गरको हो ।

विगत सात दिनको अवधिमा देशका १८० स्थानमा आगलागीका घटनाहरू भएसँगै वायु प्रदूषण ह्वातै बढेको र यसको असर वातावरणमा उच्च परेको विभागका महानिर्देशक शिवलाल तिवारीले बताए । उनका अनुसार डढेलो पछिको असर काठमाडाैं उपत्यका लगायतका देशका प्रमुख शहर र कोशी प्रदेशको तराई लगायत देशभरको पहाडी क्षेत्रमा बढी परेको छ ।

‘वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र बिशेष गरी बालबालिका, वृद्ध वृद्धा एवं श्वास प्रश्वास र मुटुका बिरामीहरूमा बढी प्रभावित हुने भएकोले यस्तो बेला बिशेष सावधानी अपनाउन वातावरण विभाग सबैमा अपिल गर्दछ,’ जारी अपिलमा भनिएको छ ।

प्रदूषण बढी भएका स्थानमा घर बाहिर निस्कदा सबै नागरिकले अनिवार्य रूपमा मास्कको प्रयोग गर्न तथा वायु प्रदूषण बढाउने किसिमका क्रियाकलापहरू नगर्न पनि विभागले आग्रह गरेको छ । ‘फोहोर बाल्ने, कृषिजन्य अवशेषहरू बाल्ने लगायतका क्रियाकलापहरू नगर्नसमेत विभाग अनुरोध गर्दछ,’ अपिलमा भनिएको छ, ‘तपाई हाम्रो सानो लापरबाहीका कारण वन डढेलोले ठुलो क्षती पुर्याउन सक्ने भएकोले सचेत हुनका साथै वन डढेलो नियन्त्रणको लागि जिम्मेवार निकायले सक्रियता बढाउन तथा सरोकारवाला निकायहरूसँग हातेमालो समेत गर्नुहुन आम समुदायलाई विभाग हार्दिक अपिल गर्दछ ।’

रविन भट्टराई

प्रतिक्रिया दिनुहोस

web
analytics